![विश्वकपमा आज चार खेल, चौथो खेलमा अर्जेन्टिना र मेक्सिकोको रोचक भिडन्त](https://pahilopost.com/assets/upload/contentthumb/a26.jpg)
फिफा विश्वकपमा आज चार खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा ट्युनिसिया र अस्ट्रेलिया भिड्दैछन्। अल जानउब स्टेडियममा हुन समूह समूह 'डी' को खेलमा यी दुई टोली पौने ४ बजे आमनेसामने हुनेछन्। यसअघिको खेलमा अस्ट्रेलिया फ्रान्ससँग ४-१ गोलअन्तरले पराजित भएको थियो भने ट्युनिसिया डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो।
आजको खेलमा ट्युनिसिया र अस्ट्रेलियाबीचको यो तेस्रो भेट हुनेछ। यसअघिका खेलमा दुबै टोलीले समान १/१ पटक जितेका छन्।
त्यस्तै दोस्रो खेलमा पौने ७ बजे पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन्। एजुकेसन स्टेडियममा हुने समूह 'सी'को खेलमा यी दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा उपाधिको प्रवल दाबेदारका रुपमा हेरिएको अर्जेन्टिनालाई २-१ गोलको पुनरागमन जित निकाल्दै सनसनी मच्चाएको थियो। अर्कोतर्फ पोल्याण्ड कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो।
युरोपेली राष्ट्रसँग साउदीको विश्वकपमा इतिहास भने राम्रो छैन। साउदीले विश्वकपमा १० वटा युरोपेली देशसँग खेल्दा ९ वटामा हार ब्यहोरेको छ। यद्यपि विश्वकपमा सप्राइज सुरुवात गरेको साउदीको आजको प्रदर्शनमा धेरैको नजर रहनेछ।
आज हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्क भिड्नेछन्। रास अबोउ अबोउड स्टेडियममा बेलुकी पौने १० बजे सुरु हुने समूह 'डी' को खेलमा यी दुई टोली आमनेसामने हुनेछन्। यसअघिको खेलमा फ्रान्सले अस्ट्रेलियामाथि ४-१ गोलअन्तरको जित निकालेको थियो भने डेनमार्क ट्युनिसियासँग बराबरीमा रोकिएको थियो।
त्यस्तै भरे राति नै अन्तिम खेलमा अर्जेन्टिना र मेक्सिको भिड्ने छन्। लुसइल स्टेडियममा हुने खेलमा 'सी' को पौने १ बजे आमनेसामने हुनेछन्। पहिलो खेलमा अर्जेन्टिनामा एसियाली राष्ट्र साउदी अरेबियासँग २-१ गोलको अप्रत्यासित हार ब्यहोरेको थियो भने मेक्सिको पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। अर्जेन्टिनी खेलाडी लौटरो मार्टिनेजकै शब्दमा भन्ने हो भने उनीहरुका लागि यो खेल 'फाइनल सरह' हुनेछ। हुन पनि हारबाट सुरुवात गरेको अर्जेन्टिना विश्वकप उपाधिको होडमा कायम रहन आवश्यक छ।
'साउदीसँगको हार हाम्रो मनोबलमा ठूलो चोट थियो, तर हामी एक बलियो समूह हौं जुन धेरै एकजुट छ' उनले भने।
इतिहासको कुरा गर्दा मेक्सिकोले अर्जेन्टिनालाई विश्वकपमा तीन पटकको भेटमा हराउन सकेको छैन। समग्रमा १० पटक यी दुई टोली आमनेसामने हुँदा ७ पटक अर्जेन्टिनाले जित निकाल्दा ३ बराबरी खेलेका छन्।