PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

गच्छदारको अविराम यात्रामा भगवतीले लगाइन् विराम, ३१ वर्षमा टुंगियो विजय यात्रा



पहिलोपोस्ट

गच्छदारको अविराम यात्रामा भगवतीले लगाइन् विराम, ३१ वर्षमा टुंगियो विजय यात्रा

काठमाडौंः ६ पटक लगातार सांसद भइसकेका विजयकुमार गच्छदारलाई पराजित गर्दै नेकपा (एमाले) की भगवती चौधरी विजयी भएकी छिन्। नेपाली कांग्रेसका उम्मदवार गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन्। गच्छदार र चौधरीको यो तेस्रो पटकको चुनावी भीडन्त हो। हारसँगै गच्छदारको २०४८ सालयता निरन्तर चुनावमा हुँदै आएको विजय यात्रा टुंगिएको छ। सातौँ पटकको संसदीय यात्रामा चौधरीले ब्रेक लगाइदिएकी हुन्।  

भगवतीले ४० हजार ७८८ मत पाउँदा गच्छदारले ३५ हजार मत पाए।

चौधरीले गच्छदारको ३१ वर्षको अविराम संसदीय राजनीतिको यात्रामा ब्रेक लगाएकी हुन्। २०४८ देखि गच्छदार सुनसरीबाट लगातार विजयी हुँदै आएका थिए। 

यसअघि २०७० र २०७४ मा गच्छदारले चौधरीलाई पराजित गरेको थिए। तेस्रो पटकको प्रतिस्पर्धामा यसअघिका हारको बदला चौधरीले लिएकी हुन्। 

गच्छदार विजय भएकामध्ये अधिकांश चुनाव नेपाली कांग्रेसबाटै लडेका छन्। दुई पटकको संविधान सभामा भने उनले कांग्रेसबाट अलग भएकार प्रतिस्पर्धामा सामेल भएका थिए। दुबै पटक उनी विजयी भएका थिए। सत्ता गठबन्धनको समेत साथ रहेका बेला संसदीय राजनीतिक यात्राको उत्तराद्र्धमा भने गच्छदार पराजित भएका हुन्। 

२०४८ यताका सबै निर्वाचनमा गच्छदार विजयी भएका थिए। २०४८, २०५१ को मध्यावधि, २०५६ को प्रतिनिधि सभामा गच्छदार कांग्रेसबाट विजयी भएका थिए। 

२०६४ को पहिलो संविधान सभामा मधेशी जनअधिकार फोरमबाट निर्वाचित गच्छदार २०७० मा उक्त पार्टी विभाजनपछि बनेको फोरम लोकतान्त्रिकबाट विजयी भए। 

२०७४ को चुनावअघि पुनः कांग्रेस प्रवेश गरेर चौधरीलाई नै हराएर संघीय सांसदमा निर्वाचित भएका थिए। २०७० र ०७४ मा गच्छदारले भगतवीलाई हराएका थिए। दुबै निर्वाचनका झिनो मतान्तरले गच्छदार विजयी भएका थिए। 

२०७४ मा सांसद निर्वाचित भए पनि ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा दायर गरेका कारण निलम्बनमा परे। योपटक जित हासिल गरेको भए पनि गच्छदारले संसद् भवन प्रवेश गर्ने अवस्थामा भने थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell