
काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२०) को आज पाँचौ दिन। आज दुई नाटकका साथै नृत्यनाटिका र अडियो नाटक प्रस्तुत हुँदैछन्।
निटफेस्टमा मंगलबार बिहान १० बजे महोत्सवले सहकार्य गरेको कुञ्ज थिएटरमा अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’बारे जुम कक्षा हुनेछ। ‘ट्रि कन्फेसन’ मा हामीले बिर्सिसकेको मानव र बोटविरुवाबीचको अन्तरसम्बन्धित पारिस्थितिक प्रणाली बारेको कथा एउटा रुखले बताउँछ। दर्शक- स्रोताहरुले रुखको मुनि बसेर रुखको स्वीकारोक्ति सुन्न पाउनेछन्। यस अडियो नाटकलाई जेनी दिन बडरले लेखेका हुने भने एरिन बी मिले निर्देशन गरेका हुन्।
त्यस्तै, आज उरुग्वेको एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित नाटक ‘रियो’ दिउँसो १२ र ४ बजे मञ्चन हुँदैछ। यो थिएट्रिकल क्लाउन पर्फमेन्समा खडेरीले पिरोलेको ठूलो क्षेत्र नजिक रहेको शहरको कथा भन्छ।
चौथोदिन मञ्चन भएको नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को साँझ ६ बजे पुनः मञ्चन हुँदैछ। केदारनाथ पौडेलले लेखन तथा निर्देशन रहेको यस प्रस्तुतिले हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरुसँगै आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे स–साना विवरणहरु याद गर्ने प्रयास गराउनेछ।
पाँचौ दिनको अन्तिम प्रस्तुति स्वरुप साँझ ७ बजे ‘पाइतालाका यात्रा’ शीर्षकमा नृत्यनाटिका हुँदैछ। नम्रता केसीको कोरियोग्राफीमा विभिन्न थिममा नृत्यहरु प्रस्तुत हुनेछन्।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रसिया, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्।