PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीसँग जति निकट त्यति चुनाव जित्न विकट! किन पराजित भए शीर्ष नेता?



प्रकाश भण्डारी

ओलीसँग जति निकट त्यति चुनाव जित्न विकट! किन पराजित भए शीर्ष नेता?
फाइल फोटो

काठमाडौं: नेताले पार्टी नेतृत्वलाई रिझाउने प्रयास गर्छन् नै। अझ चुनावका बेलामा त, आफ्नो क्षेत्रमा तानातान नै गर्छन् पार्टी नेतृत्वलाई नेताहरूले। आफ्नो पक्षमा उभिइदिए चुनावमा जित मात्रै होइन राजनीतिक करिअर नै अझ उचाइमा पुग्छ भन्ने मान्यता पनि छ नेताहरूमा। तर नेकपा (एमाले) का नेताको हकमा यो लागू भएन, यस पटक। अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू नै पराजित भइरहेका छन्। अझ अनौठो त के भने, जो जति धेरै ओलीको नजिक त्यो नै धेरै पराजित भएका छन्। केही अपवाद छाडेर एमालेले निकालेको जितलाई केलाउँदा एमालेका ओली निकट नेताहरू नै बढी पराजित भएका छन्।

ओलीलाई एमाले विभाजनका बेलामा बलियो साथ दिएका मात्रै होइन विश्वासपात्र बनेर राजनीतिमा होमिएका प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित भए। यद्यपि एमालेले समानुपातिकमा सबै दलको भन्दा बढी मत ल्याएर अग्रता कायम गरिरहेको छ। प्रत्यक्षमा पनि एमालेको सिट झन्डै कांग्रेसकै हाराहारीमा छ। अर्थात् कांग्रेस एमालेको प्रतिनिधि सभाको सिट संख्यामा खासै अन्तर हुने छैन।

५ दलीय सत्ता गठबन्धनका बाबजुद क्षेत्रगत रूपमा मात्रै चुनावी तालमेल गरेर प्रतिनिधि सभाको निर्वाचनमा होमिएको एमालेका शीर्ष नेता हार्दा गाउँ गाउँबाट भने नेताहरूले जित निकालिरहेका छन्। शुक्रबार साँझसम्म एमाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३६ ठाउँमा विजयी भएर दोस्रो स्थानमा छ।

ओलीका विश्वासपात्र नै हारे

एमालेको हार्ने शीर्ष नेतामध्येमा पर्छन् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल। काठमाडौं ५ मा पोखरेलको संसदीय यात्रामा यस पटक नेपाली कांग्रेसका प्रदीप पौडेलले ‘ब्रेक’लगाइदिए। पोखरेल ओली अप्ठेरोमा पर्दा काँध हाल्ने नेताका रूपमा चिनिन्छन्।

एमालेभित्र गुट फेरिरहने नेताका रूपमा चिनिएका पोखरेल एमालेको ९औँ महाधिवेशनबाट भने ओलीको कित्तामा छन्। ८औँ महाधिवेशनमा तत्कालीन अध्यक्ष झलनाथ खनालको पक्षबाट महासचिव भएका थिए पोखरेल। तर २ पटक ओलीले गरेको प्रतिनिधि सभा विघटनमा उनले ओलीलाई बलियो साथ दिए।

एमालेको महाधिवेशनमा ओलीलाई चुनौती दिन सक्ने नेताका रूपमा उनलाई हेरिएको भए पनि उनी वरिष्ठ उपाध्यक्षमा बसेर ओलीलाई नै अध्यक्षमा अघि बढाए। हुन त ओली दोस्रो कार्यकालको सरकारमा रक्षा तथा उपप्रधानमन्त्री रहेका पोखरेललाई रक्षाबाट हटाएर ओलीले प्रधानमन्त्री कार्यालयको मन्त्री बनाएका थिए। जसलाई पोखरेलले नयाँ प्रयोगको रूपमा त्यतिबेला व्याख्या गरेका थिए। ओलीसँग निकट सम्बन्ध रहेका र एमालेको ओलीपछिको वरीयतामा रहेका पोखरेलले यस पटक भने चुनावमा हार बेहोर्नुपरेको हो।

पार्टीका महासचिव शंकर पोखरेलको नियति पनि यस पटक ईश्वरको भन्दा फरक रहेन। अरू जिल्लाहरूमा एमालेका नेताले पनि जित निकाल्दा शंकरले दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग शंकर पराजित हुनुपर्‍यो। ओलीसँगको सम्बन्धमा शंकर कति बलियो नेता मानिन्छन् भने एमालेमा ओलीपछिको नेतृत्वमा चित्रित गर्नेहरू पनि छन्। १०औँ महाधिवेशनका बेलामा महासचिवमा ओली गुटभित्रै महासचिवका आकांक्षीहरुको लहर भए पनि ओलीले शंकर बाहेकलाई अघि बढाएनन्। २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद पनि पोखरेलले ओलीसँग निकट भएरै पाएका थिए। ओलीका विश्वास पात्रका रूपमा चिनिएका शंकर यस पटक भने पराजित भए।

ओलीसँग निकट सम्बन्ध भएर पराजित हुने नेताहरूकै सूचीमा छन् उपमहासचिव प्रदीप ज्ञवाली पनि। ओलीको प्रधानमन्त्रीको दोस्रो कार्यकालमा ज्ञवाली परराष्ट्रमन्त्री बने। तत्कालीन नेकपाको विवादका बेलामा ओलीलाई बलियो साथ दिनेमध्येमा ज्ञवाली पनि एक हुन्। प्रतिनिधि सभा विघटनका बेलामा पनि उनी ओलीको पक्षमा उभिए। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका ज्ञवाली यस पटक भने उक्त क्षेत्रमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग पराजित हुनुपरेको छ।

ओलीसँग नजिक सम्बन्ध भएका नेतामा पराजित हुनेमै पर्छन् स्थायी कमिटी सदस्य राजन भट्टराई पनि। ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकारको रूपमा रहेका भट्टराई यस पटक पनि काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापासँग पराजित भए। अघिल्लो पटक पनि भट्टराई उक्त क्षेत्रमा थापासँगै हारेका थिए।

अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध भएका नेताहरू पराजित हुने क्रम एमालेमा यस पटक लामो छ। स्थायी कमिटी सदस्यहरू लालबाबु पण्डित र शेरबहादुर तामाङ पनि यस पटक पराजित भए। मोरङ ६ मा पण्डित कांग्रेसका नेता शेखर कोइरालासँग पराजित हुँदा तामाङ सिन्धुपाल्चोक २ मा कांग्रेस नेता मोहन बस्नेतसँग पराजित भए। अघिल्लो पटकको निर्वाचन जितेका तामाङ तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षको मानिन्थे भने उनी नेकपा विवादको बेलामा ओली निकट हुन पुगे। पार्टी कार्यालय सचिवको जिम्मेवारी हुँदै उनी मन्त्रीसम्म बनेका थिए ओलीसँग सम्बन्ध सुधारेपछि।

त्यसो त ओलीलाई काँध हाल्ने नेताका रूपमा रहेका कृष्ण राई काठमाडौं ३ मा पराजित भए। चुनाव अघि एमालेमा प्रवेश गरेका सर्वेन्द्र खनाल काठमाडौं ६, शान्ता चौधरी दाङ १, कोमल वली दाङ ३ मा पराजित भइन। यी पराजित हुने सबै नेता ओलीको चर्को बचाउ गर्नेमा पर्छन्। अछाम २ मा यज्ञ बोगटी पराजित हुँदा बझाङमा ऐन महरले पनि जित्न सकेनन्। दुवै जना ओलीसँग निकट दुरीमा रहेका एमाले नेता हुन्। भक्तपुरमा जित निकालेका महेश बस्नेत नै यसपाला पराजित हुनुपर्‍यो। ओलीलाई अरू नेताले पार्टीभित्र आलोचना गर्दा पनि बलियो बचाउ गर्ने नेता हुन बस्नेत पनि।

ललितपुरमा नवराज सिलवाल पराजित हुँदा ओली गुटकै नेताका रूपमा रहेका युवा संघका अध्यक्ष किरण पौडेलले पनि काठमाडौं १ मा एमालेलाई जित दिलाउन सकेनन्। ओलीको पालामा सरकारको महान्यायाधिवक्ता भएका अग्नि खरेल पनि झापाबाट पराजित भएका छन्। पार्टी उपाध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाण्डे पनि यस पटक चितवन १ बाट पराजित हुन पुगे। एमाले विभाजनका बेलामा ओलीलाई साथ दिएका पाण्डे यस पटक चितवनमा पराजित भएका हुन्।

जो अपवाद बने

ओलीसँग निकट सम्बन्ध भए पनि जित निकाल्ने केही अपवाद नेताहरू पनि एमालेमा नभएका होइनन्। यस पटक प्युठानबाट सूर्य थापाले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरे। थापाले पौडेललाई पराजित गरेर प्रतिनिधि सभामा डेब्यु गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका थापा खरो शैलीमा ओलीको बचाउ र ओली आलोचकमाथि आक्रोश व्यक्त गर्ने नेता हुन्। ओलीसँग उनी कति निकटको सम्बन्धमा रहे भने उनलाई सल्लाहकारबाट हटाउनुपर्ने विषयलाई ओली इतरका नेताहरूले तत्कालीन नेकपाको बैठकमा छलफलको एजेन्डा बनाउने गरेका थिए। 

ओलीसँग निकै निकट नेताका रुपमा चिनिने गोकुल बास्कोटा पनि विजयी भए। कांग्रेसका शिव हुमागाईंलाई पराजित गर्दै बास्कोटा काभ्रे २ बाट निर्वाचित भएका हुन्। 

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई लमजुङमा चुनाव हराएका एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि ओली गुटकै नेता हुन्। उनी गण्डकी प्रदेशमा यसअघि मुख्यमन्त्री भइसकेका छन्। उनी त्यति बेला ओलीको विश्वास पात्रका रूपमा हेरिन्थे। ओली गुटका अर्का नेता कृष्णगोपाल श्रेष्ठले यस पटक काठमाडौँमा एमालेलाई शून्य हुनबाट जोगाएका छन्। ओलीलाई फुटबलका पेलेसँग तुलना गर्ने श्रेष्ठले काठमाडौं ९ मा एमालेलाई जित दिलाएका हुन्। विभाजनका बेलामा ओलीतिर लाग्नेमा योगेश भट्टराई, गोकर्ण विष्ट पनि निर्वाचित भएका छन्। माओवादी पृष्ठभूमिका टोपबहादुर रायमाझी पनि प्रतिनिधि सभाको निर्वाचनमा सफल भएका छन्।

किन पराजित भए एमाले नेता?

मत परिणामको अन्तिम नतिजा आइसकेको छैन। त्यसैले एमालेले पनि हारबारे औपचारिक छलफल गरेको छैन। तर नेताहरूले हारका बारेमा भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्। उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावमा विपक्षीले भ्रम फैलाएका कारण आफू पराजित भएको बताएका छन्।

‘निर्वाचनको प्रचार प्रसारको क्रममा विगतमा विकास भएन भन्ने भ्रम पनि फैलाइयो। वास्तवमा त्यो भ्रम सही थिएन र केवल त्यो चुनावी प्रोपोगान्डामात्र थियो। अव त्यसको कुनै अर्थ रहेन,’ पाण्डेको टिप्पणी छ।

उपमहासचिव प्रदीप ज्ञवालीले हारबारे समीक्षा हुने भन्दै कमीकमजोरीको जिम्मेवारी आफैँ लिने बताएका छन्।

‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु। कहाँ कमी रहन गए, समय क्रममा समीक्षा हुने नै छ,’ ज्ञवालीले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell