PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए पदबाट राजीनामा



पहिलोपोस्ट

माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए पदबाट राजीनामा

बुटवल : नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन्।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयंम उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दावेदारसमेत थिए।

अध्यक्ष पदमा नरहे पनि अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ। उनले विविध कमि कमजोरीका वावजुद गठबन्धन सामान्यतः सफल भएको उल्लेख गरेका छन्।

पार्टीले पराजय भोग्नुका पछाडि प्रदेश सभा समानुपातिक तर्फको उम्मेदवार सुची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सिट बाँडफाड र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा परेका समस्या र अन्तरविरोधलाई यथा समयमा सम्वोधन गर्न नसकेकोलगायत कारण रहेको उल्लेख छ।

२०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो। यसपटक नेपाली कांग्रेस सहितको सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले ५ सिटमात्र जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell