PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कुलमानको महत्वाकांक्षी योजना कछुवा गतिमा, तार भूमिगत गर्न के के छन् बाधा?



दिनेश खड्का

कुलमानको महत्वाकांक्षी योजना कछुवा गतिमा, तार भूमिगत गर्न के के छन् बाधा?
File Photo

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ। यो परियोजना प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वाकांक्षी योजनाभित्र पर्छ।

हाल उपत्यकामा मुख्य-मुख्य स्थानमा ३ वर्षभित्र अण्डरग्राउण्ड केबलिङ गरिसक्ने भन्दै चारवटा ठेक्कामार्फत काम भइरहेको छ। तर, कुनै पनि ठेक्काको काम सन्तोषजनक छैन।

रत्नपार्क वितरण केन्द्र अन्तर्गत ६०५ किमी अण्डरग्राउण्ड केबलिङ गर्न लागिएको छ। जसमा ११ केभी क्षमताका २१७ किमि र ४०० भोल्ट क्षमताको ३८८ किमि अण्डरग्राउण्ड गरिनेछ।

यतिबेला लाइन चार्ज भइसक्नुपर्ने आयोजनाको जम्मा ६० प्रतिशत मात्रै काम सकिएको छ। साढे दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको थियो।

समयमा काम नसकिने भएपछि ९ महिना समय थपिएको थियो। उक्त अवधि सकिन करिब दुई महिना बाँकी छ। तर थपिएको समयमा पनि नसकिने भएपछि पुन: दुई महिना समय थप्ने तयारी भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तारा प्रधानले बताए।

महाराजगंज वितरण केन्द्र मातहत ६०० किमी तार अण्डरग्राउण्ड गर्न लागिएको छ। ११ केभी २०० किमी र ४०० भोल्ट ४०० किमी गर्न लागिएको छ। जसको करिब ७० प्रतिशत काम सकिएको प्रधानले बताए। यो खण्डको पनि काम अपेक्षा गरिएको जस्तो छैन। 

प्रधानका अनुसार चक्रपथ दोस्रो खण्ड (कलंकी-महाराजगंज) को सडक विस्तार हुने भए पनि काम हुन सकेको छैन। चिनियाँ कम्पनीहरुले गरिदिने भने पनि त्यसको प्रक्रिया अघि बढेको छैन। सोही कारण यो खण्डमा काम गर्न सकिएको छैन। 'हामी सडक विभागसँग छलफल गर्दैछौ। उहाँहरुको पनि ढल राख्ने, अरु कामहरु बाँकी नै छ। उहाँहरुले कसो भन्नुहुन्छ त्यसपछि अघि बढ्छौं,' प्रधानले भने।

कीर्तिपुर, कुलेश्वर, बानेश्वर लगायतका स्थानमा अण्डरग्राउण्ड केबलिङको लाग अर्को ठेक्का लगाइएको छ। जसको काम सुरु भएको छ। बानेश्वरमा काम भइरहेको प्रधानले बताए। त्यसै गरि कलंकीदेखि नागढुंगासम्म अण्डरग्राउण्डका लागि प्राधिकरणले सडक विभागसँग अनुमति मागेको छ। अनुमति नभइ काम अघि बढाउन नसकिने प्रधानले बताए।

ललितपुर र भक्तपुरका विभिन्न स्थानमा पनि बिजुलीको तार अण्डरग्राउण्ड गर्न ठेक्का लागेको छ। थिमिबाट भक्तपुरमा सो काम काम सुरु भएको प्रधानले बताए। सडक विभागले अनुमति दिन ढिला गरेका कारण काम सुस्त भएको आयोजनाका इन्जिनियरहरुको भनाइ छ। विभागले एकैपटक सबै ठाउँको अनुमति दिँदा सडक भत्केर सवारी आवतजावतमा समस्या हुने भन्दै खण्ड-खण्ड गरे खन्ने अनुमति दिने गरेको छ।

काठमाडौं उपत्यकामा मात्र होइन चितवन र पोखराको तार अण्डरग्राउण्डको लागि निकालेको ठेक्कामा समेत कामको गति सुस्त छ। साढे दुई वर्षमा सक्ने गरी निकालिएको ठेक्काको एक वर्ष समय व्यतीत भइसकेको छ। अहिले जिम्मा पाएको कम्पनीले सामान ल्याउन लागेको बताइएको छ। चारवटै ठेक्का भारतीय कम्पनीले पाएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अण्डरग्राउण्डको काम सुस्त रहेको स्वीकार्दै अब 'एग्रेसिभ' रुपमा काम गर्ने गरि अघि बढ्न लागेको बताउँछन्। 'अब व्यापक लाग्ने हो। स्ट्रङ मनिटरिङ चाहिन्छ,' उनले भने, 'सडक विभागले अनुमति दिइरहेको छैन। स्वीकृति पाउने क्रममा छौं। चुनाव सकियो, अब काम गर्ने हो।'

घिसिङले अण्डरग्राउण्ड केबलिङको कामलाई प्राथमिकतामा राखेर अघि बढ्न लागेको दाबी गरे। मुख्य सडकहरुमा काम भइरहेको भए पनि भित्री गल्लीहरुमा राख्न नसकिने घिसिङले बताए। उनका अनुसार मुख्य सडकबाट गल्लीहरुमा सप्लाई दिने व्यवस्था मिलाइनेछ। त्यसैगरि, अहिले फुटपाथ ढाक्नेगरी राखिएको बक्सहरु समेत डिजाइन परिवर्तन गरेर हटाउन लागिएको उनले बताए। विभिन्न स्थानमा फुटपाथ नै मासिने गरि बक्सहरु राखिएको छ।

उनले सबै काम सकेर अन्तिममा मात्रै सडकका पोलहरु हटाउने बताए। 'अण्डरग्राउण्ड मात्र गरेर भएन। घर-घरमा कनेक्सन पनि दिनुपर्छ। त्यही भएर लाइन चार्ज गरेर ओके भएपछि मात्रै माथिको हटाउनुपर्छ। माथिको पोल, तार अहिले नै हटाएर कसरी सप्लाइ दिने त! बत्ती त बाल्नु नै पर्‍यो नि। सेक्सन-सेक्सन गरि हटाउदै जान्छौं,' उनले भने।

सेवा प्रदायकसँग छलफल गर्दै प्राधिकरण

टेलिफोन, इन्टरनेट, केबल टेलिभिजन लगायतका कम्पनीहरुले धेरै ठाउँ विद्युत प्राधिकरणको पूर्वाधार प्रयोग गरेका छन्। गुजमुज्ज तार देखिने समस्याको एक्लो कारक विद्युत प्राधिकरण मात्रै होइन।

आफ्ना तार भूमिगत गर्न सुरु गरेपछि पूर्वाधारको सह-प्रयोग गर्ने कम्पनीहरुसँग प्राधिकरणले छलफल गर्ने भएको छ। 'डक्ट हालिदिएका छौं। उनीहरुलाई ओपन गर्छौ। कोअर्डिसेन मिटिङ राखेर अघि बढ्छौं,' घिसिङले भने, '१४४ कोरको फाइबर राखिएको छ। सबैलाई पुग्छ।'

छिट्टै नै छलफल गर्न लागिएको उनले बताए। पोल हटाउनुपूर्व नै सेवाप्रदायकहरुको तार भुमिगत गरिसक्नुपर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell