PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'थिएटर'बारे शबानाको मास्टरक्लास, 'एक्टर र स्टार फरक कुरा हुन्'



लक्ष्मी बलायर

'थिएटर'बारे शबानाको मास्टरक्लास, 'एक्टर र स्टार फरक कुरा हुन्'

काठमाडौं : दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारतीय अभिनेत्री सबाना आजमीले मास्टरक्लास ‍दिएकी छिन्। निटफेस्टको दोस्रो दिन शनिवार साँझ आजमीले आफ्ना अभिनय अनुभव र विचारहरु साटेकी हुन्।

कला एक सामाजिक रुपान्तरण लागि प्रयोग हुनुपर्ने मान्यता राखेको परिवारबाट आफू हुर्किएको आजमीले बताइन्। जसकारण पनि आफूले समाजमा परिवर्तन ल्याउने पात्रको रुपमा काम गरेको उनको भनाई छ।

शबानाका अनुसार ‘एक्टर’ र ‘स्टार’ बिच निकै फरक छ। 'एक्टर' सामान्य व्यक्तिको जीवनसँग जोडिने बताउँदै उनले 'स्टार'लाई एक 'बाइ प्रोडक्ट' को रुपमा व्याख्या गरिन्।

‘मलाई लाग्छ कि स्टार भनेको एउटा बाइ प्रोडक्ट हो। जहाँ तपाईंले खोज्नु भएको कुरा हुन सक्दैन। किनभने म तपाईंलाई बताउँछु कि कलाकार र स्टार बिच के हुन्छ। जब तपाईं एक एक्टर हुनुहुन्छ भने तपाईं जीवनमा आधारित हुनुहुन्छ। तपाई रिक्सा चालक, मजदुरदेखि बस ड्राइभरसँग कुरा गर्नुहुन्छ। उनीहरुको जीवनसँग जोडिनुहुन्छ। तर, जब तपाई स्टार बन्नुहुन्छ। तब तपाईं यी कुराहरुसँग जोडिन पाउनुहुन्न,’ उनले भनिन्।

‘स्टार’ले निश्चित समयका लागि चर्चा बटुले पनि संसारसँग जोडिन भने पूर्णरुपमा नसक्ने आजमी बताउँछिन्। उनले भनिन्, ‘स्टार भइसकेपछि वाह वाह गर्ने व्यक्तिहरु भेट्नुहुन्छ। तर, तपाईंको जीवनसँगको कनेक्सन भने पूरा हराएको हुन्छ। जुन कलाकारका लागि राम्रो होइन। कवि होस् वा चित्रकार, जो कलाकार भए पनि तपाईं जीवनसँग जोडिनुपर्छ। पूरा प्रेरणा तपाईंको जिन्दगीबाट मिल्नुपर्छ। त्यसैले स्टार मात्र बन्न खोज्दा निकै खतरा हुन्छ। तपाईं स्टार बन्न खोज्दा एक्टरको अर्थ के हो भनेर बुझ्न सक्नु हुँदैन।’

फिल्मलाई कलाको रुपमा हेर्ने कि मनोरञ्जनको लागि मात्रै हेर्न भन्ने कुरा दर्शकको छनोटमा भर पर्ने आजमीको भनाइ छ। ‘कुनै व्यक्तिहरु कला एक मनोरञ्जनको माध्यम हो मान्छन् अर्थात उनीहरु अर्थपुर्ण कला चाहन्दैनन् भने त्यसमा समस्या छैन। मनोरञ्जनको मतलब छाडा र स्वादविहीन हुन जरुरी छैन। मनोरञ्जन आफैँमा राम्रो छ। मनोरञ्जनको पुन: परिभाषा गर्न जरुरी छ। कस्तो सिनेमा हेर्न वा नहेर्ने दर्शकको छनोट हुनुपर्छ।’

थिएटरको चुनौती नै सिनेमा भएकोले भारतीय रंगमञ्च अहिले पनि बलिउडको ओझेलमा परेको आजमीले सुनाइन्। ‘रंगमञ्जको संघर्ष र रंगमञ्चले समाजलाई बलियो व्यक्तित्वको विकासमा भूमिका खेल्छ। थिएटरका लागि यो कठिन समय हो। तर, पनि यसलाई अघि बढाउनुपर्छ। सबै मिलेर थिएटरलाई छुट्टै माध्यमको रुपमा उभ्याउनुपर्छ।’

थिएटरलाई सिनेमाबाट छुट्याउनुपर्ने बताउँदै उनले थिएटरलाई एक बलियो माध्यम बनाउनु पर्नमा जोड दिइन्। रेकर्ड गरिएको फिल्महरुभन्दा थिएटरसँग यर्थाथवाद बढी हुने कारण थिएटरको सम्भावना बढी हुने उनको धारणा छ।

कोरोनाकालपछि दर्शकको रोजाई परिवर्तन भएकाले बलिउड फिल्महरु ओझेलमा परेको उनी बताउँछिन्। तर,  फिल्ममेकरले कथावस्तु राम्रो र बलियो बनाउँदा दर्शकले बलिउड फिल्म मन पराउनेमा उनी ढुक्क सुनिइन्।

नेपाली फिल्मको पनि अन्तर्राष्ट्रियकरण हुनुपर्ने उनले बताइन्, ‘नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको छैन। जसले गर्दा मैले नेपाली फिल्म अहिलेसम्म पनि हेरेकी छैन। बरु, बंगाली फिल्म हेर्न थालेको छु। जुन अन्तर्राष्ट्रिय तहमै बन्न थालेका छन्।’

गम्भीर विषयवस्तुमा सिनेमा खेल्ने र सामाजिक अभियन्ताका रुपमा पहिचान बनाएकी आजमीले पछिल्लो समय नारी प्रधान फिल्मको विकासमा भइरहेको सुनाइन्। साथै, अहिलेका कलाकारहरुलाई मनैदेखि अभिनय गर्न समेत सुझाव दिइन् उनले। भावनालाई महसुस गरेर अभिनय गर्नुलाई आजमी अभिनयको महत्वपूर्ण पक्ष ठान्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell