
काठमाडौं : दोलखाका चार मतदान केन्द्रका १० बुथमा फेरि निर्वाचन हुने भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधसभा तथा प्रदेश सभा निर्वाचनका क्रममा यी मतदान केन्द्रहरुमा निष्पक्ष ढंगबाट निर्वाचन नभएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ।
वैत्यश्वर र तामाकोशी गाउँपालिकाका १० बुथमा निर्वाचन हुने भएको हो।
कुहाँ पुनः मतदान ?
वैत्यश्वार गाउँपालिका वडा ६ वैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्रको 'क', 'ख' र 'ग'
वैत्यश्वर गाउँपालिका वडा ६ जनज्योति माध्यामिक विद्यालय पुतलीकाठ मतदान केन्द्र 'क' र 'ख'
तामाकोशी गाउँपालिका वडा ३ हेल्थपोस्ठ भवन जेफ मतदान केन्द्र 'क' र 'ख'
वैतेश्वर गाउँपालिका ३ कालीढुंगा माध्यामिक विद्यालय मतदान केन्द्र 'क' 'ख' र 'ग'
यी मतदान केन्द्रहरुमा निष्पक्ष ढंगले मतदान नभएको भन्दै आयोगले सबै मतदान केन्द्रमा पुन: मतदान गराउने निर्णय गरेको हो। आयोगको टोलीले स्थलगत अध्ययन गरेपछि पुनः निर्वाचनको निर्णय भएको हो। आयोगको सो टोलीले आज मात्रै प्रतिवेदन बुझाएको एक निर्वाचन आयुक्तले जानकरी दिए।
दोलखा-१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले चुनावमा धाँधली भएको भन्दै आयोगमा उजुरी दिएपछि उक्त क्षेत्रका विभिन्न ठाउँमा मत गणना हुन सकेको थिएन। एमालेले पुन: मतगणनाको माग राख्दै दोलखामा विरोध जनाउँदै आएको थियो। दोलखामा बुथ क्याप्चर भएका भिडियो समेत सामाजिक संजालमा भाइरल भएका थिए।