51.jpg)
कैलालीः सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा तर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का लागि परिणाम खल्लो बन्यो। गठबन्धन गरेर पनि ४ ठाउँ जित देखेको माओवादी केन्द्र चारै ठाउँ पराजित हुनुर्यो । माओवादी मात्र हैन त्योभन्दा बढी खल्लो यहाँ नेकपा (एमाले) का लागि भयो।
गठबन्धनका दलसँग प्रतिस्पर्धा गरेर पनि आधा दर्जन क्षेत्रमा जित निश्चित देखेको एमालेले २ क्षेत्रमा सीमित हुनु परेको छ। यसरी पराजित हुनुमा गठबन्धनभन्दा बढी भीम रावल ‘फ्याक्टर’ले काम गरेको केही नेताहरूको बुझाइ छ। उनीहरू अहिले पार्टीले एकल सिफारिसमा परेका रावललाई पन्छाएर पूर्व माओवादी पृष्ठभूमिका झपट बोहरालाई टिकट दिनु पराजयको ठूलो कारण बनेको महसुस गर्न थालेका छन्।
‘वास्तवमा सुदूरपश्चिमको अछाम मात्र नभएर अन्य क्षेत्रमा पनि भीम रावल फ्याक्टरले काम गर्दा एमाले पराजित हुनु परेको देखियो,’ एमालेका एक नेताले भने।
केपी ओलीले एमालेको जित देखेको ठाउँमा चुनावी जनसभालाई सम्बोधन समेत गर्दै हिँडेका थिए। दार्चुलाबाट एमालेको चुनावी देश दौडाहाको सुरुवात गरेका ओलीले कतिपय ठाउँमा भीम रावललाई मात्र कति पटक टिकेट दिनु भनेर समेत हिँडे। कञ्चनपुरमा आयोजित चुनावी जनसभामा उनले सम्बोधन गर्दै गर्दा दर्शकबाट भीम रावललाई टिकेट किन नदिएको? भन्ने प्रश्न आएपछि उनले ‘एउटै रावललाई मात्र कति दिने, अरू रावल पनि कति छन् कति यहाँ तीनलाई माथि उठाउनु परेन? भन्दै ठाडो जवाफ समेत फर्काएका थिए। तर अहिले एमालेका प्रदेश नेता भने भीम रावल फ्याक्टरले काम गर्दा कैलाली, कञ्चनपुर, दार्चुला र अछाम २ जस्ता निर्वाचन जित्ने निश्चित भएको ठाउँमा हार्नुपरेको बताउँछन्।
एमालेले सुदूरपश्चिम प्रदेशमा बैतडी, दार्चुला, कैलाली ४ र ५, अछाम २ र कञ्चनपुरमा जित सुनिश्चित जस्तै देखेको थियो। तर त्यसमध्ये २ क्षेत्रमा मात्र जित निकाल्न सम्भव भएको छ। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सुदूरपश्चिमबाट एमालेका ११ उम्मेदवार विजयी भएका थिए। तर यसपटक भने भीम रावलको क्षेत्रबाट २३ वर्ष लामो एमालेको विरासत भत्कियो। पूर्वमाओवादी पृष्ठभूमिका झपट बोहरालाई एकीकृत समाजवादीका शेरबहादुर कुँवरले पराजित गर्न सफल भए।
११ क्षेत्रमा फैलिएका एमालेले बैतडीबाट सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी र नेकपा विभाजनमा समाजवादी रोजेर अहिले फेरी एमालेमै फर्किएका तारा लामा तामाङलाई कञ्चनपुर १ बाट जित दिलाउन सफल भयो। कैलाली ४ मा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरसँग पराजित भए। बझाङमा ऐन महर एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भए। अछाम २ मा २०७४ मा कांग्रेसका पुष्पबहादुर शाहलाई पराजित गरेका यज्ञ बोगटीले अहिले उनैबाट पराजय भोगे। दार्चुलामा ०७४ को निर्वाचन जितेका गणेशसिंह ठगुन्ना कांग्रेसका दिलेन्द्रप्रसाद बडूसँग पराजित भए भने कैलाली २ मा ०७४ को निर्वाचन जितेका झपट रावल नागरिक उन्मुक्तिका अरुणकुमार चौधरीसँग पराजित भए।