PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गृहमन्त्री खाणको संसदीय यात्रामा ब्रेक! सत्ता र शक्तिको आडमा पनि किन जित्न सकेनन् चुनाव?



रमेश पराजुली

गृहमन्त्री खाणको संसदीय यात्रामा ब्रेक! सत्ता र शक्तिको आडमा पनि किन जित्न सकेनन् चुनाव?
फाइल फोटो।

बुटवल : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन्, गृहमन्त्री बालकृष्ण खाण। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका उनी चुनाव जित्नेमा ढुक्क थिए। तर, निर्वाचनको अन्तिम परिणाम उनले सोचेभन्दा फरक आयो।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराले पराजित गरेपछि उनको संसदीय यात्रामा ब्रेक लागेको छ। आफैँ गृहमन्त्री रहेको बेला चुनाव हारेपछि उनी पार्टीमै संकटमा परेका छन्।

बोहराले ३६ हजार ७१७ मत पाउँदा खाणले ३४ हजार ३६ मत पाए। पञ्चायतकालदेखि रूपन्देहीमा चुनाव लड्दै आएका बोहराले २ हजार  ६८१ मतान्तरले पहिलो चुनावी भेटमै खाणलाई रोक्न सफल भए। खाण र बोहरा जिल्लामा प्रतिस्पर्धा गर्दै आएपनि आमने सामने भएको पहिलोपटक हो।

मनोनयन दर्तापछि अधिकांश समय निर्वाचन क्षेत्रमै केन्द्रित थिए गृहमन्त्री खाण। सत्ता र शक्तिमा रहेका दलले सरकारी स्रोत साधनको प्रयोग गरेर जनमत तान्ने प्रयासलाई यस पटक मतदाताले रोकिदिएका छन्। प्रधानमन्त्री देउवाको निकट बनेर सधैँ आफू र आफ्नालाई अवसर दिने नेता भन्ने आरोप खेपेका खाणलाई यो पटक नराम्रो धक्का लागेको छ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालसँग चुनाव हारेका बोहराले यसपटक गृहमन्त्रीलाई नै हराएर चर्चामा आउन सफल भए। अघिल्लोपटक कांग्रेसको समर्थन पाउँदा पनि हारेका बोहराले यसपटक एमालेको साथ लिएर खाणलाई हराए।

त्यतिबेला यहाँ कांग्रेस र राप्रपाले चुनावी तालमेल गरेका थिए। प्रत्यक्षमा बोहोरालाई सीट छाड्नुपर्ने भन्दै देउवाले नै खाणलाई समानुपातिकको सुचीमा राखेर सांसद बनाएका थिए।

सुरूमा संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका खाणलाई नेकपा विभाजन भई कांग्रेसको नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री देउवाले नै गृहमन्त्री बनाए। कांग्रेसको १४औँ महाधिवेशन, परिवारवाद, आफ्ना विवादित अभिव्यक्ति लगायतका कारण गृहमन्त्री खाण पराजित हुन पुगेको रुपन्देहीका कांग्रेस नेताहरु बताउँछन्।

गृहमन्त्री खाणले गत असोजमा आफ्नै निर्वाचन क्षेत्रमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गठबन्धनका कारण अरु दललाई सिट छाड्नुपर्ने हुनाले राजनीतिमा त्याग गर्न पनि सक्नुपर्ने अभिव्यक्ति दिएका थिए। तर, आफ्नै श्रीमतीलाई समानुपातिकको बन्दसूचीमा राखेर नाम सार्वजनिक भएपछि उनी थप आलोचित भएका थिए। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा मञ्जु खाणको नाम अगाडि नै छ।

योसँगै जिल्ला सभापति चयन गर्न निर्वाचन हुनुपर्ने कांग्रेसकै एक पक्षको माग थियो। तर, उनले आफ्नै भाइलाई जिल्ला सभापति बनाए। पछि स्थानीय तहको निर्वाचनमा मेयरको टिकट भाइलाई नै दिएपछि परिवारका सदस्यलाई मात्रै अवसर दिएको आरोप उनीमाथि लागेको थियो। तिलोत्तमा नगरपालिकामा भाइलाई उम्मेदवार बनाएकोमा कांग्रेसभित्र असन्तुष्टि बढेको थियो।

रुपन्देही ३ मा स्थानीय तह निर्वाचनमा वडास्तरमा पाएको मतलाई हेर्दा पनि यो क्षेत्रमा चुनाव जित्न सहज थिएन। विपक्षी गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपा, जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवारले पाएको मत करिब ४८ हजार थियो। यता, सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साथै खाणलाई सहयोग गर्न सहमति जनाएको राष्ट्रिय जनमुक्ति पार्टीको मत जोड्दा करिब ४२ हजार थियो।

निर्वाचनको अन्तिम समयमा खाणविरुद्ध बहुविवाहमा संलग्न रहेको भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको थियो। यसका साथै आफूले चुनाव जित्नकै लागि एमालेसँग मिलेर रुपन्देहीका अन्य कांग्रेस उम्मेदवारलाई हराएको आरोप पनि उनीमाथि छ। २०६४ र २०७० सालमा खाण यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ मा भने उनी समानुपातिक सांसद बने।

रुपन्देही ३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिकाका सबै वडासहित तिलोत्तमा नगरपालिकाका १३ र १४ वडा, बुटवल उपमहानगरका १४ देखि १९ वडा, सियारी गाउँपालिकाका १ देखि ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ पर्छ। गत स्थानीय तहमा ओमसतीया बाहेक अरु पालिकामा कांग्रेसले जितेको थियो। पाँच दलिय गठबन्धन गरेर निर्वाचनमा गएपनि यसपटक गृहमन्त्री खाण सफल हुन सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell