![समूह 'ए' बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरणमा, उद्घाटन खेल खेलेका इक्वेडर र कतार बाहिरिए](https://pahilopost.com/assets/upload/contentthumb/qt.jpg)
फिफा विश्वकप अन्तर्गत समूह 'ए'बाट नेदरल्याण्ड्स र सेनेगल नकआउट चरणमा पुगेका छन्। आज सम्पन्न खेलमा नेदरल्याण्ड्सले कतारलाई र सेनेगलले इक्वेडरलाई हराएसँगै नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको हो।
आज खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा सम्पन्न खेलमा सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। सेनेगलका लागि इसमइला सरले ४४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा इक्वेडरका मोइसेस काइसेडोले गोल गर्दै खेल बराबरीमा ल्याए। अर्कोतर्फ सेनेगलका कालीडोउ कोउलीबेलीले ७० औं मिनेटमा गोल थपे। र, सेनेगलले २-१ गोलले आफ्नो पक्षमा पार्न सफल भयो।
त्यस्तै आजै अल बायत स्टेडियममा नेदरल्याण्ड्सले आयोजक कतारमाथि २-० गोलको जित निकाल्यो। नेदरल्याण्ड्सको जितमा कोडे गाक्पोले २६ औं मिनेटमा र फ्रेन्की डी जोङले ४९ औं मिनेटमा गोल गरे।
योसँगै समूह चरणमा ७ अंक जोडेको नेदरल्याण्ड्स र ६ अंक जोडेको सेनेगल समूह विजेता र उपविजेता बन्दै नकआउट चरण प्रवेश गरे। त्यस्तै ४ अंक जोडेको इक्वेडर र तीनवटै खेलमा पराजय ब्यहोरेको आयोजक कतार समूह चरणबाटै बाहिरिएका हुन्।