PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

मधेश प्रदेश सरकारका यी तीन मन्त्रीको मतदाताले खोजे विकल्प, चार मन्त्री पुनः निर्वाचित



पहिलोपोस्ट

मधेश प्रदेश सरकारका यी तीन मन्त्रीको मतदाताले खोजे विकल्प, चार मन्त्री पुनः निर्वाचित

जनकपुरधाम : मधेश प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेश प्रदेश सरकारका तीन मन्त्री पराजित भएका हुन्।

मुख्यमन्त्रीसहित चार जना मन्त्री भने पुनः निर्वाचित भएका छन्। मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय कुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन प्रसाद महतो पराजित भएका छन्।

सप्तरी क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका अर्थमन्त्री साह जनमत पार्टीका सतिश कुमार सिंहसँग पराजित भएका छन् भने सिरहाको क्षेत्र नम्बर २ (१) बाट चुनाव लडेका कृषिमन्त्री यादवलाई जनमत पार्टीकै सञ्जय कुमार यादवले पराजित गरे। यस्तै, उद्योगमन्त्री महतोलाई नेकपा (एमाले)का हरिनारायण महतोले पराजित गरेका छन्।

मधेश प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (२) बाट, कानुन न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद कुमार यादव सिरहा क्षेत्र नम्बर ३ (२) बाट र गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (२) बाट पुनः निर्वाचित भएका छन्।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती विजयी

धनुषाको दुई वटा क्षेत्रबाट नेकपा (एमाले)बाट महासेठ दम्पतीले विजयी विजय हासिल गरेका छन्। धनुषा क्षेत्र नम्बर ४ मा एमालेका सचिव रघुवीर महासेठ र क्षेत्र नम्बर ३ मा उनकी धर्मपत्नी तथा एमाले नेत्री जुलीकुमारी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। दुवै क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै महासेठ दम्पतीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्।

गत २०७४ सालको निर्वाचनमा महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए भने महतो समानुपातिक सूचीबाट सांसद भएकी थिइन्। आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार महासेठले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई एक सय २४ मतान्तरले पराजित गरेका छन्।

महासेठले ३२ हजार दुई सय ३६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, धनुषा क्षेत्र नम्बर ३ मा महतोले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। महतोले ३३ हजार तीन सय ८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी झाले २३ हजार छ सय ६८ मत प्राप्त गरे।

महासेठ दम्पतीको परिवारबाट अर्का आफन्त पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष जितेका छन्। जुली महतोका दाजु डा वीरेन्द महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन्। डा महतो जनता समाजवादी पार्टी (जसपा) बाट २४ हजार एक सय दुई मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्र प्रसाद साहले १६ हजार दुई सय ९४ मत प्राप्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell