PahiloPost

Jul 3, 2024 | २० असार २०८१

महोत्तरीमा अधिकांश पुरानै अनुहारलाई जनताले गरे अनुमोदन



रासस

महोत्तरीमा अधिकांश पुरानै अनुहारलाई जनताले गरे अनुमोदन

महोत्तरी : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरीमा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले यस्तो देखाएको हो। चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य गरी जिल्लामा १२ पदका लागि भएको निर्वाचनमा ९ जना यसअघिकै दोहोरिएका छन्।

महोत्तरी ३ प्रतिनिधिसभामा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, महोत्तरी २ बाट लोसपाकै वरिष्ठ नेता शरतसिंह भण्डारी निर्वाचित भएका छन्। उनीहरु दुवै यसअघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यसैगरी, जिल्लाका आठ प्रदेशसभा क्षेत्रमध्ये सातवटामा यसअघिकै प्रदेशसभा सदस्य यसपालि दोहोरिएर निर्वाचित भएका छन्। यसमा महोत्तरी १(१) र (२) बाट क्रमशः नेकपा (एमाले) नेतृ शारदा थापा र नेकपा (माओवादी केन्द्र)का भरत प्रसाद साह छन्। यसरी नै महोत्तरी २ (१) र (२) बाट जयनुल राइन र सुरिता साह निर्वाचित भएका छन्। उनीहरु दुईमध्ये राइन लोसपाबाट र साह यसपालि लोसपाबाट अवसर नपाएपछि स्वतन्त्र हैसियतमा प्रतिस्पर्धा गरेर विजयी बनेका हुन्।

जिल्लाको महोत्तरी ३ (१) र (२) बाट पनि प्रदेशसभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी बनेका छन्। उनीहरु दुवै सोही क्षेत्रबाट यसअघि प्रदेशसभा सदस्य थिए। यसरी नै महोत्तरी ४ (२) का निर्वाचित प्रदेशसभा सदस्य सरोजसिंह कुशवाहा पनि यसअघि सोही क्षेत्रबाट निर्वाचित थिए।

महोत्तरी १ बाट भने प्रतिनिधिसभामा एमाले नेता लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्। त्यस्तै, महोत्तरी ४ बाट कांग्रेस नेता महेन्द्र कुमार राय निर्वाचित भएका छन्। प्रदेशसभातर्फ महोत्तरी ४ (१) बाट निर्वाचित एमाले केन्द्रीय सदस्य सरोजकुमार यादव भने प्रदेशसभामा नयाँ अनुहार हुन्। विसं २०७४ मा महोत्तरी ४ (२) प्रदेशसभा क्षेत्रमा पराजित भएका यादव यसपालि क्षेत्र परिवर्तन गरेर महोत्तरी ४(१) बाट निर्वाचित भएका हुन्।

महोत्तरी १ र महोत्तरी ४ बाट क्रमशः गिरिराजमणि पोखरेल र डा सुरेन्द्र कुमार यादव र प्रदेशसभातर्फ महोत्तरी ४ (१) बाट कौशलकुमार रायले निर्वाचनमा पराजित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell