
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा आयोजक राष्ट्र कतार सेनेगलसँग पराजित भएको छ। अल थुममा स्टेडियममा सम्पन्न समूह 'ए' को खेलमा कतार सेनेगलसँग ३-१ गोलअन्तरले पराजित भएको हो। जारी विश्वकपमा अफ्रिकी राष्ट्रले निकालेको यो पहिलो जित हो।
खेलको ४१ औं मिनेटमा बोउलाए डियाको गोलमा सेनेगलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको सेनेगलका लागि दोस्रो गोल ४८ औं मिनेटमा फामरा डिढिओउले गोल थपे। यता कतारका लागि मोहम्मद मुन्तरीले ७८ औं मिनेटमा सान्त्वना गोल फर्काए। त्यसपछि पनि ८४ औं मिनेटमा बम्बा डिएन्गले गोल थप्दा सेनेगलले ३-१ गोलअन्तरले जित निकाल्न सफल भयो।
जारी विश्वकपमा कतारको यो लगातार दोस्रो हार हो भने सेनेगलको पहिलो जित हो। सेनेगलले यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजय ब्यहोरेको थियो।