
- वेदबहादुर खड्का-
सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ द्वितीयले चितवन भ्यालीको भ्रमण गरेकी थिइन्। उक्त भ्रमणमा राजा महेन्द्रले बेलायती टोलीलाई खरमुजुरको परिकारले स्वागत गरेका थिए। यही घटनाले पुष्टि गर्छ - त्यतिखेर चितवनमा खरमुजुर कतिको प्रशस्त पाइन्थ्यो भन्ने कुरा।
आज आएर त्यही खरमुजुर चितवनबाट मात्र होइन नेपालबाटै लोप हुने अवस्थामा पुगिसक्यो भन्दा अचम्म लाग्नु अस्वभाविक नहोला।
खरमुजुर समथर भू-भागको घाँसे क्षेत्रमा बस्ने पंक्षी प्रजाति हो। यो नेपाललगायत भारत, बङ्गलादेश र कम्बोडियामा पाइन्छ।
खरमुजुरको मूख्य बासस्थान सुख्खा चउरको सिरुघाँस हो भन्ने धेरैको बुझाई भए पनि छोटो खाले पातलो छुप्का-छुप्का परेको काँसे क्षेत्र र यसको वरपरको सुख्खा खाले खेतबारी पनि खरमुजुर रमाएर बसेको भेटिन्छ। बाढीले मडारेर तहसनहस पारेको क्षेत्र र जनावरहरुले ब्यापकरुपमा चरिचरन गर्ने र गोब्र्याउने गरेर घाँस बढ्न नपाएको चउरमा खरमुजुरको आकर्षण रहेको पाइन्छ।
उदाहरणको रुपमा कोशी टप्पु वन्यजन्तु आरक्षका घाँसे चउरहरुलाई लिन सकिन्छ। नेपालमा अन्य क्षेत्रको तुलनामा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा राम्रै संख्यामा खरमुजुर पाइने गरेको कुरालाइ संरक्षणविदहरु स्वीकार गर्दछन्।
पछिल्लो २०२१ को गणना अनुसार नेपालमा जम्मा २८ वटा खरमुजुर पाइएका थिए जसमध्ये २१ वटा त कोशीटप्पु क्षेत्रमै रेकर्ड भएका थिए। नेपालमा पाइएका खरमुजुरको संख्या सन्तोष मान्नुपर्ने अवस्था नभए पनि अन्य क्षेत्रको तुलनामा कोशीटप्पु क्षेत्रमा मात्रै किन खरमुजुरको संख्या बढी पाइयो भन्ने कुरा भने थप अध्ययनको विषय हुन सक्दछ। तसर्थ, समग्रमा खरमुजुरको संख्या हराउँदै जानुका सम्भावित कारणहरु यसप्रकार छन्।
बासस्थानको चक्रको विनास
सिमसार, घाँसे मैदान र वनजङ्गल क्षेत्र वन्यजन्तुका बासस्थान अर्थात् घर हुन्। वन्यजन्तुहरुका लागि यी क्षेत्रहरु अत्यन्तै संवेदनशिल मानिन्छन्। वनजङ्गलको घाँसे क्षेत्र नै जमीनमा जीवजन्तु हुर्कने पहिलो आधार हो। घाँसको जरा उखेलेर हेरियो भने त्यहाँ धेरै प्रकारका सुक्ष्मजीव, कमिला, गड्यौला, र अन्य किराहरुले बास गरेको पाइन्छ।
घाँसमा पोषिलो गुणस्तर कायम गर्न तिनै सुक्ष्म जीवहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। घाँसमात्र खाएर बाँच्ने प्राणीहरुको शारीरिक अवस्था मजबुत हुने वा दुर्वल हुने भन्नेकुरा घाँसका जरामा निर्भर यिनै सुक्ष्म जीवहरुको उपस्थितिमा भरपर्दछ। उपलब्ध घाँसको गुणस्तरले शाकाहारी वन्यजन्तुहरुको स्वास्थ्य र संख्या निर्धारण गर्दछ भने परोक्ष रुपमा मांसाहारी जीवजन्तुहरु (बाघ, चितुवा)को स्वास्थ्य र संख्यामा समेत प्रभाव पार्दछ। घाँस भनेको किरा खाएर बस्ने प्रजातिहरुको पनि घर हो।
घाँस खाएर बाँच्ने मृग प्रजातिहरुको लागि पनि प्राण दाता हो, घाँसको बीउ खाएर बाँच्ने चराहरुको लागि पनि अन्न दाता हो। घाँसभित्र हुने सुक्ष्म जीवहरुलाई खाएर बाँच्ने कमिलाको आहारा पनि घाँस नै हो। यसरी नियालेर हेर्दै जाँदा किराको सम्बन्ध बाघसँग जोडिन्छ भने अर्कोतिर चरासँग गएर पनि ठोकिन्छ।
यस्तो पारस्परिक सम्वन्धमा स्वस्थ्य पर्यावरणको विकास भएको हुन्छ। खरमुजुरको जीवनचक्र पनि यसैको सेरोफेरोमा चलेको हुन्छ। तर पछि आएर तराईका समथर भू-भागमा मलेरिया उन्मुलन भएपछि मानिसहरुको बसोबासले खरमुजुरको उपयुक्त क्षेत्रहरु नास हुन थाले। तत्पश्चातः चितवनमा पनि खरमुजुर प्रजाति संकटमा पर्दै गयो र यसको बासस्थान केवल तराईका निकुञ्ज र आरक्ष क्षेत्रहरुमा मात्र सीमित हुन पुग्यो।
यान्त्रिकक औजार प्रयोग र प्रतिकूल समय
नेपालमा आजभोलि वन्यजन्तुका वासस्थान ब्यवस्थापन वन्यजन्तुजस्तै गैँडा, बाघ र यसका आहार प्रजातिलाई लक्षित गरेर गर्ने गरिएको पाइन्छ। यस कार्यमा यान्त्रिक औजारहरु जस्तै बुल डोजर र ट्याक्टर प्रयोग भएको देखिन्छ।
मेसिनहरु प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्दा मेसिनहरुले उत्सर्जन गर्ने ध्वनीले साना जीवजन्तुको जीवन चक्रमा के कस्तो असर पर्छ र स-साना जीवहरुमा कति डर/त्रास पैदा हुन्छ भन्न सकिन्न। घरपालुवा जीवजन्तुहरु सामान्य टेप रेर्कड बजाउँदा त तर्सन्छन् भने वासस्थान व्यवस्थापन गर्दा प्रयोग गरिने मेसिनरी औजारको ध्वनिले शान्तप्रिय वन्यजीवहरु नतर्सने भन्ने शायद हुँदैन।
घाँसेफाँटा ब्यवस्थापनमा मेसिनहरु प्रयोग गरेर छिटो काम सम्पन्न त गर्न सकिन्छ तर मेसिन प्रयोगले घाँसे फाँटाको जैवीय संरचनालाई छताछुल्ल बनाई दिन्छ। जस्तै घाँसे मैदानमा हुने कमिला इकोसिष्टमका यन्त्रकार हुन्।
यिनीहरुको जैवीय संरचना अर्थात कमिलाका गोला (घर) कति नष्ट हुने होला। यिनले इकोसिष्टमलाई बचाउने भूमिका खेल्छन्। कमिलाले सुक्ष्मजीव खान्छ, चरालगायत अन्य प्राणीहरुले कमिला खान्छन्। कमिलाले जमिनको माटोको सतहलाई खुकुलोसमेत पार्दछन्।
बेमौसमी घाँसेफाँटाको व्यवस्थापन
मेसनरी औजार प्रयोग नगर्दा वन्यजन्तुको हितमा नै हुन्छ। यदि कुनै कारणले घाँसे मैदान ब्यवस्थापन गर्न मेसिनरीको प्रयोग गर्नैपर्ने अवस्था आए समग्र जीवजन्तुको प्रजनन् समय भन्दा अगाडि गरी सक्नुपर्छ (कमिलाको गोला वा प्रजनन् समयलाई समेत ख्याल गरेर गर्नु पर्ने हुन्छ)।
नेपालको हकमा वन्यजन्तुका लागि घाँसेमैदान ब्यवस्थापन गर्न उचित समय भनेको कार्तिक-मार्ग सम्म हो। यस समयभन्दा पछि मेसिनरी प्रयोग गरि घाँसे मैदान व्यवस्थापन गर्यो भने जैविक विविधताको विनासमात्र हुने छ।
पुस-माघको समय भनेको दुर्लभ लघुकर्ण खरायोले समेत ढड्डी घारीमा बच्चा जन्माउने र हुर्काउने समय हो। नेपालको भित्रि मधेस क्षेत्रमा फागुन महिनादेखि गर्मी बढ्दै जाने गर्दछ।
त्यो समय भनेको कमिलाले पनि फूल पार्ने समय हो र घाँसको पनि जमीनवाट नयाँ टुसा पलाउन शुरु हुन्छ भने बोटविरुवाको पनि पाउला आउने समय हो। त्यसैले वन्यजन्तुको वासस्थान सके समयमा नै ब्यवस्थापन गरौं, सक्दैनौ भने कम्तीमा प्रजनन् समयमा नगरौं। प्रकृतिले आफूलाई चाहिने बासस्थानको व्यवस्था आफै मिलाउछिन्।
विचार गरौं कतै हामीले संरक्षण वा व्यवस्थापनको नाममा पैसा खर्च गरेर पनि विनास पो गरिरहेका छौ की? कतै खरमुजुर हराउँदै गएको पनि प्रतकिूल समयमा बासस्थानको ब्यवस्थापन गरेर पो हो की? चितवन र बर्दियामा देखिइरहने खरमुजुर अहिले देखिनै छाडेको छ।
बेमौसमी घाँसे मैदान ब्यवस्थापन र मेसिनरी औजारको प्रयोगको प्रत्यक्ष मारमा खरमुजर परेको पो हो की? हामीले गरेको वन्यजन्तुको वासस्थान व्यवस्थापन खरमुजुरलाई अनुकूल नभएर आफुलाई अनुकुल हुने बासस्थानतिर खरमुजुर गएको हो की? राम्रो बासस्थान भएको स्थानतिर वन्यजन्तुहरु स्वतः जान्छन नै।
चितवन क्षेत्रका बाघ, गैंडा र गौरीगाई सिमाना जोडिएको भारतको बाल्मिकी टाइगर रिर्जभतिर पलायन भए भन्ने खबरले केही महिना अगाडि विभिन्न अखवारहरु रंगिएका थिए। चारखुट्टे वन्यजन्तु त भारतीय सिमाना तिर जान सक्छन भने पखेंटा भएका उडने पंक्षीहरु गएनन् भन्न सकिन्न? एक स्याटलाईट अध्ययनअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका खरमुजुरहरु सिमावर्ती भारतका दुधुवा राष्ट्रिय निकुञ्ज र पिलीभित टाइगर रिर्जभतिर गएको पाइएको छ।
के खरमुजुरहरुको वासस्थान नेपालतिर भन्दा भारततिरै उपयूक्त पाएर गएका हुन त्? यसबारे हामी बेलैमा मनन गरौं नत्र खरमुजुर लोप भएपछि खरमुजुरको महत्व बुझेर के नै लाभ हुन्छ र! सन् १९७० ताका न्युन संख्यामा रहेका गैंडा, बाघलगायत यसका आहारा प्रजातिलाई बढाएर हामी रमाएका छौ भने खरमुजुरलाई लोप हुने अवस्थामा पुर्याएर त्यतिकै लक्षित भएका छौँ।
तसर्थ, निम्न उपायहरु अबलम्बन गर्यौ भने खरमुजुर पुर्नस्थापना बचाउन सकिन्छ :
नेपालका सिमानासँग जोडिएका भारतीय निकुञ्ज/आरक्षमा खरमुजुरको बासस्थानको अध्ययन गर्ने हामीले अध्ययन् गर्न पर्ने कुरा के देखिन्छ भने सीमावर्ती भारतीय निकुञ्ज/आरक्षहरुले खरमुजुरको बासस्थान ब्यवस्थापन गर्न के कस्ता रणनीतिहरु अपनाएका छन्। खरमुजुरको उपयूक्त बासस्थानका सूचकहरु के के हुन सक्छन्? खरमुजुरका नेपालतर्फका बासस्थान र भारत तर्फका बासस्थान र ब्यवस्थापन रणनीतिहरुको तुलनात्मक अध्ययन गरी बासस्थान ब्यवस्थापनको उपयूक्त विधि छनौट गर्दा उपयूक्त होलाजस्तो लाग्दछ।
पहिला खरमुजुरहरु पाइने तर अहिले देख्नै छोडिएका नेपालका खरमुजुरका वासस्थानहरुमा भएका परिवर्तनहरु पनि अध्ययन गर्न जरुरी हुन्छ। यदि नेपालतर्फका खरमुजुरहरुको बासस्थान खरमुजुरका लागि प्रतिकूल देखिए सुधार गर्दै जाँदा भारतपलायन भएका खरमुजुरहरु फेरि पनि फर्केर आउने सम्भावना रहन्छ।
खरमुजुरको प्राकृतिक जीवन चक्रको प्रतिकूल हुने गरि बासस्थानको ब्यवस्थापन गर्नु हुँदैन। खरमुजुरहरुको वासस्थान ब्यवस्थापन गर्दा प्रजननको समय ख्याल नगर्नु र मेसिनरी औजार प्रयोग गर्नु प्रत्यूपादक देखिन्छ।
खरमुजुर देखिने घाँसेमैदान क्षेत्रमा परम्परागत तरिकावाट मानिस लगाएर बासस्थान ब्यवस्थापन गर्नु उचित हुन्छ किनकि यो तरिका त्यस स्थानहरुको मौलिक तरिका हो र यो तरीकासँग खरमुजुरहरु धेरै पहिलेदेखि नै अभ्यस्त छन्। नेपालको आफ्नै मौलिक पाराको बासस्थान व्यवस्थापनले न त पंछी र जनावरहरु तर्सिन्छन् न त अन्य वन्यजीवहरुको जीवन चक्रमा खराब असर नै पुर्याउँदछ।
भिन्न-भिन्न प्रजातिलाई लक्षित गरेर वासस्थान व्यवस्थापन गरे असन्तुलित बासस्थानको प्रभावले अन्त गएका जीवजन्तुहरु पनि फर्केर आएका उदाहरणहरु धेरै भेटिन्छन्। हामीले खरमुजुरका लागि पनि परम्परागत र रैथाने विधिबाटे घाँसे मैदानको वासस्थान गर्यौं भने तर्सिएर भाग्नुको साटो पुनः फर्केर आउने वातावरण बन्न सक्दछ।
बढेर हुर्केको अग्लो ढड्डी भएका घाँसे मैदान धेरै प्रकारका जीवजन्तुहरुले आफ्ना बच्चाहरु सुरक्षित लुकाउन प्रयोग गर्दछन्। अतः खरमुजुरले फूल पार्ने, चल्ला कोरल्ने र हुर्काउने समयमा खरमजुर पाइने स्थानहरुमा घाँसकाँटी घाँसे मैदान व्यवस्थापन गर्ने कार्य रोक्नु उचित होला। प्रजनन् समयमा यदि बासस्थान ब्यवस्थापन गरिहालियो भने गुँडफूलहरु वा चल्लाहरुको मायाले माउ खरमुजुरहरु अन्यत्र स्थानन्तरण हुन सक्दैनन् र अन्ततः सन्तान विहिन हुन पुग्छन्।
घाँसे मैदानको परम्परागत ब्यवस्थापन संचालन गर्र्दा स्थानीयहरुले निकुञ्जबाट अस्थाई रोजगारी पाउने गर्दथे। यसलाई उनीहरुले स्थानीय पर्वको रुपमा लिन्थे। जसले गर्दा निकुञ्ज र स्थानीयविच भाइचाराको सम्बन्ध कायम रहन्थ्यो। हाल घाँसे मैदानको ब्यवस्थापन गर्न प्रयोग भैरहेको मेसनरी औजारहरुले स्थानीय समुदायको रोजगारीमा असर पर्न गएको छ।
फलस्वरुप निकुञ्जबाट हुने एकाध नराम्रा साना वा ठूला घटनालाई लिएर तिललाई पहाड बनाइ विरोध गर्ने परम्पराको जरो मजबुत हुँदै गइरहेको देखिएको छ।। स्थानीयहरु स–साना कुरामा अड्को थापी निकुञ्जसँग निहुँ खोज्दै कार्यालयमा आगो लगाउने र ताला लगाउनेजस्ता कार्यहरु गर्नसमेत पछि परेका छैनन्।
नियन्त्रित प्रजनन्
घडियाल गोहीको मानवीय रेखदेखमा नियन्त्रित प्रजनन् गरेर नदी अर्थात प्राकृतिक वासस्थानमा घडियाल छोडेर यसको संख्या बढाउन सफल भए जस्तै खरमुजुरको पनि मानवीय रेखदेखमा नियन्त्रित प्रजनन् गरेर संख्या बढाउने कुरा बेला-बेला उठ्ने गरेको छ तर ज्ञानको अभावले खरमुजुरको प्रजनन् गराउन कठिन हुनेवाला छ। तर, पनि अन्तरार्ष्ट्रियस्तरमा भए गरेका प्रजनन् प्राक्टिसहरुको अनुभव लिएरमात्र अघि बढ्दा सफलता हासिल गर्न सकिएला।
विदेशतिर पर्या-पर्याटनको विकासमा पंक्षीहरुलाई जोड दिएको पाईन्छ र मानवीय शौख पूरा गर्न मानसिहरुले पंक्षीहरुको शिकार गर्ने गरेको पाइन्छ। उदाहरणका लागि यूनाइटेड अरब इमरेट्सका राज परिवारका सदस्यहरु पाकिस्तानमा आएर चर्को शुल्क तिरेर खरमुजुरको शिकार गर्ने गर्दछन्। बासस्थान र प्रजातिको हरेक पक्षलाइ ध्यान दिएर हराउन लागेका खरमुजुरहरुलाई नेपालको बासस्थानमा पुनर्जिवित गर्नु हाम्रो प्राथमिकता हुनु अपरिहार्य भैसकेको छ।
(खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन। उनी गोही अध्ययन र संरक्षणमा पनि चासो राख्छन्।)