PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन : अमेरिका र रसियाको नाटक मञ्चन हुँदै



पहिलोपोस्ट

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन : अमेरिका र रसियाको नाटक मञ्चन हुँदै
फोटो : रिजन परियार/निटफेस्ट

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ।

भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेक निर्देशित ‘थ्री कन्ट्रीः वन मोदर’ मध्यान्ह १२ र दिउँसो ४ बजे मण्डला नाटकघरमा मञ्चन हुँदैछ। अंग्रेजी भाषामा रहेको यो नाटकलाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्। यो प्रयोगात्मक र एकल नाटक हो।

यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास र संस्कृतिबारे बताउँछ। नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो।

त्यस्तै दिउँसो २ र साँझ ६ बजे रुसको लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मण्डला स्टुडियोमा मण्चन हुँदैछ। कोन्द्रातोएभा क्रिस्टिनाले लेखेकी यस नाटकलाई सुखोरुकोभा तातियानाले निर्देशन गरेका छन्।

नाटक सामाजिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको यस नाटकले एउटी युवतीको कथा भन्छ। आफ्नो मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी उनले आफ्नो स्वतन्त्रताका यात्रामा सानो भाइलाई समेत बिर्सिएको प्रसंग नाटकमा छ।

आइतबारै साँझ ७:३० बजे नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ। यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको महोत्सवमा आइतबारै नाटकका अलवा बिहानैदेखि ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell