PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनी प्रदेश सभाः गठबन्धनको बलमा कांग्रेसको कमब्याक, पहिलो दल बनेर पनि खुम्चियो एमाले



रमेश पराजुली

लुम्बिनी प्रदेश सभाः गठबन्धनको बलमा कांग्रेसको कमब्याक, पहिलो दल बनेर पनि खुम्चियो एमाले

बुटवलः प्रदेश सभातर्फ प्रत्यक्षमा ५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा १९ जना सांसद दोहोरिएका छन्। २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएकामध्ये १९ जना मंसिर ४ मा सम्पन्न निर्वाचनमा पुनः विजयी हुँदै दोस्रो कार्यकालका लागि दोहोरिएका हुन्।

लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) का ९ जना, नेपाली कांग्रेसका ५ जना, माओवादी केन्द्रका ४ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ जना नेता दोस्रो कार्यकालका लागि चुनिएका छन्।

लुम्बिनीमा प्रत्यक्षतर्फ १८ सिट जितेर पहिलो दल बनेको एमालेमा आधा सांसद पुराना छन्। एमालेबाट दोहोरिनेमा रुपन्देही २(क) बाट लीला गिरी, रुपन्देही २(ख) बाट भोजप्रसाद श्रेष्ठ, रुपन्देही ३(ख) बाट तुलसीप्रसाद चौधरी, रुपन्देही ५(क) बाट भूमिश्वर ढकाल, गुल्मी २(ख) बाट दिनेश पन्थी रहेका छन्।

यस्तै कपिलवस्तु १(क) बाट विष्णु पन्थी, कपिलवस्तु २(क) बाट अर्जुनकुमार केसी, अर्घाखाँची १(क) बाट चेतनारायण आचार्य र अर्घाखाँची १(ख) बाट रामजीप्रसाद घिमिरे रहेका छन्।

यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा प्रत्यक्ष र समानुपातिकबाट प्रदेश सभा सदस्य भएकामध्ये ९ जना यसपटक चुनावी मैदानमा थिए। जसमध्ये ५ जना दोस्रो कार्यकालका लागि दोहोरीएका छन्। रुपन्देही ४(ख) बाट वसिउद्दिन खाँ, दाङ २(ख) बाट डिल्लीबहादुर चौधरी, बर्दिया १(क) बाट भुवनेश्वर चौधरी, पाल्पा २(क) बाट वीरबहादुर राना, नवलपरासी २(ख) बाट बैजनाथ कलवार जैसवाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

माओवादीबाट २०७४ सालमा प्रदेश सभा सदस्य भएकामध्ये ४ जना यो पटक दोहोरिएका छन्। दाङ १(क) बाट इन्द्रजित थारु, बाँके १(क) बाट कृष्णा केसी, पाल्पा २(ख) तुलाराम घर्ती यो पटक पनि निर्वाचित भएका हुन्। यस्तै, रुपन्देही ३(क) बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डेय पनि दोस्रो कार्यकालका लागि प्रदेश सभामा दोहोरिएका छन्।

लुम्बिनीका कूल ५२ मध्ये एमालेले १८ सिट जितेर पहिलो दल बनेको छ। २०७४ को निर्वाचनमा २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। यता, ०७४ मा ७ सिट मात्रै जितेको कांग्रेसले सत्ता गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बन्न सफल भएको छ।

त्यस्तै २०७४ मा १४ सिटमा जित निकालेको माओवादी केन्द्रले अहिले ५ सिट मात्र जितेको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ । माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका ३ जना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell