PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चुनावमा हारपछि सुजाताको आरोप, ‘मीनेन्द्रजी मलाई हराउन आफैँ लाग्नुभयो’



अनन्तराज न्यौपाने

चुनावमा हारपछि सुजाताको आरोप, ‘मीनेन्द्रजी मलाई हराउन आफैँ लाग्नुभयो’

विराटनगरः काङ्ग्रेस नेतृ सुजाता कोइरालाले पार्टीका नेता डा. मीनेन्द्र रिजालले गरेको खुला असहयोग र घातका कारण आफूले निर्वाचनमा पराजय भोग्नुपरेको बताएकी छन्।

नेतृ कोइरालाले आइतबार साँझ काठमाडौँ फर्कनुअघि विराटनगर विमानस्थलमा पहिलोपोस्टसितको भेटमा आफ्नो पराजयको सम्पूर्ण दोष नेता डा. रिजाललाई लगाएकी हुन् ।

सुजाता मोरङको क्षेत्र नम्बर २ बाट एमालेका ऋषिकेश पोखरेलसित १ हजार २०८ मतको अन्तरले प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएकी छन्।

एमालेका पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा कोइरालाको ३१ हजार ९४० छ।

‘मीनेन्द्रजीका खास कार्यकर्ता भनिनेहरूले मीनेन्द्रजीकै इसारामा सुरुदेखि नै खुला रूपमा एमाले उम्मेदवारका लागि भोट मागे’, सुजाताको आरोप थियो, ‘उनीहरूले एमालेमा भोट दिन सक्तैनौँ भन्नेहरूसित घण्टी र हलोमा मत दिन आग्रह गरे। घण्टी र हलोका उम्मेदवार र समर्थकहरूले म र हाम्रा साथीहरूसित आफ्नो पार्टीले केही आसा नै नगरेका टोल र वार्डबाट सोचेभन्दा धेरै मत आएको बताएका छन्। मीनेन्द्रजीकै इसारा र निर्देशनमा केही भोट लौरोमा पनि गएको छ।’

यस क्षेत्रमा रास्वपाबाट ठगेन्द्रप्रसाद न्यौपानेले ४ हजार ९८७, राप्रपाका गोपालप्रसाद दाहालले २ हजार ७४५ र हाम्रो नेपाली पार्टी (चुनावचिह्न लौरो)-ले १ हजार ४५७ मत पाएका छन्।

नेतृ कोइरालाले डा. रिजालका कार्यकर्ताले समानुपातिकमा पनि नेपाली काङ्ग्रेसलाई मत नदिनू भनेर प्रचार गरेको भन्दै आरोपित गरिन्।

‘टिकट पाउनेबित्तिकै म यस क्षेत्रमा आएँ’, उनले सुनाइन्, ‘सङ्गठन पुरै बिग्रिएको रहेछ। बिग्रिएको मात्रै होइन, शून्य नै रहेछ। हरेक वार्डदेखि क्षेत्रसम्मका समितिको हरेक महिना बैठक हुनुपर्ने तर कहिल्यै हुँदो रहेनछ। यस्तो अवस्थामा म क्षेत्रमा चुनाव लड्न आइपुगेँ।’

उनले थपिन्, ‘क्षेत्रमा भर्खरै सकिएको स्थानीय तहको निर्वाचनको पीडा पनि ताजै रहेछ। टिकट मिलाएर वितरण नगरेका कारण धेरै वडामा साथीहरू बागी उठ्नुभएको रहेछ । हरेक वार्ड–वार्डमा झगडा रहेछ। रतुवामाई नगरपालिकाबाहेक यस क्षेत्रमा रङ्गेली, सुनबर्सी र पथरीशनिश्चरे नगरपालिका अनि कानेपोखरी गाउँपालिका गरी ४ वटा ठुला स्थानीय तह हामीले हारेका रहेछौँ। त्यस चुनवावमा आफ्नै साथीलाई हराउने प्रवृत्ति नराम्ररी झाँगिएछ।’

सुजाताले क्षेत्रमा पार्टीको सङ्गठनको यस्तो अवस्था आफूले थाहा पाएपछि विगत डेढ महिनामा धेरै मेहनत गरेको बताइन्। साथै आफू राति १२ बजेसम्म कार्यकर्ताका घरघर गएर हात जोडेर तपाईंहरू गिरिजाबाबुको अनुहार सम्झिएर भए पनि मिलिदिनूस् भनेर अनुरोध गरेको उल्लेख गरिन्।

उनले आफूले यसरी अनुरोध गरेपछि साथीहरू गिरिजाबाबुलाई सम्झिएर एकत्रित भएको जिकिर गरिन्।

‘तर पनि हामै पार्टीका नेताको कमजोरी रह्यो’, सुजाताको भनाइ थियो, ‘मीनेन्द्रजी आफैँ हराउन लाग्नुभयो।’

उनले डेढ महिनाअघि आफू क्षेत्रमा आउँदा हरेक टोलटोल र वार्डवार्डका काङ्ग्रेस साथीबिच मीनेन्द्रजीप्रति तीव्र असन्तुष्टि र विरोध रहेको बताइन्।

सुजाताको कथन थियो, ‘क्षेत्रमा उहाँकै कारण सङ्गठन बिग्रिएको, स्थानीय तहको चुनाव हारेको, क्षेत्रमा कहिल्यै जाने नगरेको र क्षेत्रमा विकासका योजना नलगेको आरोप कार्यकर्ताको थियो । यो आक्रोशलाई मैले हात जोडिजोडी साम्य पार्नुपर्‍यो।’

उनले थपिन्, ‘चुनावका अवधिभरि हाम्रा विरोधी उम्मेदवारसित मीनेन्द्रजीको सम्पर्क हुँदो रहेछ । मलाई त यो कुरा खुद ऋषि पोखरेलजीले नै भन्नुभयो। ऋषिजीले हाम्रो कुरा भइरहन्छ भनेर सुनाउनु भयो। एमालेका अरू साथीले पनि भने।’

डा. मीनेन्द्रलाई तपाईंले मलाई निर्वाचन क्षेत्रमा आएर सहयोग गरिदिनुपर्‍यो भनेर किन अनुरोध गर्नुभएन भन्ने प्रश्नमा सुजाताको जबाफ थियो, ‘क्षेत्रमा उहाँकै स्थिति राम्रो रहेनछ। उहाँको सर्वत्र विरोध रहेछ। सबै साथीहरू असन्तुष्ट। अनि मैले कसरी बोलाउनु? अहिले त १२ सय भोटले चुनाव हारेँ। उहाँलाई घुमाएको भए ५ हजारभन्दा बढीले हार्थें होला। एक साथीले त मलाई केसम्म भन्नुभयो भने दिदी मीनेन्द्र दाइलाई तपाईंले यहाँ बोलाएको भए १० हजार भोटले चुनाव हार्नुहुन्थ्यो। यस्तो देखेपछि मैले उहाँलाई बोलाइनँ। फोन पनि गरिनँ।’

नेतृ कोइरालाले मीनेन्द्रजीले विराटनगर, काठमाडौँ र क्षेत्र नम्बर २ बाहिरका ठाउँमा सुजाताले आफू (मीनेन्द्र)–लाई क्षेत्रमा प्रचारका लागि नबोलाएको र आफू (मीनेन्द्र) त्यस क्षेत्रमा गएको भए सुजाताजी चुनाव जित्नुहुन्थ्यो भन्ने प्रचार गराएको भन्दै रोष व्यक्त गरिन।

‘जे बिग्रियो, उहाँकै पालामा बिग्रियो । उहाँकै कारणले बिग्रियो । क्षेत्रमा सबै विकृति भित्र्याउने उहाँ नै हो’, उनको प्रश्न थियो, ‘यस क्षेत्रका २९ वडामा स्थानीय तहमा हामीले जम्मा ९ वटा वडामा जितेका छौँ। यसको जिम्मा उहाँले लिनुपर्दैन?’

नेतृ सुजाताले २०७४ को निर्वाचनमा आफू शारीरिक कारणले क्षेत्रमा आउन नसकेका कारण आफैँले सिफारिस गरेर डा. मीनेन्द्रलाई यस क्षेत्रमा टिकट दिलाएको स्पष्ट पारिन्।

‘मैले २०७४ सालमा यो क्षेत्र नदिएको भए उहाँको क्षेत्र कहाँ थियो ?’, सुजाताको गुनासो थियो, ‘अहिले म स्वस्थ छु । तर चुनावमा यस क्षेत्रमा आएपछि उहाँको घातको सिकार हुनपुगेँ ।’

उनले आफूले अब यही क्षेत्रलाई केन्द्र र कार्यक्षेत्र बनाएर राजनीति गर्ने जानकारी दिइन्।

उनले भनिन्, ‘अब म अधिकांश समय रङ्गेली नै बस्छु । यसै क्षेत्रमा विकासका योजना ल्याउँछु र गिरिजाबाबु लगातार ३ वटा चुनाव लड्नुभएको यो क्षेत्रमा उहाँले पूरा गर्न नसक्नुभएका विकासनिर्माणका काम पूरा गर्छु।’

गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ का निर्वाचन यही क्षेत्रबाट लडेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell