PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रत्यक्षतर्फ वाग्मती प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले तेस्रो, समानुपातिकमा कुन दल अघि?   



निशा गुरुङ

प्रत्यक्षतर्फ वाग्मती प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले तेस्रो, समानुपातिकमा कुन दल अघि?   

हेटौंडा : वाग्मती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रदेशसभा तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये ६४ वटाको मत गणना कार्य सम्पन्न भइसकेको छ। प्रदेशमा प्रत्यक्ष तर्फको ६६ निर्वाचन क्षेत्र मध्ये दोलखाको २ क्षेत्रको मतगणना कार्य सुरु हुन सकेको छैन। अन्य जिल्लाको भने मत परिणाम सार्वजनिक भइसकेको छ।

हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार वाग्मती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ। कांग्रेसले २४ सिट जित्दा नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो स्थानमा रहेको छ। नेकपा एमालेले १२ सिटमा जित हात पारेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले १-१ सिट जितेको छ।

२०७४ सालको निर्वाचनमा वाग्मती प्रदेशमा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको थियो। प्रत्यक्षतर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिकसहित ५९ सांसदसहित स्पष्ट बहुमतमा रहेको थियो। तत्कालीन समयमा वाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो। सो निर्वाचनमा कांग्रेसले काठमाडौंको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमा मात्र जित्न सकेको थियो। यो पटक भने एमाले खुम्चिएको छ।

गत निर्वाचनमा एमालेले प्रत्यक्ष तर्फ १२ सिट मात्र जितेको थियो। २०७४ मा बाम गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रले १५ स्थानमा जितेको थियो। यस निर्वाचनमा भने माओवादी केन्द्रले १४ वटा क्षेत्रमा जित निकालेको छ। हाम्रो नेपाली पार्टीले वाग्मती प्रदेशसभामा पहिलोपटक प्रवेश पाउने भएको छ भने राप्रपाबाट पनि पहिलोपटक प्रत्यक्ष निर्वाचित सांसद प्रदेशसभा जाने भएका छन्।

राप्रपाले यस पटक प्रत्यक्षमा मात्र सात मात्र सिट जितेको छ। अघिल्लो पटक वागमती प्रदेशसभामा राप्रपाबाट दुईजना समानुपातिक सांसद मात्रै रहेको थियो।

यता, समानुपातिक मतगणना जारी रहेको छ। हालसम्मको मतगणना अनुसार नेकपा एमाले ४ लाख ७४ हजार ५४४ मत सहित पहिलो स्थानमा छ भने कांग्रेस ४ लाख ४ हजार १०६ मत सहित दोस्रो स्थानमा छ। राप्रपाले २ लाख ५२ हजार ८२७ मत, माओवादी केन्द्रले २ लाख २८ हजार ९२३ मत, नेपाल मजदुर किसान पार्टीले ६४ हजार ९३८ मत, नेकपा एकीकृत समाजवादीले ४८ हजार ३८ मत र हाम्रो नेपाल पार्टीले ४५ हजार २५० मत पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell