PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मकवानपुर १ बाट निर्वाचित दीपक सिंहलाई प्रश्न : भेट्न आउनेलाई बाघ फुकाएर तर्साउनुहुन्छ रे, मतदाताले अब कसरी भेट्ने? (अन्तर्वार्ता)



पहिलोपोस्ट

मकवानपुर १ बाट निर्वाचित दीपक सिंहलाई प्रश्न : भेट्न आउनेलाई बाघ फुकाएर तर्साउनुहुन्छ रे, मतदाताले अब कसरी भेट्ने? (अन्तर्वार्ता)

यसअघि मकवानपुरमा दीपक बहादुर सिंहको रेकर्ड थियो - हारमा ह्याट्रिक बनाएका नेता।

२०५४ मा हेटौंडा नगरपालिकाको मेयर पदमा एमालेका डोरमणि पौडेलसँग पराजित। २०५६ मा मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा विरोध खतिवडासँग पराजित। २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पराजित। २०७९ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि पराजित।

मेयरमा होस् या संसदमा, रिजल्ट फेलको फेल।

हारको टर्रो स्वाद पन्छाएर यसपटक भने सिंहले मकवानपुर १ बाट जित निकालेका छन्। त्यो पनि सूर्य चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै।

मतगणनामा शुरुवाती अग्रता गठबन्धनकी डिनाले कायम गरेकी थिइन्। अन्तिम चरणमा आइपुगेर डिनालाई उछिन्दै दीपकले जित निकाले।

चुनावी जित र भावी एजेन्डाको सन्दर्भमा पहिलोपोस्टकर्मी निशा गुरुङले उनै दीपक सिंहसँग गरेको कुराकानीको सम्पादित अंश :

पटक-पटकको प्रयासपछि जित्नुभयो है?
जनताले यसपाली सही निर्णय गरेको छ। जनताको जुन विश्वास छ - मैले इमानदारीका साथ पूरा गर्ने छु भन्ने वचन पनि मैले जनतालाई दिइसकेको छु।

दुई ठूला पार्टीका चर्चित उम्मेदवार, त्यसमाथि दुई-दुई वटा गठबन्धनको चेपुवा थियो, सरप्राइज रिजल्ट कसरी निकाल्नुभयो?
गठबन्धनको आडमा उहाँहरुको दम्भ यतिसम्म थियो कि उहाँहरु आपस-आपसमा मात्र माथि हाईलेबलमा समन्वय र सम्पर्क हुन्थ्यो। उहाँहरुको ठूला पार्टीका ठूला ठूला नेताहरुमाथि केन्द्रमा मात्रै या सरकारमा मात्रै सीमित छ। मेरो सम्बन्ध र सम्पर्क भनेको जनताको घरदैलोसम्म थियो। स्थानीय निकायमा पनि मतले त्यही देखाएको थियो।

मैले भन्ने गरेको थिएँ - उहाँहरुको गठबन्धन सत्ता प्राप्तिको थियो। मेरो जनतासँग मन र मुटुको गठबन्धन थियो। वास्तवमा जनतासँग ज-जस्को मन र मुटुको गठबन्धन छ एक्लै भएपछि विजयी अवश्य पनि जनताले गर्छ भन्ने विश्वास मलाई लागेको थियो। त्यसैको परिणाम आज यो दिन आएको हो।

म पटक-पटक हारेँ, म जनताको माझमा उभिए र जनताको गुनासो सुनें। र, मबाट गर्न सक्ने सहयोगमा यो र त्यो मेरो र तेरो भनेन। जो सुकै होस् मकवानपुर जनताका लागि मैले मबाट हुनपर्ने सहयोग मैले गरेको थियो। आज मकवानपुरको जनताले मलाई यो ठाउँमा पुर्‍याए। म सम्पूर्ण जनताहरुलाई मेरो पार्टी र मेरो तर्फबाट धेरै धेरै धन्यावाद दिन चाहन्छु। उहाँहरुको विश्वासलाई म कहिल्यै पनि घात गर्ने छैन भन्ने र मकवानपुरको समृद्धिको लागि र राष्ट्र र राष्ट्रियताको लागि मेरो जिउमा एक थोपा रगत रहुन्जेलसम्म म मकवानपुरका जनताको सेवा गर्नेछु भन्ने वचन दोहोर्‍याउन चाहन्छु।

तपाईसँग सांगठनिक मत पनि थिएन नि?
धेरै कठिन भयो। तर, जनताले ती ठूला पार्टीका जिल्ला स्तरीय नेताहरु जो भ्रष्टचारको विरुद्धमा थिए। जुन मान्छे विकास चाहन्थे। जुन मान्छे रोजगारी चाहन्थे। विदेश गइकन बिहान बेलुका छाक टार्ने जुन अवस्था थियो। तिनै कारणले ठूला नेताहरुसँग ठूला गठबन्धनसँग हैरान भइसकेको थियो। चुनावको दिनमा देखापर्थे। अरु दिनमा कहिल्यै देखा परेनन्। पाँच वर्षपछि उहाँहरु गाउँमा पस्नुभो। डिनाजी त झन् पार्टीका ठूला पार्टीका सह महामन्त्री हुँदा पनि जनताले नचिनेको कारणले गर्दाखेरी मलाई मत दिएको हो।

कमल थापा जसलाई तपाईं कुनै बेला आफ्नै दाइ भन्नुहुन्थ्यो, उहाँलाई हराउँदा चाँहि कस्तो लागिरहेको छ?
होइन, हार र जित त उठेपछि अवश्य पनि हुन्छ। म पनि धेरैपटक हारेँ। हारेपनि हरेश मैले खाइनँ। म पटक-पटक उठेँ र, मेरो पूर्व अध्यक्ष कमल दाईले चाँहि हार्नुभयो। उहाँले गलत निर्णय लिनुभएको थियो। जुन आफ्नो विचार त्याग्नुभयो। त्यही कारणले एमालेको सूर्य चिन्हबाट उठ्नु भएपछि जनताले उहाँलाई पत्याएनन्। कमल दाईबाट मलाई बधाई पनि आइसकेको छ। आगामी दिनमा सहयोग र सुझाव दिन्छु भन्ने पनि छ। 

हामी त एउटै परिवारका सदस्य छौं। मलाई विश्वास छ आगामी दिनमा जो-जो मकवानपुरबाट उठ्नुभएको हामी सबै उम्मे्वारहरु छौं। जुन सपना हामीले जनतालाई बाँडेका छौं। अब कांग्रेस, एमाले, माओवादी, राप्रपा नभनी सबैजना यो मकवानपुरलाई समृद्ध मकवानपुरको बाटोमा लग्नको लागि हामीले भूमिका निर्वाह गर्नुपर्छ। यो नै जनताको माग छ। ठूला-ठूला पार्टीका नेताहरुलाई म भन्न चाहन्छु।

जित्नुभयो, तर तपाईको पार्टी राप्रपा पाँचौ दल बन्ने देखिन्छ, संसदमा कसरी प्रस्तुत हुन तयारी गर्नुभएको छ?
मेलै समय परिस्थिति जुनबेला आउँछ। त्यही अनुसारको जनहित र राष्ट्रहितको लागि काम गर्छु। म जनताको विश्वास राष्ट्रमाथि गद्धारी हुने कामहरु  कुनै पनि गर्ने छैन। जुन ४६ सालदेखि आएका जनप्रतिनिधि, कर्मचारी विभिन्न ओहदामा बसेका लाभकाका पदमा बसेकाहरुको सम्पत्तिको लेखाजोखा गर्ने हो। त्यो पहिलो माग मेरो हुनेछ।

भ्रष्टाचार निर्मुल हुनुपर्छ भन्ने अभियानमा म छु, यो कुरा म राष्ट्रवादी साथीहरु विभिन्न पार्टीका दलहरुसँग र मकवानपुरमा हाम्रा जनप्रतिनिधिहरु आजभन्दा ३५ वर्ष पहिला जितेका गएका थिए। आज कुन अवस्था उहाँहरु हुनुहुन्छ। जनता गरिब जुन हुँदै छ। जनप्रतिनिधिहरु घरवार काठ्माडौंमा जोडेर प्रगति र शिखरमा पुगेको छ। त्यस्को लेखाजोखा हुनुपर्छ।

तपाईसँग जनताले सहजै भेट्न सक्ने वातावरण छैन भन्ने आरोप छ नि, घरमै बाघ पालेको छ, ठूलठूला कुकुर फुकाएर तर्साउँछन् भन्छन्?
यो ७/८ महिना भयो। म चुनावी मैदान लागेको कुनै पनि मान्छे मलाई भेट गर्न पाएन। हिजो जुन प्रोपोगान्डा छ। मान्छेभन्दा ठूलाठूला कुकुर पालेको छ। बाघ पालेको छ दीपक सिंहले भनेर अपवाह फैलाएर भेट्न पनि गाह्रो छ कम्पाउण्डमा छिर्दाखेरी डर लाग्छ भन्ने कुरा सबै फटाई रहेछ भन्ने जनताले बुझिसकेको छ।

मेरो पार्टीको मात्रै नभईकन सबैपार्टी साथीहरु आउँछन् मेरो घरमा। कसैलाई पनि रोकतोक छैन। राति १ बजे आएपनि सिधै मसँग सम्पर्क गर्छ। मैले झण्डै ४८ वर्ष राजनीति गरेँ। र मैले नेताहरुसँग नजिकसँग बसेर हेर्ने मौका पाएँ। जुन गल्ती उहाँहरुले गरेर उहाँहरु हार्नु परेको छ। त्यो गल्ती म गर्दिनँ।

धनीगरिब नभनी, म जुनसुकैको पनि फोन उठाउँछु। म जनताको सेवा र उन्नति र प्रगति मेरा युवक भाई बहिनीहरुको भविष्य, शिक्षा र रोजगारीमा लगाउँछु। म एउटा उद्योगी भएको कारणले पनि त्यो विचार अरु उम्मेदवारभन्दा त्यो विचार छ। र मकवानपुरको हेटौंडा अस्पताललाई वीर अस्पताल र टिचिङ अस्पतालजस्तो बनाउनु हो। नीति निर्माण गर्ने ठाउँमा मलाई पुर्‍याउनुभएको छ। मकवानपुरको जनताले म इमान्दारिका साथ जुन मल, विउविजन पाउँदै जुन हाहाकार आजको दिनमा पनि छ। म पहिले त्यसमा लाग्छु।

प्रदेश सरकारबारे तपाईको धारणा के हो?
प्रदेश सरकार खारेज गर्नुपर्छ भन्ने मुल्य मान्यता रही हिजोको दिनदेखि हामी लागिरहेको छ। यो कालो हात्ती र कार्यकर्ताको भर्ती केन्द्रबाहेक अरु केही पनि हुन सक्दैन। त्यसकारण त्यो हटाएर स्थानीय निकायलाई त्यो अधिकार दिने, दुई खरबभन्दा बढी ७ वटा प्रदेश चलाउनलाई खर्च भएको छ, स्वास्थ्य, शिक्षा र कृषि र बन्द भएका उद्योगहरु सञ्चालन गरेर रोजगारी व्यवस्था गर्ने मुल मन्त्र मैले लिएको छु।

पूर्वी मकवानपुरमा सुकुम्बासी समस्यालगायत अन्य धेरै समस्या छन्, समाधानको पहल कसरी गर्नुहुन्छ?
पूर्वदेखि लिएर पश्चिमसम्मका धेरै क्षेत्रमा मान्छे सुकुम्बासी छन्। लालपुर्जा पाएको छैन। बाउबाजेदेखि त्यो थलोमा बसेका छन्। लालपूर्जा सबैले दिन्छु भन्यो आजको दिनसम्म पाएको छैन। मैले पहिलोचोटि जनताले जितायो। मलाई पहिला जनतालाई मालिक बनाउन त्यो लालपूर्जा जनताको हातमा राख्ने वातावरण मेरो सामथ्र्यले भ्याएसम्म म गर्नेछु।

चाँडोभन्दा चाँडो त्यो लालपूर्जा जनताको हातमा राख्छु भन्ने म कसम पनि खान्छु। र यसमा सबै मिलेर समाधान गर्नुपर्छ। जसले मिल्दैन जनताको हितविपरित षड्यन्त्र गर्छ भने अहिले त मत बाटमात्रै हराइदिएका छन्। यदि त्यो कुकर्म कसैले सोच्छ भने जिल्लाबाट बास पनि उठाउँछ। त्यसकारण सबैजना मिलौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell