PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

समूह 'सी' र 'डी' बाट नकआउट चरण पुग्ने टोलीको टुंगो लाग्दै, अर्जेन्टिनालाई कस्तो समीकरण चाहिएको छ?



पहिलोपोस्ट

समूह 'सी' र 'डी' बाट नकआउट चरण पुग्ने टोलीको टुंगो लाग्दै, अर्जेन्टिनालाई कस्तो समीकरण चाहिएको छ?
Photo: Reuters

फिफा विश्वकपमा आज समूह 'सी' र 'डी' बाट नकआउट चरण पुग्ने टोलीको टुंगो लाग्दैछ।

समूह 'डी' का दुई खेल आज बेलुकी पौने ९ बजे सुरु हुनेछन्। एजुकेशन सिटी स्टेडियममा हुने खेलमा फ्रान्स र ट्युनिसिया आमने सामने हुनेछन्। प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियामाथि ४-१ र दोस्रो खेलमा डेनमार्कमाथि २-१ गोलको जित निकालेको फ्रान्सले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। त्यस्तै पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको ट्युनिसियाले दोस्रो खेलमा अस्ट्रेलियासँग १-० गोलको पराजय ब्यहोरेको थियो।

त्यस्तै अल जानुब स्टेडियममा अस्ट्रेलिया र डेनमार्क भिड्नेछन्। आफ्नो पहिलो खेलमा फ्रान्ससँग ४-१ गोलको पराजय ब्यहोरेको अस्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई १-० गोलअन्तरले हराएको थियो। अर्कोतर्फ पहिलो खेलमा ट्युनियसियासँग गोलरहित बराबरीमा रोकिएको डेनमार्क दोस्रो खेलमा फ्रान्ससँग २-१गोलअन्तरले पराजित भएको थियो।

समूह 'डी' मा ६ अंक जोडेको फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसक्दा ३ अंक जोडेको अस्ट्रेलिया र समान १ अंक जोडेका डेनमार्क र ट्युनिसिया पनि नकआउट चरण पुग्ने होडमा कायम छन्।

भरे राति नै हुने समूह 'सी' को खेल थप रोमाञ्चक हुनेछ। पोल्याण्ड, अर्जेन्टिना, साउदी अरब र मेक्सिको रहेको यो समूहमा सबै टोलीको नकआउट चरण पुग्ने सम्भावना जीवित छ।

यो समूह अन्तर्गत स्टेडियम ९७४ मा हुने खेलमा पोल्याण्ड र अर्जेन्टिना पौने १ बजे आमने सामने हुँदैछन्। पहिलो खेलमा साउदी अरबसँग २-१ गोलले स्तब्ध भएको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोमाथि २-० गोलको जित निकाल्न सफल भएको थियो। अर्कोतर्फ पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको पोल्याण्डले दोस्रो खेलमा साउदी अरबमाथि २-० गोलकै जित निकालेको थियो।

त्यस्तै सोही समयमा साउदी अरब र मेक्सिको लुसइल स्टेडियममा भिड्नेछन्। साउदीले आफ्नो पहिलो खेलमा अर्जेन्टिनामाथि २-१ गोलको जित निकालेको थियो भने दोस्रो खेलमा पोल्याण्डसँग २-० गोलको हार ब्यहोरेको थियो। त्यस्तै पोल्याण्डसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको मेक्सिको दोस्रो खेलमा अर्जेन्टिनासँग २-० गोलले पराजय ब्यहोरेको थियो।

यो समूहमा शीर्ष स्थानमा रहेको पोल्याण्डको ४ अंक छ भने दोस्रो स्थानको अर्जेन्टिना र साउदी अरबको समान ३ तथा मेक्सिकोको १ अंक छ।

पोल्याण्डलाई नकआउट चरणमा पुग्न अर्जेन्टिनासँगको बराबरीसमेत पर्याप्त हुनेछ। यस्तोमा पोल्याण्डका प्रशिक्षक चेल्स मिच्निविचले डिफेन्सिभ रणनीतिमा टोलीलाई मैदान उतार्ने सम्भावना रहन्छ। अर्कोतर्फ अर्जेन्टिनालाई नकाउट चरणमा पुग्न जित्नै पर्ने दवाब छ। पोल्याण्डसँग बराबरी भएको खण्डमा अर्जेन्टिना नकआउट चरणमा पुग्न मेक्सिको र साउदी अरेबियाको बराबरी या मेक्सिकोको साँघुरो जितको समीकरण अर्जेन्टिनालाई चाहिनेछ।

त्यस्तै साउदी अरेबिया जित निकाले नकआउट चरणमा पुग्नेछ भने मेक्सिकोलाई फराकिलो जित आवश्यक पर्नेछ। साउदी अरेबियाका कप्तान सलमान अल फराज चोटका कारण बाहिरिँदा मेक्सिकोले यसको फाइदा उठाउने अवसर हुनेछ। तर, मेक्सिकोका  महत्वपूर्ण खेलाडी एडसन अल्भारेज पनि चोटसँग जुधिरहेको हुँदा साउदी विरुद्धको खेलमा उनी उपलब्ध नहुन सक्छन्। यी दुई टोलीबीचको इतिहास हेर्दा पाँच पटक आमनेसामने भएका छन्। जसमा ४ पटक मेक्सिकोले जितेको छ भने एक खेल बराबरीमा रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell