PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

समानुपातिकमा करिब एक करोड मतगणनाः एमाले पहिलो हुँदा एकीकृत समाजवादी थ्रेसहोल्डमै संघर्षरत, कसको कति मत?



पहिलोपोस्ट

समानुपातिकमा करिब एक करोड मतगणनाः एमाले पहिलो हुँदा एकीकृत समाजवादी थ्रेसहोल्डमै संघर्षरत, कसको कति मत?

काठमाडौंः निर्वाचन आयोगले समानुपातिकतर्फ करिब एक करोड मतगणना सम्पन्न गरेको छ। मंगलबार राति ११ बजेसम्म ९९ लाख ८८ हजार ५८५ मत सदर भइसकेको छ। निर्वाचन आयोगले एक करोड ९ लाख मत समानुपातिकमा खसेको अनुमान गरेको छ। गणना भएको मतको बदर संख्या आयोगले सार्वजनिक गरेको छ। 

कूल सदर मतको तीन प्रतिशत प्राप्त गर्ने दलले निर्वाचन कानुन अनुसार थ्रेसहोल्ड कटाएको मानिने छ। यसरी थ्रेसहोल्ड कटाउने दलको मात्र सिट गणनामा जाने छ। थ्रेसहोल्ड नकटाए उक्त मत सम्बन्धित दलमा गणना हुँदैन। 

आयोगका अनुसार पहिलो स्थानमा रहेको एमालेले २६ लाख ९२ हजार ४५५ मत पाएको छ। यस्तै, कांग्रेसले २५ लाख ४६ हजार ५१२ मत पाएर दोस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ४३ हजार ४३२ मत पाएको छ। 

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले दश लाख ९८ हजार १४३ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार ५८७ मत पाएको छ। 

सातौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख ८८ हजार ३०५ मत पाएको छ। यस्तै, आठौँ स्थानमा रहेको जनमत पार्टीले तीन लाख ४६ हजार ८९५ मत पाएको छ। हालसम्मको गणना अनुसार सदर मतको तीन प्रतिशत कटाउने दल आठवटा मात्र भएका छन्। 

नवौँ स्थानमा रहेर नेकपा (एकीकृत समाजवादी) थ्रेसहोल्डका लागि संघर्षरत छ। कूल २ लाख ८१ हजार ३०३ मत समाजवादीले पाएको छ। हालकै अनुपातमा मत पाएमा एकीकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन कठिन देखिएको छ। 

समानुपातिक मत तालिकाको दशौँ स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ। नागरिक उन्मुक्तिले दुई लाख ४७ हजार ६९८ मत पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell