1.jpg)
काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। २०७४ सालमा प्रदेशसभा सदस्य बनेका केही नेताहरुले मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभाको यात्रा तय गरेका छन्।
एक जना बहालवाला मुख्यमन्त्री र तीन पूर्व मुख्यमन्त्रीहरुले संघीय संसदको यात्रा तय गरेका हुन्। दुई पूर्व मुख्यमन्त्री भने पराजित भएका छन्।
प्रतिनिधि सभाको यात्रामा को को?
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य निर्वाचित भएका उनी वाग्मतीको तेस्रो मुख्यमन्त्री हुन्। पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट ३६ हजार १८ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
यस्तै, २०७४ सालको निर्वाचनमा सुनसरी १(ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भीमप्रसाद आचार्य पनि यस पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेश नं १ को मुख्यमन्त्रीसमेत भइसकेका उनी सुनसरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। उनी ३२ हजार २४ मत ल्याएर निर्वाचित भएका हुन्।
२०७४ को निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए महेन्द्रबहादुर शाही। उनी कालिकोटबाट २३ हजार ७२७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुन्।
गत निर्वाचनमा लमजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएर गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए पृथ्वीसुब्बा गुरुङ। यस पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनी ३४ हजार ९८५ मत ल्याएर लमजुङबाट निर्वाचित भएका हुन्।
यस्तै, २०७४ सालको संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठ यस पटकको निर्वाचनमा काठमाडौँ ८ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका श्रेष्ठ यस पटक स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका हुन्।
त्यसैगरि, सल्यानको प्रदेश सभा सदस्यमा निर्वाचित भएका प्रकाश ज्वाला यस पटक नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार भई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन्। गत निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्रीसमेत बनेका थिए।
२०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५(२) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन्। यस्तै, २०७४ सालको निर्वाचनमा सिन्धुलीबाट वाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएका लेखनाथ दाहाल सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
जो प्रतिनिधि सभामा हारे
नेकपा (एमाले) का महासचिव शंकर पोखरेल निर्वाचनमा पराजित भए। २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्य बनेर लम्बिनीका मुख्यमन्त्री बनेका उनी यसपटक दाङ-२ बाट पराजित बने। माओवादीकी रेखा शर्माले पूर्व मुख्यमन्त्री पोखरेललाई पराजित गरेकी हुन्।
यस्तै, २०७४ सालमा भोजपुर निर्वाचन क्षेत्र नं १(२) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए एमालेकै शेरधन राई। प्रदेश नं १ को पहिलो मुख्यमन्त्रीसमेत रहेका राई यस पटकको निर्वाचनमा पराजित बने। भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्।
२०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रदेश सभामा निर्वाचित सरेश नेपाल प्रतिनिधि सभामा पराजित भए। माओवादी केन्द्रका माधव सापकोटासँग नेपाल पराजित भएका छन्। नेपाल यसअघि वाग्मती प्रदेशको मन्त्रीसमेत भएका थिए।
यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभा सदस्य निर्वाचित मणिराम फुयालले काठमाडौँ २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) का तर्फबाट टिकट पाएका थिए। उनी पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएका छन्।