PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

उजाड भित्ताको मुहार फेर्ने परिकल्पना, क्यानभासमा समानता खोज्दैछन् कलाकारहरु

उजाड भित्ताको मुहार फेर्ने परिकल्पना, क्यानभासमा समानता खोज्दैछन् कलाकारहरु

लक्ष्मी बलायर/पहिलोपोस्ट


काठमाडौं : बगैंचाभरि राखिएका थिए ठूला क्यानभास। क्यानभास नजिकै राखिएका थरिथरि रंगहरु। विभिन्न रंगहरुसँग खेल्दै कलाकारहरु चित्र बनाउन व्यस्त थिए। दृश्य हो ललिलपुर महानगरपालिका परिसरभित्रको। जहाँ आज ‘भित्ते कला परियोजना २०७९’ को लाइभ आर्ट शो आयोजना गरिएको थियो।

कला परियोजना अन्तर्गत 'सर्टलिस्ट' मा परेका १० कलाकारहरु 'लाइभ आर्ट' गरिरहेका थिए। उनीहरुले बनाएको चित्र ‘सामाजिक समावेशिकरण र समानता’ विषयमा केन्द्रित थियो। ती १० कलाकारहरुमध्येकी एक हुन् कोमल पुर्वे। ‘भित्ते कला परियोजना’ मा सहभागी हुनको लागि कोमल जनकपुरबाट आएकी हुन्।

उनले क्यानभासमा कोरिरहेको चित्रमा महिलाका विभिन्न आकृतिहरु देखिन्थे। महिलाका अनुहारमा थरिथरि अभिव्यक्ति झल्किन्थे। कोही हाँस्दै त कोही रुँदै। उनले बनाएको त्यो 'कलरफुल पेन्टिङ'ले मिथिलाको कला भन्दै थियो।

जातजाति, धर्म, वर्ग र रंग फरक भएता पनि सबै मानिसहरुको भावना एउटै हुन्छ भन्ने 'थिम'मा चित्र कोरेको बताउँछिन् कोमल। ‘कोहि पनि मानिस सानो ठूलो हुँदैन। हामी सबैका लागि आकाश, धर्ती र पानी एउटै छ। दु:ख, सुख, रिस, डर र गर्व गर्ने स्वभाव सबै मानिसभित्र हुन्छ। अभिव्यक्ति समान हुन्छ भने मनमा असमानताको भावना कहाँबाट आयो? त्यसैले हामीले जातजाति धर्म र रंगको आधारमा भेदभाव गर्नुहुँदैन।’ उनले भनिन्।

कोमलले पेन्टिङ गर्न थालेको १६ वर्ष भयो। भारतमा जन्मेकी कोमललाई सानैदेखि चित्र बनाउन रुचि थियो। उनी विद्यालयमा समेत चित्रकलामा सहभागी हुन्थिइन्। नेपाली युवासँग बिहे गरेर कोमल जनकपुर आइन्। बिहेपछि पनि पढ्न चाहन्थिइन् कोमल। तर, विभिन्न कारणबस उनले पढाईलाई निरन्तरता दिन सकिनन्।

पढाईको ढोका बन्द भएपछि कोमलले आफ्नो बाल्यकालको सपनाबारे सोचिन। भन्छिन्, ‘पढ्ने सपना पूरा नभएपछि मैले पेन्टिङबारे सोचेँ। एउटा सपना पुरा नभए पनि अर्को सपना पुरा गर्नुपर्छ भन्ने सोचले आर्टमा आएकी हुँ। जसले मलाई खुसी र आनन्द पनि मिलेको छ।’

आफूमा रहेको भावनालाई पेन्टिङमार्फत प्रस्तुत गर्ने समेत कोमल सुनाउँछिन्। ३५ वर्षीय कोमललाई पेन्टिङ प्रतिस्पर्धामा सहभागी हुँदा परिणामबारे मतलब हुँदैन। कलाकारले चित्र बनाउँदा पैसा केन्द्रित हुने हुँदा काम राम्रो नहुने उनको भनाई छ।

‘पेन्टिङ बनाउँदा रिजल्टप्रति मतलब हुँदैन। कसरी शतप्रतिशत काम दिन सकुँ भन्ने मात्र लाग्छ। किनकी मलाई कला महत्त्वपुर्ण लाग्छ। पैसा सोच्दा काम राम्रो हुँदैन। पेन्टिङबाट कुनै कसैलाई प्रभाव गर्न सक्नु नै ठूलो उपलब्धि हो,’ उनले भनिन्।

यही परियोजनामा छानिएर कलाकार खेमबहादुर पाल्पाली पनि सिन्धुलीबाट आएका छन्। उनले खुट्टाको चित्र बनाइरहेका थिएँ। जहाँ सबै खुट्टामा जुत्ता थियो भने एउटामा भने चप्पल। आफूले चित्रमार्फत वर्गिय विभेदको मुद्दा उठान गरेको बताउँछन् उनी।

उनले भने, ‘वर्ग विभेद समाजमा अझै पनि छ। जसले समावेशीकरण हुन सकिरहेको छैन। जुत्ता लगाउनेहरु सबै मिलेर चप्पल लगाउनेलाई माथि उठाउनुपर्छ भन्ने मेरो आर्टको थिम हो।’

मनिषा शाहलाई पनि क्यानभासमा पेन्टिङ गर्न चटारो थियो। विशेषगरि मनिषालाई महिला हिंसालाई चित्रमार्फत प्रस्तुत गर्न मन पर्छ। त्यसैले त उनको पेन्टिङले महिलाको विषयलाई नै समेटेको छ। उनको पेन्टिङ मोर्डन मिथिला कलामा पर्छ।

‘रंगको आधारमा जुन विभेद हुन्छ त्यसको विरुद्धमा मेरो आर्ट हो। समान काम गर्ने भएता पनि समाजमा महिलाको रंगमाथि विभेद हुन्छ। पुरुष मात्र नभएर महिला पनि महिलाको खुट्टा तान्ने प्रवृति छ। महिलाहरु एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश हो।’

बाल्यकालदेखि नै चित्र कोर्न मन पराउने मनिषाले ललिलकला क्याम्पसबाट ‘फाइन आर्टस’ मा स्नातक गरिसकेकी छिन्। ललितकलाले मिथिलाको चित्रकलालाई कोर्समै समेत नराखेको उनले गुनासो पोखिन्।

सुचिन श्रेष्ठले बनाइरहेको पेन्टिङमा सूर्यचन्द्रलाई नेपालको बिम्बको रुपमा प्रयोग गरिएको थियो। त्यसमाथि लहरै गुरुङ, थारु, नेवार, राई र बाहुन/क्षेत्रीको भेषभुषा झल्किने पोशाकहरु बनाइएको थियो। पेन्टिङमार्फत साँस्कृतिक विविधतालाई एउटै फ्रेममा समावेश गर्न खोजेको सुचिन सुनाउँछन्।

‘नेपाल साँस्कृतिक विविधताले भरिपुर्ण छ। नेपालमा विभिन्न संस्कृतिका मानिसहरु बस्छन्। चित्रमार्फत सबै संस्कृतिका मानिसहरुलाई एउटै फ्रेममा राखेर समानताको सन्देश दिन खोजेको छुँ,’ उनले सुनाए।

सामाजिक परिवर्तनका लागि प्रेरित गर्न तथा समावेशीकरण र समानताका प्रमुख मुद्दामा महत्त्वपूर्ण सार्वजनिक संवाद स्थापना गर्न भित्ते चित्रकला उत्सव आयोजना गरेको आर्टुडियोका संस्थापक, कलाकार तथा परियोजना क्युरेटर कैलाश के श्रेष्ठ बताउँछन्। शहरका सार्वजनिक खाली भित्तामा सिर्जनात्मक चित्र बनाउने र उजाड भित्ताको मुहार पनि फेर्ने गर्ने गरि कार्यक्रमको परिकल्पना गरिएको उनको भनाई छ।



ट्रेन्डिङ पोस्ट

Ncell