PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मुकुलको घण्टी कनेक्सन : क्यान्सरसँगको संघर्ष, रास्कोटको अस्पताल हुँदै रवि लामिछानेको पार्टीसम्मको एउटा फरक कथा



सविन ढकाल

मुकुलको घण्टी कनेक्सन : क्यान्सरसँगको संघर्ष, रास्कोटको अस्पताल हुँदै रवि लामिछानेको पार्टीसम्मको एउटा फरक कथा

काठमाडौं : २०७४ साउनको अन्तिमतिर एमबीबीएस पढाइ पूरा भयो। पढाइ पछि के त? नयाँ सम्भावनाका बाटो खोज्दै थिए मुकुल ढकाल। अरुलाई झै उनलाई पनि विदेश गएर पढ्ने रहरले कुतकुत्याउन थाल्यो। मेडिकल डाटा साइन्स पढ्ने रहरको मुना पलायो। आइएलटीएससँगै पीएचडी प्रपोजलको तयारी जुट्न थाले। आफन्तहरु अमेरिकामा रहेकाले मुकुलको रोजाइ पनि त्यतैको थियो। अमेरिका पुग्नु मुकुलका लागि खासै अप्ठ्यारो खुड्किलो थिएन।

विदेश जाने प्रोसेसिङ चलिरहँदा उनले 'आस्क फाउन्डेसन'मा पनि काम गरिरहेका थिए। त्यत्तिकैमा फाउन्डेसनबाट मोतियाबिन्दुको उपचारका लागि जुम्ला पुगे। १३ जना चिकित्सक सहितको टोलीको नेतृत्व मुकुलले गरेका थिए। जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केही समयका लागि उनको मुकाम बन्यो। जन्मिएर हुर्किएको ठाउँभन्दा धेरै फरक ठाउँ थियो उनका लागि जुम्ला। पहिलो पटक त्यहाँ पुगेकाले विकट भौगोलिक अवस्था उनका लागि नौलो हुनु अस्वभाविक थिएन।

त्यसपछि मुकुलको स्वास्थ्य सेवाको यात्रा जुम्लाबाट कालीकोट सर्‍यो। कालिकोटको रास्कोटमा टेलिमेडिसिनमाथि काम गर्दै थिए। कर्णाली र त्यसमाथि कालिकोट - देशको दु:ख देख्‍न पर्याप्त बन्यो। भुगोल र स्वास्थ्य अवस्था कति सकसपूर्ण! पूर्वी नेपालको शहर विराटनगरमा जन्मिएर सुविधासम्पन्न काठमाडौंमा पढेलेखेका मुकुलका लागि कल्पनाभन्दा धेरै टाढाको थियो त्यो भुगोल जहाँ एउटा सिटामोल र डाक्टर भेट्न घण्टौंको यात्रा अनिवार्य थियो।

'म त्यहाँ पुगेपछि जीवनमा पहिलो चोटि डाक्टरसँग साक्षात्कार गर्ने मानिस पनि भेटेँ। त्यहाँ कुनै अस्पतालको परिकल्पना त धेरै टाढाको कुरा थियो,' मुकुलले सम्झिए उनले देखेको त्यही फरकपन।

२०७२ सालमा भूकम्पले देशभर मानवीय र भौतिक क्षति हुँदा उनी डाक्टरी पढ्दै थिए। त्यतिखेर कुनै आम्दानीको स्रोत थिएन। तर, साथीभाइसँग सहयोग जुटाएर नुवाकोटमा भत्किएका दुई विद्यालय निर्माण गरेरै छाडेका थिए। त्यही प्रयास कालिकोटमा किन नगर्ने? मुकुललाई कालिकोटको स्वास्थ्यको अवस्थाले केही गरेरै छाड्ने लक्ष्य लिन बाध्य बनायो। उनले अठोट गरे - जसरी भए पनि रास्कोटमा एउटा अस्पताल बनाएरै छाड्ने। विकट भुगोल र आफ्नै आर्थिक अवस्था बलियो नभएको स्थितिमा अठोट पूरा गर्नु फलामको चिउरा चपाउनुभन्दा कम थिएन।

अस्पतालका लागि काम गर्न नगरपालिकासँग पहलकदमी अगाडि बढाए। अनि काठमाडौं फर्किए थुप्रै रणनीति बनाउने लक्ष्यसहित। तर,जसरी सोचिन्छन - त्यसरी पूरा गर्न किन सकिन्थ्यो। मुलुककै पिछडिएको भुगोलमा उपचारको एउटा अध्याय सुरु गर्न चाहेका उनी आफैँ रोगसँग संघर्ष गरिरहेका रहेछन्। स्वास्थ्य परीक्षण गर्दा खुल्यो – मुकुलको शरीरमा क्यान्सरले डेरा जमाइसकेछ। अगाडिको बाटो अँध्यारो। सपनाहरु फुङ्ग उडेका। अनायसै भित्रिएको मृत्युको भयपूर्ण घन्टी!

+++

घण्टी।

मुलुकको राजनीति यतिखेर घण्टीको रालोले बेजोडसँग गुञ्जिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकमा जसरी मत ल्याइरहेको छ त्यसले स्थापित राजनीतिक दल र तिनका नेताहरुको धड्कन बढाइदिएको छ। सत्ता राजनीतिको एउटा बलियो हिस्सा बनिसकेको छ यही नयाँ पार्टी। डाक्टर मुकुल त्यही पार्टीका महामन्त्री हुन्। प्रवक्ताको जिम्मेवारी पनि उनीसँगै छ।

राजनीति अनि घन्टीको तरङ्गमा उनको संलग्नताको नसा पनि कालिकोटको अस्पतालसँगै जोडिएको छ। सुरुमा एक करोड रुपैयाँ भए अस्पताल खोल्न सकिन्छ भन्ने लागेको थियो मुकुललाई। तर त्यति रकम जोहो गर्नु सजिलो थिएन। फेसबुकबाट जोडिएकी प्रियङ्काले एक लाख रुपैयाँ सहयोग गरिन्। एक लाखले मात्र अस्पताल बन्ने कुरा असम्भव थियो। मुकुल आफैँमा भर्खरै एमबीबीएस सकाएका व्यक्ति थिए, त्यसबाहेक उनको अर्को परिचय थिएन। यति हो कि भूकम्पपछि उनकै सक्रियतामा विद्यालय बनेको चाल पाएकाहरु बिच उनी विश्वसनीय थिए।

उनी अस्पतालको लागि मरिमेटेर लागिरहँदा मिडियामा भने एउटा प्रकरण चर्चित बनिरहेको थियो। रवि लामिछानेको टेलिभिजनमा चर्चित कार्यक्रम जारी रहँदा उनको पासपोर्ट प्रकरण बाहिरिएको थियो। अमेरिकी नागरिक भएर नेपालमा श्रम अनुमति नलिई काम गरेको आरोप चानचुने थिएन। कानुनी रुपमा कमजोर बनिसकेका थिए रवि। तर, जनतासँग सोझै जोडिएका मुद्दामा उनले जसरी हस्तक्षेपकारी भूमिका निर्वाह गरेका थिए –त्यसले उनलाई संचारकर्मीमात्र बनाइरहेको थिएन। श्रमजीवी वर्गका 'मसिहा' बन्ने होडमा निक्कै अगाडि पुगिसकेका थिए रवि। सामाजिक सञ्जालमा रविमाथि आलोचना गर्नु 'भगवानको अपहेलना' गर्नु सरह भइसकेको थियो।

अस्पताल बनाउने लक्ष्य लिएका मुकुल रवितिर आकर्षित भए। रविका कारण परिवर्तन भएका किस्साहरुले बजार पिटिरहेकै थियो। त्यसैले अस्पतालको बारेमा रविले केही गरे भने काम बन्छ भन्ने लाग्यो उनलाई। लामै प्रयासपछि रविलाई भेट्न पुगे मुकुल।

'उहाँ  पहिलो चोटिमा नै प्रभावित हुनुभयो। त्यसपछि रवि फाउन्डेसन खोलेर अस्पतालमा काम भएको हो,' मुकुलले चार वर्ष अगाडिको रविसँग जोडिँदाको सन्दर्भ सुनाए।

१/२ करोड रुपैयाँको लगानीमा बन्ने अपेक्षा गरेको अस्पतालमाथि दश करोड रुपैयाँ खर्च भयो। अस्पताल बनाउने क्रममा रवि लामिछानेसँग उनको भेट बाक्लिन थाल्यो।

त्यही क्रममा राजनीतिमा आउने सन्दर्भहरु उठ्न सुरु भएको हो। ६ महिना अगाडि मात्र जन्मिएको पार्टीले हालैको निर्वाचनमा पुराना स्थापित पार्टीलाई धक्का दिने गरि मत बटुलेको छ। पार्टीको विधान लेखनदेखि चुनाव चिह्नको निर्णयसम्ममा मुकुल सक्रिय रहे। घोषणापत्र तयार पार्दा मुकुलले धेरै पेनका लिड खियाएको सुनाए। पार्टीको चुनाव चिह्न के राख्ने भन्नेमा धेरै दुविधा थियो। ढुङ्गा, ब्लेड, चिमदेखि अनेक आकृति र प्रस्ताव आएका थिए। तर एकाएक 'घण्टी' बज्यो। मुकुलको दिमागमा बजेको त्यही घण्टीलाई नै चुनाव चिह्न बनाउने प्रस्ताव गरे।

'चुनाव चिह्नले धेरै अर्थ लाग्ने रहेछ। त्यसको धेरै अध्यायन गर्‍यौं। सबै कुराले घण्टी मिल्यो। आज गतिलो चुनाव चिह्नले पनि जित्न केही सहयोग गरेको देख्छु,' मुकुलले सुनाए। अस्पताल बनाउने लक्ष्य होस् या मृत्युलाई नजिकबाट नियाल्नुपरेको यथार्थता, ३० वर्षे जीवनमा धेरै अनुभव सँगालेका छन् मुकुलले।

'समाज स्वार्थी छ। सबै कुरा हुँदा जोडिने र नहुँदा तोडिनेहरू धेरै देखेको छु। तर मनबाट चाहेको कुरा चाहिँ पूरा हुने रहेछ। जीवनमा फेरि जन्मिए पनि यही गल्तीहरू दोहोर्‍याउन चाहन्छु,' मुकुलले भने।

+++

आजभोलि नयाँ साथी बनाएको छु,

घर छेवैको पान पसले दाइलाई।

उ पान बनाउँछ,

मेरो कुरा सुन्छ,

अनि भन्छ,

भाग्यको खेल हो बाबु,

भाग्यको खेल

मुकुलले कोरेको यो कविता उनको जीवनसँग ठ्याक्कै मेल खान्छ। कालीकोटबाट काठमाडौं फर्किएपछि पहिचान भएको थियो घाँटीको क्यान्सर। सन् २०१७ डिसेम्बर ३१ गते परीक्षणबाट पुष्टि भयो उनमा थाइराइड क्यान्सर छ।

क्यान्सर?

अरूको जीवन बचाउन हौसिरहेका उनले मृत्यु नजिक पुगेको अनुभूति गरे। करियरको उदाउँदो ग्राफ, प्रेमिल जीवन। धेरै आशा अनि एकाएक मृत्युले बजाएको त्रासपूर्ण घण्टी।

'जीवनले आफूलाई छोड्छ भन्ने थाहा पाएपछि आफूले जीवनबाट धेरै कुरा छोड्नुपर्ने रहेछ,' थोरै भावुक सुनिए उनी।

धन्न क्यान्सरको पहिलो स्टेजमै पहिचान भयो। २०१८ जनवरीमा अप्रेसन भयो नेपालमै। मेडिकल साइन्स पढे पनि मृत्युको त्रासले अध्यात्मतिर तान्दो रहेछ। त्यही अनुभूति गरे उनले। अस्पतालको शय्यामा भागवत गीतादेखि कुरानसम्म पढ्न भ्याए।

'अहिले सबै ठीकठाक छ। तर जीवनमा कहिले पनि गीत गाउन चाहिँ सक्दिन,' मुकुलले भने,'नसा च्यातिएकाले गाउन मिल्दैन।'

त्यसो त मुकुलले जीवनमा नाच्न र गाउन खासै जानेनन्। संयोगले त्यसमाथि पनि पाबन्दी लगाइदियो। अब रहरले पनि गाउन सक्दैनन्। न भाषण नै गर्न सक्छन् चर्किएर। आवाज त्यसै बस्छ।

'जिन्दगीमा भोलिपल्ट मर्दैछु भन्ने थाहा भए पनि केही गर्न नसकिने रहेछ,' उनले सुनाए। मुकुलको जीवनको एउटा अध्यायमा पूर्णविराम लाग्यो। उपचारपछि पुनर्जन्म त पाए तर अमेरिका जाने र थप अध्ययन गर्ने विषयले बिट मार्‍यो।

त्यसपछि गुमेका कुराहरू क्रमश: फर्किए। रास्कोटको अस्पताल बन्यो। नयाँ राजनीतिक दल नै जन्मियो। नेतृत्वमा उनी पनि उत्तिकै हिसाबले उभिएका छन्। विद्रोह र परिवर्तनका पक्षपाति मुकुलले छोटो जीवनमै धेरै उचारचढावसँग साक्षतकार गरे। त्यसैले हुनुपर्छ हुँदा झुम्मिने र नहुँदा परपर पुग्ने झुन्डहरुलाई नजिकबाट चिनेका छन्।

मेघा अस्पतालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छाडेर राजनीतिमा होमिनु आफैँमा एउटा जोखिमपूर्ण कदम थियो। अमेरिका पढ्ने सपनालाई तिलाञ्जली दिँदा 'पागल' भन्नेहरु पनि थिए। त्यसैले राजनीतिमा लागेको विषयलाई लिएर कसले के भन्छ मुकुललाई कुनै मतलब छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell