PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

समूह 'ई' र 'एफ'का खेलहरु आज, क्यानडाका प्रशिक्षकको नाङ्गो तस्बीर किन छाप्यो क्रोएसियाको पत्रिकाले?



पहिलोपोस्ट

समूह 'ई' र 'एफ'का खेलहरु आज, क्यानडाका प्रशिक्षकको नाङ्गो तस्बीर किन छाप्यो क्रोएसियाको पत्रिकाले?
Photo: Reuters and Twitter

फिफा विश्वकप अन्तर्गत आज चार खेल हुँदैछ। समूह 'ई' र 'एफ' तर्फका खेलहरु आज हुनेछन्। आज हुने पहिलो खेलमा समूह 'ई' मा रहेको जापान र कोस्टारिका भिड्नेछन्। अहमेद बिन अली स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

आफ्नो पहिलो खेलमा उपाधिको दाबेदार जर्मनीमाथि २-१ गोलको जित निकाल्दै सानदार सुरुवात गरेको जापान आजको खेलमा जित निकालेर विश्वकपमा यात्रा लम्बाउन चाहन्छ। अर्कोतर्फ पहिलो खेलमा स्पेनसँग ७-० गोलको फराकिलो हार ब्यहोरेको कोस्टारिका पुनरागमन गर्ने चाहनामा छ। जापान र कोस्टारिकाले यसअघि तीन पटक खेलेका छन् जसमध्ये कुनै पनि खेलमा जापानले हार ब्यहोरेको छैन।

आज साँझ हुने दोस्रो खेलमा समूह 'एफ' मा रहेको बेल्जियम र मोरोक्को आमनेसामने हुनेछन्। अल थुममा स्टेडियममा साँझ पौने ७ बजे खेल सुरु हुनेछ।

समूहमा आफ्नो पहिलो खेलमा बेल्जियमले क्यानडामाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको थियो भने मोरोक्को क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको थियो। मोरोक्को विरुद्धको खेलमा पनि चोटबाट गुज्रिएका स्टार स्ट्राइकर रोमेलु लुकाकुले टिममा फर्कने सम्भावना कमजोर रहेको बताइएको छ।

'मेडिकल रूपमा रोमेलु तेस्रो खेलको लागि मात्र उपलब्ध हुने थिए, तर संकेतहरू धेरै राम्रो छन्,' बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका छन्।

आजै राति पौने ९ बजे समूह एफका क्यानडा र क्रोएसिया प्रतिस्पर्धामा उत्रने छन्। खालिफा इन्टरनेशनल स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। क्यानडा प्रतियोगिताको आफ्नो पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो क्रोएसियाले मोरोक्कोसँग बराबरी खेलेको थियो।

बेल्जियमसँगको हारपछि क्रोएसियाबारे अस्लिल टिप्पणी गरेका क्यानडाका प्रशिक्षक जोन हेण्डरसनको क्रोएसियामा आलोचना भएको थियो। क्रोएसियाको एक ट्याब्लोइड २४ साटाले त उनको नाङ्गो तस्बिर नै पहिलो पृष्टमा छापेको थियो। यद्यपि हेण्डरसनले आफ्नो अभिव्यक्तिलाई लिएर माफीसमेत मागि सकेका छन्।

क्यानडाले विश्वकपमा सबै गरि चार खेल खेलेको छ। जसमा हालसम्म कुनै गोल गर्न सकेको छैन।

त्यस्तै आज हुने अन्तिम खेलमा पूर्व विश्वकप विजेता टिमहरु स्पेन र जर्मनी आमनेसामने हुनेछन्। जर्मनीले आफ्नो उद्घाटन खेलमा एसियाली राष्ट्र जापानसँग २-१ गोलको हार ब्यहोरेको थियो भने स्पेनले कोस्टारिकामाथि ७-० गोलको फराकिलो जित निकालेको थियो। विश्वकपमा नकाउट चरणको होडमा कायम रहन आज जर्मनीलाई जित अनिवार्य हुनेछ। अर्कोतर्फ स्पेन पनि दोस्रो जित निकाल्दै समूहको बलियो प्रतिस्पर्धीलाई पछि पार्न चाहनेछ।

खेल राति पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell