PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

गठबन्धन हुँदा पनि हारे देउवाका यी विश्वासपात्र



पहिलोपोस्ट

गठबन्धन हुँदा पनि हारे देउवाका यी विश्वासपात्र

काठमाडौं : वाम गठबन्धनको फुट र नेकपा एमाले टुक्रिएको अवस्थामा यसपटक सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसलाई चुनावमा सहज वातावरण बनेको थियो। त्यसमाथि पाँच दलसँग तालमेल गर्ने अनुकूल वातावरण पनि बन्यो। त्यही अनुसार कांग्रेसले सिट बाँडफाँडमा पनि सुरक्षित देखिएका ठाउँहरु छानेर लियो।

तर, गठबन्धनबाट ९१ सिट पाएको कांग्रेसले ६० सिटमा पनि जित निकाल्न सकेन। अझ सत्ताको बागडोर सम्हालिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्रहरु नै चुनावबाट अनुमोदित भएनन्।

को को भए पराजित?

१४ औं महाधिवेशनमा मैदान छाडेर देउवालाई सभापतिमा सघाएका कृष्णप्रसाद सिटौलाले यसपटक पनि जित निकाल्न सकेनन्। महाधिवेशनमा सघाएकै कारण सिटौला देउवाका विश्वासपात्र बने, अनि सिट बाँडफाँट कार्यदलको संयोजकको जिम्मेवारी पाए। उनै सिटौला निर्वाचनमा पराजित भएका छन्।

सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन्। सिटौलाले ३१ हजार १५९ मत पाउँदा एमालेको समर्थन पाएका लिङ्देनले ४४ हजार ६१४ मत ल्याए। समानुपातिकमा नम्बर १ मा बस्ने सुविधा हुँदाहुँदै सिटौला कार्यकर्ताको आडभरोसा र गठबन्धनको मत हेरेर चुनावी मैदानमा उत्रिएका थिए। तर, अघिल्लो चुनावकै नियति दोहोरियो उनको भाग्यमा।

यो निर्वाचनमा पराजय भोग्ने देउवाका अर्का विश्वासपात्र हुन् बालकृष्ण खाण। गृहमन्त्रीसमेत रहेका खाण १४ औं महाधिवेशनमा महामन्त्री बन्न चाहन्थे। तर, गुट र उम्मेदवारी मिलाउनुपर्ने भएकाले खाणलाई देउवाले थम्थमाए र केन्द्रीय सदस्यमै चित्त बुझाए उनले।

महाधिवेशनपछि भने असन्तुष्ट खाणले सिंहदरबारमा आफ्नो छुट्टै सरकार चलाएको आरोपसमेत चलेको थियो। गृहमन्त्री भएपछि रजगज चल्ने नै भयो। खाण कुनै पनि कसर बाँकी नराखी जित्ने सूचीमा परेका थिए। तर परिणाम उनको पक्षमा आएन। एमालेको साथ पाएको दीपक बोहोराले उनलाई पराजित गरिदिए। रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहरा विजयी भएसँगै कांग्रेस नेता खाणको संसद् यात्रा टुंगिएको हो।

खाणलाई बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३६ हजार ६४८ मत ल्याएर विजयी हुँदा गृहमन्त्री खाणले ३४ हजार ६ मत मात्र पाएका छन्।

यसैगरि, यो निर्वाचनमा देउवा क्याबिनेटका डा विश्व पौडेल पनि पराजित बने। देउवाका आर्थिक सल्लाहकारसमेत रहेका पौडेल भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भए। उक्त क्षेत्रबाट ढकाल निर्वाचित हुँदा पौडेल भने तेस्रो बने।

ढकाल ३४ हजार एक सय ८९ मत प्राप्त गरेर निर्वाचित हुँदा पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे। नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे।

यो निर्वाचनमा पराजित हुने देउवाका अर्का विश्वासपात्र हुन् राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठ। चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका उनी रास्वपाका अध्यक्ष रवि लामिछानेसँग पराजित बने।

लामिछानेले ४९ हजार दुई सय ६१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी बनेका श्रेष्ठले १४ हजार ९८३ मतमात्र प्राप्त गरे। सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरे।

यसैगरि सहमहामन्त्री भिष्मराज आङ्देम्बे पनि पराजित भएका छन्। १४ औं महाधिवेशनअघि देउवाले आङ्देम्बेलाई अनुशासन आयोगको संयोजक बनाएका थिए। त्यसपछि सहमहामन्त्रीमा निर्वाचित भएका उनी एमालेका वसन्त नेम्वाङसँग ४७ मतको अन्तरले पराजित भए। नेम्वाङले ३२ हजार ११० मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ६३ मत पाए।

यसैगरि, अर्का सहमहामन्त्री महालक्ष्मी उपाध्याय  (डिना) मकवानपुरबाट पराजित भइन्। २०४८ देखि चुनावमा होमिँदै आएकी डिनालाई यसपटक देउवाले टिकट दिनुअघि ‘हारे भने मुख नदेखाउनु’ समेत भनेका थिए। उनै डिना राप्रपाका दिपकबहादुर सिंहसँग पराजित भइन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिह्न लिएर चुनावमा उत्रिएपछि डिनालाई थप सहज हुने अनुमान गरिएको थियो। तर, थापा प्रतिस्पर्धामा दोस्रो बने, डिना तेस्रो। 

गठबन्धन हुँदा पनि निर्वाचित हुन नसक्ने कांग्रेस उम्मेदवारहरु ३१ भन्दा धेरै पुग्ने देखिन्छ। संसदीय दलको सचेतक बनेर पछि उपसभामुखसमेत बनेकी पुष्पा भुसालले पनि अर्घाखाँचीबाट जित निकाल्न सकिनन्। भुसाललाई एमालेका टोपबहादुर रायमाझीले पराजित गरेका हुन्। रायमाझीले ४२ हजार ६७५ मत पाउँदा भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन्।

पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, राप्रपाबाट आएर सहमहामन्त्री बनेका सुनिलबहादुर थापा पनि यस निर्वाचनमा पराजित बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell