PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने आयोगको निर्णय



पहिलोपोस्ट

बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने आयोगको निर्णय

काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने निर्णय गरेको छ। चुनावमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा मतगणना गरेको थिएन। दुबै ठाउँमा मतगणना हुने एक निर्वाचन आयुक्तले जानकारी दिए।

यसअघि दोलखामा पनि चुनावमा धाँधली भएको भन्दै उजुरी परेपछि आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो। बाजुरा र स्याङ्जामा भने मतदान गर्न नपर्नेगरी आयोगको छानबिन टोलीले रिपोर्ट दिएको र उक्त रिपोर्ट अनुसार मतगणना गर्ने निर्णय भएको हो। 'आयोगको रिपोर्टले नै मतगणना गर्ने भनेको छ,' आयुक्तले भने।

मंसिर ४ गते सम्पन्न निर्वाचनको अरु ठाउँको मत परिणाम आइसकेको छ। दोलखामा १४ गतेका लागि मतदानको समय तोकिएको छ। दोलखा, स्याङजा-२ र बाजुरामामात्रै अब मतगणना हुन बाँकी रहेको छ।

नेपाली कांग्रेसले दुबै ठाउँमा मतगणना तत्काल गर्न माग गरेको थियो। दुबै ठाउँको मतपेटिका संकलन भइसकेको छ। स्याङजा-२ र बाजुरामा एमाले र कांग्रेसले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन्। यसअघि मंगलवार राति पनि आयुक्तहरुको बैठक बसेको थियो।

आयुक्तहरुका बिचमा पुन मतदान गर्ने वा मतगणना गर्ने भन्नेबारेमा फरक मत आएपछि मंगलवारको बैठक निर्णयमा पुग्न सकेको थिएन। आयुक्त इश्वरीप्रसाद पौड्यालले मतगणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिनुपर्ने भन्दै छानबिनका लागि निर्वाचन आयोगको टोली पठाउनै नपर्ने फरक मत राखेका थिए। तर आयोगले बहुमतका आधारमा छानबिन टोली पठाएको थियो।

बुथ कब्जा गरेर विदेशमा भएका र मृत्यु भएका व्यक्तिको नाममा पनि मतदान गरेको भन्दै दलहरुका बिचमा विवाद भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवाद मिलाउन नसकेपछि विवाद निर्वाचन आयोग समक्ष आइपुगेको हो।

स्याङजा-२ मा नेकपा एमालेकी पद्मा अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङबिच मुख्य प्रतिस्पर्धा छ। बाजुरामा एमालेका कर्ण थापा र बद्री पाण्डेबिच प्रतिस्पर्धा छ। हालसम्म निर्वाचन आयोगले १६१ स्थानको मत गणनाको अन्तिम नतिजा सार्वजनिक गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell