PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चुनावमा सिटौला गुटमाथि क्षति, अस्तित्व जोगाउने जिम्मा प्रदीप पौडेलको काँधमा



नेत्र तामाङ

चुनावमा सिटौला गुटमाथि क्षति, अस्तित्व जोगाउने जिम्मा प्रदीप पौडेलको काँधमा
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसमा 'थर्ड पोल' को नामबाट चिनिएको सिटौला समूहलाई आम निर्वाचनमा क्षति पुगेको छ। कांग्रेसबाट टिकट बाँडफाँडको हर्तकर्तासमेत रहेका कृष्णप्रसाद सिटौला आफैँ झापा ३ बाट हार व्योहर्न बाध्य भए।

१४औं महाधिवेशनबाट गगन थापाले साथ छोडेपछि किनारा लागेका सिटौला टिकट बाँडफाँट कार्यदलको संयोजक थिए। त्यसैले पनि सिटौलाले आफ्नो पक्षका नेतालाई न्याय दिने गरी टिकट दिलाए। उनलाई साथ दिने सबैले टिकट पाए पनि।

तर नतिजा भने आफ्नो पक्षमा आएन।

सिटौला आफैँ पनि जित्नेमा ढुक्का थिए। गठबन्धन छँदै थियो - त्यसमाथि कांग्रेसको आन्तरिक विवाद चुनावताका त्यति उछालिएन। तर लोकतान्त्रिक गणतन्त्रका पक्षधर सिटौला राजतन्त्रको मुद्दा उठाउँदै चर्चामा आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भए।

सिटौलाले ३१ हजार १५९ मत पाउँदा एमालेको समर्थन पाएका लिङ्देनले ४४ हजार ६१४ मत ल्याए। समानुपातिकमा नम्बर १ मा बस्ने सुविधा हुँदाहुँदै सिटौला कार्यकर्ताको आडभरोसा र गठबन्धनको मत हेरेर चुनावी मैदानमा उत्रिएका थिए। अघिल्लो चुनावकै नियति दोहोरियो उनको भाग्यमा। राजनीतिमा चतुर मानिएका सिटौला आफूमात्र पराजित भएनन् उनी समूहका नेताहरुको अवस्था पनि यसपटक यस्तै रह्यो।

को को भए पराजित?

कांग्रेसमा सिटौला समूहले १४औं महाधिवेशनमा सबैभन्दा उच्च पदमा विजय हासिल गरेको सहमहामन्त्रीमा थियो। महाधिवेशनमा सहमहामन्त्री निर्वाचित उमाकान्त चौधरी बारा १ बाट उम्मेदवार थिए। सरकारमा खानेपानीमन्त्री समेत रहेका चौधरीलेले निर्वाचनमा हार व्यहोरेका छन्। बारा १ मा निर्वाचनमा उत्रिएका चौधरीलाई एमालेका अच्युत मैनालीले पराजित गरेका हुन्। मैनालीले २९ हजार १९५ मत पाउँदा चौधरीले ३० हजार ५६ मतमात्र पाए।

चौधरीझैं पराजित हुने अर्का उम्मेदवार हुन् भीमसेनदास प्रधान। नेवार समुदायको प्रधान यसपटक जित्नेमा ढुक्क थिए। किनकि वाम गठबन्धन हुँदासमेत उनी काठमाडौं ६ बाट निर्वाचित भएका थिए। यसपटक त झनै पाँच दलसँग गठबन्धन थियो। तर काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भए। पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रधान र पूर्वआइजीसमेत रहेका एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै शिशिरले संसदको यात्रा तय गरेका हुन्।

शिशिरले १४ हजार २ सय ४ मत पाउँदा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत पाए। कांग्रेस उम्मेदवार प्रधानले ८ हजार ८ सय ५ मत पाउँदै तेस्रो स्थान बनाए।

सिटौला निकट अर्का नेता शिवप्रसाद हुमागाईं काभ्रे २ मा पराजित बनेका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस डिल गरेको भन्दै आरोपित भएका गोकुल बास्कोटा हुमागाईंका प्रतिस्पर्धी थिए। बास्कोटाको विवादास्पद छवि भएकाले हुमागाईंलाई चुनाव सहज हुने अनुमान थियो। तर परिणामले साथ दिएन। हुमागाईंले आफ्नै पार्टीको आन्तरिक विषय मिलाउन नसक्दा आफू पराजित भएको बताएका छन्। बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले पराजित गर्दै दोस्रो पटकका लागि निर्वाचित भएका हुन्। बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्दा हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरे।

गुटको जिम्मेवारी अब प्रदीपको काँधमा?

यसपटक टिकट पाएकामध्ये यो गुटबाट प्रदीप पौडेलले मात्र जित निकाले। काठमाडौं ५ कांग्रेसका लागि रेड जोन थियो। यही स्वतन्त्रबाट अनेकन उम्मेदवार मैदानमा आउँदै थिए। त्यसमाथि पूर्वरक्षामन्त्री एवं एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पुनः चुनावमा होमिँदै थिए।

त्यसैले काठमाडौं ५ लाई कांग्रेसले यसपटक सबैभन्दा असुरक्षित क्षेत्र ठानेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा रामशरण महत, शंकर भण्डारीलगायतले यस ठाउँबाट प्रतिस्पर्धा गर्ने रहर गरे पनि चुनावी परिणामको आकलन राम्रो नआउने रिपोर्ट कांग्रेस नेतृत्वसँग पुग्यो। यसपछि यस क्षेत्र प्रदीपको पोल्टामा पुग्यो।

रेड जोनमै प्रदीपले अथाह मिहिनेत गरे र नसोचेको परिणाम निकाल्न सफल रहे। पौडेलले १५ हजार २ सय ३७ मत पाउँदा एमालेका पोखरेलले १० हजार १ सय ७२ मत पाए। ५ हजार ६५ मतान्तरमा पौडेलले यसपटक बाजी मारे र सिटौला गुटमा जित निकाल्ने एक्ला उम्मेदवार बने।

१४औं महाधिवेशनमा सिटौला संकटमा परेका थिए। १३औं महाधिवेशनमा उनी समूहबाट महामन्त्रीमा भिडेका गगन थापाले उनको साथ छोडेका थिए। त्यसपछि सिटौलाले प्रदीपलाई साथ दिए। उनलाई देउवा टिमबाट महामन्त्रीको उम्मेदवार बनाउन सफल रहे सिटौला। त्यही बेला सिटौलाले भनेका थिए - संकटका बेला साथ दिनेलाई नेतृत्वमा स्थापित गर्ने मेरो लक्ष्य हो। महामन्त्रीमा भिडे पनि पौडेल त्यतिबेला सफल भएनन्। यसपटक भने उनी जनताबाट अनुमोदित भएका छन्। तर संसदीय दलमा यो समूहको उपस्थिति कमजोर हुने पक्कापक्की छ। यद्यपि यो समूहको अस्तित्व जोगाउने जिम्मा भने प्रदीपको काँधमा आइलागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell