PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको निधन: यस्तो छ नेपालसँगको नाता



विधुर ढकाल

चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको निधन: यस्तो छ नेपालसँगको नाता
Photo:cnbc.com

सांघाई: चीनका पूर्वराष्ट्रपति चियाङ जमिनको बुधबार मध्याह्न निधन भएको छ। लिउकेमिया र मल्टिपल अर्गान फेलियरका कारण उनको ९६ वर्षको उमेरमा सांघाईमा निधन भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले घोषणा गरेको हो।

सीपीसी, चीनको स्टेट काउन्सिल, नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटी, सीपीसी र चीनको केन्द्रीय सैन्य आयोगले सबै पार्टीका सदस्य, चिनियाँ जनता, सेनाका सबै अंगहरुलाई सम्बोधन गर्दै जमिनको निधन भएको घोषणा गरेका छन्।

पत्रमा पूर्वराष्ट्रपति जमिनको निधनले सम्पूर्ण पार्टी, सैन्य, चिनियाँ जनता दु:खमा रहेको जनाएको छ। उनको सबै उपचारको प्रयासका वावजुध ल्युकेमिया र मल्टिपल अर्गान फेलियरका कारण मृत्यु भएको उल्लेख छ। 

चीन सरकार र सीपीसीले जारी गरेको शोक वक्तव्यमा  जमिनलाई सम्पूर्ण जनता, पार्टी र सेनाका लागि उच्च सम्मानित नेता भएको उल्लेख छ। उनलाई एक महान मार्क्सवादी, महान सर्वाहारवर्ग क्रान्तिकारी नेता, राजनेता, सैन्य रणनीतिकार, कुटनीतिक नेतृत्वका साथै महान कम्युनिस्ट लडाकु रहेको उल्लेख गरेको छ। उनले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणका कुशल नेतृत्वकर्ताको रुपमासमेत उनको चर्चा गरिएको छ।

को हुन चियान जमिन?

थ्योरी अफ थ्रि रिप्रिजेन्ट्सका प्रवर्तक रहेका चियान चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो पुस्ताका नेता हुन्। १९२६ मा जन्मिएका उनी चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको रुपमा सन् १९८९ देखि २००२ सम्म रहे। त्यस्तै केन्द्रीय सैन्य आयोगको अध्यक्षको रुपमा १९८९ देखि २००४ र चीनको राष्ट्रपतिको रुपमा १९९३ देखि २००३ सम्म रहे।

उनी सन् १९८९ को थियान मन स्क्वायरमा भएको आन्दोलनपछि अप्रत्यासित रुपमा शक्तिमा आएका थिए। जुन आन्दोलन चाओ चियाङको सीपीसी महासचिवबाट बहिरगमनको कारण बनेको थियो। त्यसपछि उनी सीपीसीको महासचिव भए।

सन् २००२ मा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण पूर्व चियाङले थ्रि रिप्रिजेन्टस् सम्बन्धी सिद्धान्तलाई अगाडि सारेका थिए। जुन २००२ मा सीपीसीको विधानमा मर्क्सवाद, लेलिनवाद, माओ विचारधारा, तङ स्याओपिङ विचारधारासँगै समावेश गरिएको थियो।

यस सिद्धान्तले पार्टी र जनतावीचको नयाँ सम्बन्धलाई व्याख्या गरेको थियो। जसअनुसार चीनको विकासलाई उत्पादन शक्तिसँग जोड्ने, चीनको विकसित संस्कृति र चिनियाँ जनताको आधारभूत स्वार्थलाई प्रतिनिधित्व गर्ने उल्लेख छ।

उनको मृत्युसँगै चिनियाँ सामाजिक सञ्जालमा एउटा युगको अन्त्य भएको भन्दै प्रयोगकर्ताहरुले समवेदन प्रकट गरिरहेका छन्। विवो प्रयोगकर्ताहरु उनको मृत्युमा दु:ख प्रकट गरिरहेका छन्।

चियाङ जमिनको नेपाल सम्बन्ध

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपाल भ्रमण गरे। चीनबाट लामो समयसम्म उच्च नेतृत्वको भ्रमण नभएको अवस्थामा सिको भ्रणमले यो शून्यतालाई तोडेको थियो। सिको भ्रमणको २३ वर्ष अगाडि उनै चियाङले नेपाल भ्रमण गरेका थिए।

सन् १९९६ को डिसेम्वरमा उनले नेपालको भ्रमण गरेका थिए। भ्रमणका क्रममा दुबै पक्षले २१ औँ सताव्दीमा प्रवेश गर्दै गर्दा मित्रवत सम्बन्धलाई थप मजबुत बनाउन सहमत भएका थिए।

त्यस्तै सन् २००१ मा नेपालका तत्कालीन राजा विरेन्द्र शाह बोहाओ फोरममा विशेष अतिथिको रुपमा पुग्दा चियाङसँग भेट गरेका थिए।

त्यतिबेला नेपाली राजाले फोरममा विशेष उपस्थिति जनाउँदा फोरमको गरिमा बढेको प्रतिक्रिया दिएका थिए

त्यस्तै सन् २००२ मा नेपालका तत्कालीन राजा ज्ञानेन्द्र शाहको बेइजिङ भ्रमणका क्रममा दुईबीच ग्रेट हल अफ पिपल्समा भेटवार्ता भएको थियो। भेटका क्रममा चियाङले  दुई देशबीचको सम्बन्ध विस्तार र साझेदारका केही नयाँ प्रस्ता राखेका थिए। उनले केही असमानताका बावजुध नेपाल चीनको महत्त्वपूर्ण छिमेकी भएको भन्दै दुबै देशले एकर्कालाई समान रुपमा सहयोग गरिरहेको बताएका थिए।

त्यति बेला राष्ट्रपति चियाङले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन तथा आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै त्यतिवेला सिनो-नेपाल सम्बन्धलाई आउने पुस्ताका लागि मित्रवत सम्बन्धको विकास गर्ने विषयमा सहमति भएको बताएका थिए।

चीन-नेपाल सम्बन्धका लागि चियाङका चार प्रस्ताव

२००२ मा राजा ज्ञानेन्द्रसँग भएको भेटमा चियाङले दुई देशबीचको सम्बन्धलाई थप मजवुत बनाउनका लागि चार वटा नयाँ प्रस्ताव राखेका थिए।

पहिलो, दुवै पक्षले सक्रिय रूपमा सबै तहमा आदानप्रदानहरूलाई पूर्णरुपमा सञ्चालन गर्ने प्रस्ताव राखेका थिए। शीर्ष नेताको भ्रमणको परम्परागत अभ्यासलाई निरन्तरता दिनुका साथै पारस्परिक समझदारी र विश्वास अभिवृद्धि गर्न संसद, राजनीतिक दल, औद्योगिक तथा व्यावसायिक क्षेत्र, दुवै देशका प्रेस तथा गैरसरकारी संघसंस्थाबीच थप आदानप्रदानलाई प्रोत्साहित गर्ने प्रस्ताव उनले राखेका थिए। चीन-नेपाल मैत्री संघ भर्खरै मात्र औपचारिक रूपमा स्थापना भएको र यसले गैरसरकारी आदानप्रदान अभिवृद्धिका लागि नयाँ बाटो खुला गरेको बताएका थिए।

त्यस्तै दोस्रो, दुवै पक्षले चीन-नेपाल व्यापार र आर्थिक सहयोगलाई जोडदार रूपमा विस्तार गर्नुपर्ने उनको प्रस्ताव थियो। चीन र नेपालका दुवै अर्थतन्त्रमा आ-आफ्नो परिपूरकता रहेको भन्दै चियाङले दुई देशको साझा हितमा पारस्परिक लाभकारी सहयोगलाई बलियो बनाउनुपर्ने प्रस्ताव राखेका थिए। यस किसिमको सहयोग फराकिलो र गहिरो रूपमा विकास हुने आशा चिनियाँ पक्षले गरेको उनको भनाइ थियो।

तेस्रो, दुवै पक्षले चीनको तिब्बत र नेपालबीचको आदानप्रदान र सहयोगलाई सक्रियतापूर्वक बढावा दिनुपर्ने प्रस्ताव राखेका थिए। तिब्बत र नेपालबीच सीमाना छ, जसले सहयोगको विकासको लागि विशेष अनुकूल प्राकृतिक अवस्था प्रदान गर्ने भन्दै चीनको तिब्बत र नेपालबीचको व्यापार र अन्य विषयमा भएको सम्झौताले नेपाल र तिब्बतबीच सञ्चार र सहकार्यमा ठूलो सहजीकरण हुने जियाङको भनाइ थियो।

त्यस्तै चौथो, दुवै पक्षले क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा सञ्चार, समन्वय र सहयोगलाई बढावा दिनुपर्ने प्रस्ताव चियाँङले राखेका थिए। उनले तिब्बत, ताइवान र मानवअधिकार जस्ता विषयमा नेपालले चीनलाई दीर्घकालीन र बहुमूल्य सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए। उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको निरन्तर सहयोग हुने अपेक्षा राखेका थिए।

नेपाल-चीन सम्बन्धलाई नयाँ आयाममा लैजाने प्रस्ताव राख्ने उनै चियाँङको सांघाईमा बुधवार मध्यान्न निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell