काठमाडौं : दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यसअघि भएको मतदानलाई रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो।
एमालेले चुनावमा धाँधली भएको भन्दै फेरि निर्वाचनको माग गरेर आयोगमा उजुरी दिएको थियो। वैतेश्वर गाउँपालिका वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र क र ख, सोही गाउँपालिकाको वडा नम्बर ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख तथा ग मा पुन मतदान हुने भएको हो।
उक्त गाउँपालिकाको वडा नम्बर ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग तथा तामाकोशी गाउँपालिका वडा नम्बर ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र क र ख गरी १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने भएको हो।
मतदान स्वच्छ र भयरहित नभएका स्थानमा फेरि मतदान हुने आयोगले जनाएको छ।
‘मतदानमा अनधिकृत कब्जा भई मतदानको कार्यमा निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा मिति २०७९/०८/०४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा मिति २०७२/०८/१५ गतेभित्र पुनः मतदान सम्पन्न गराउने गरी आयोगबाट मिति २०७९/०८/११ मा निर्णय भएको छ,’ आयोगले भनेको छ।