PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

समूह 'ए' र 'बी' का चार खेल आज, कुनकुन चार टिम पुग्दैछन् नकआउट चरणमा?



पहिलोपोस्ट

समूह 'ए' र 'बी' का चार खेल आज, कुनकुन चार टिम पुग्दैछन् नकआउट चरणमा?
Photo: Skysports

फिफा विश्वकपमा आज समूह 'ए' र 'बी' का अन्तिम चारवटा खेल हुँदैछन्।

आज बेलुकी पौने ९ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुने खेलमा इक्वेडर र सेनेगल आमनेसामने हुँदैछन्। यी दुबै टोली नकआउट चरणमा पुग्ने होडमा छन्। उद्घाटन खेलमा कतारमाथि २-० गोलको जित निकालेको इक्वेडर दोस्रो खेलमा नेदरल्याण्ड्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो। त्यस्तै, नेदरल्याण्ड्ससँग २-० ले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको सेनेगलले दोस्रो खेलमा आयोजक कतारमाथि ३-१ गोलको जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।

आजै पौने ९ बजे नै अल बायेत स्टेडियममा हुने खेलमा नेदरल्याण्ड्स र कतार आमनेसामने हुँदैछन्। आफ्नो पहिलो खेलमा सेनेगलमाथि २-० गोलको जित निकालेको नेदरल्याण्ड्सले दोस्रो खेलमा इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको थियो। अर्कोतर्फ लगातार दुई खेलमा हार ब्यहोरेको कतार नकआउट चरणको होडबाट बाहिरिसकेको छ। कतारले पहिलो खेलमा इक्वेडरसँग २-० र दोस्रो खेलमा सेनेगलसँग ३-१ गोलको पराजय ब्यहोरेको थियो।

समूह 'ए' मा नेदरल्याण्ड्स, इक्वेडर र सेनेगल नकाउट चरणमा पुग्ने होडमा छन्। शीर्ष दुईमा रहेका नेदरल्याण्ड्स र इक्वेडरको समान ४ अंक छ भने तेस्रो स्थानमा रहेको सेनेगलको ३ अंक छ। अंकविहीन कतार तालिकाको पुछारमा छ।

समूह 'बी' अन्तर्गतका समूह चरणका अन्तिम दुई खेल पनि भरे राति नै हुनेछन्। अल थुममा स्टेडियममा हुने खेलमा अमेरिका र इरान पौने १ बजे आमनेसामने हुनेछन्। अमेरिकाले यसअघिका खेलमा वेल्ससँग १-१ गोलको बराबरी र इङ्ग्ल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै २ अंक जोडेको छ। अर्कोतर्फ इङ्ग्ल्याण्डसँग ६-२ गोलको हार ब्यहोरेर प्रतियोगिताको सुरुवात गरेको इरानले दोस्रो खेलमा सानदार पुनरागमन गर्दै वेल्समाथि २-० गोलको जित निकालेको थियो।

समूह 'बी' अन्तर्गत नै पौने १ बजे हुने अर्को खेलमा इङ्ग्ल्याण्ड र वेल्स अहमेद बिन अली स्टेडियममा आमनेसामने हुनेछन्। इरानलाई ६-२ गोलको फराकिलो अन्तरले हराएको प्रतियोगिताको सुरुवात गरेको इङ्ग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो। अर्कोतर्फ अमेरिकासँग १-१ गोलको बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको वेल्स दोस्रो खेलमा इरानसँग २-० गोलले स्तब्ध भएको थियो।

समूह 'बी' मा चारवटै टोलीको नकआउट चरण पुग्ने सम्भावना जीवित छ। अंकतालिकामा ४ अंक जोडेको इङ्ग्ल्याण्ड शीर्षस्थानमा रहँदा ३ अंक जोडेको इरान दोस्रो, २ अंक जोडेको अमेरिका तेस्रो र १ अंक जोडेको वेल्स तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell