PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यो निर्वाचनबाट उदाएका नयाँ पार्टीको कुनै ‘आइडियोलोजी’ छैन : डा शेखर कोइराला



अनन्तराज न्यौपाने

यो निर्वाचनबाट उदाएका नयाँ पार्टीको कुनै ‘आइडियोलोजी’ छैन : डा शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीको नयाँ संसदीय दलमा प्रधानमन्त्री शेरबहादुर देउवाको वर्चस्व रहेको स्वीकार गरेका छन्। बिहीवार कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता कोइरालाले आगामी संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाकै वर्चस्व रहेको बताएका हुन्।

संवाददाताले कोइरालालाई तपाईं संसदीय दलको नेताका लागि इच्छुक हो कि होइन, उम्मेदवार बन्नुहुन्छ कि बन्नुहुन्न? लगायतका प्रश्न गरेका थिए। उनले संसदीय राजनीतिमा अङ्कगणितको खेल पनि मुख्य भएको उल्लेख गर्दै आफूले के गर्ने भन्ने कुरा राजधानी पुगेर सबैसँग भेटेपछि मात्र निर्णय गर्ने उत्तर दिए।

उनी बिहीवार नै राजधानी पुगिसकेका छन्। डा कोइरालाले आगामी सरकारमा कांग्रेसको नेतृत्व र गठबन्धनकै सहभागिता रहने जानकारी दिए। उनले आगामी सरकारमा आफू जाने कि नजाने भन्ने बारेमा अहिल्यै केही भन्न नसकिने बताए।

कोइरालाले आगामी सरकारले पनि सुशासनको प्रत्याभूति र भ्रष्टाचारको न्यूनीकरण गर्न नसके त्यो आफ्नै पार्टीको सरकार भएपनि नछाडिने चेतावनी दिए।

उनले भने, ‘आजको समयको माग नै सुशासनको हो। सुशासनबिना मुलुक चल्न सक्तैन र भ्रष्टाचारले देशलाई धराशायी बनाउँछ। अब बन्ने सरकारले पनि जनताको सुशासन र भ्रष्टाचार नियन्त्रणको चाहनालाई पूरा गरेन भने संसददेखि सडकसम्म हामी आवाज उठाउने छौँ।’

उनले आगामी सरकारले भ्रष्टाचारको न्यूनीकरण गरेर सुशासन दिन सकेन भने सुधारका लागि पार्टीका भ्रातृ र भगिनी संस्था पनि परिचालित हुने चेतावनी दिए। डा कोइरालाले संसदमा सबै मुद्दामा पार्टीको ह्विप नलाग्ने स्पष्ट पार्दै आफूले भ्रष्टाचारको नियन्त्रण र सुशासनका लागि सदनमा सशक्त आवाज उठाउने उल्लेख गरे।

उनले गत कात्तिकको एक चुनावी सभामा आफ्नो र पार्टी सभापति देउवाबिच मेलमिलाप भइसकेको बताएका थिए।

‘मैले त टिकटको वितरणका प्रसङ्गमा मात्र हामी मिलेका हौँ भनेको थिएँ तर तपाईंहरूले अर्को अर्थ लगाउनुभयो’, कोइरालाको कथन थियो, ‘अहिलेसम्मको सरकारले सुशासन नदिएको स्पष्टै छ। फेरि पनि यस्तै शासनशैली दोहोरिए हामी चुप लागेर बस्नेवाला छैनौँ।’

उनले यस पटकको निर्वाचनमा उदाएका नयाँ पार्टीको कुनै ‘आइडियोलोजी’ नभएको टिप्पणी गरे।

‘पार्टीका नेताले हामी सेन्टर टु राइट भन्नुभएको छ तर प्रवक्ताले सेन्टर टु लेफ्ट भन्नुभएको छ’, कोइरालाको भनाइ थियो, ‘खासमा उहाँहरूको विचार, सिद्धान्त, आर्थिक र सामाजिक नीति के हो स्पष्ट छैन। उहाँहरूले केवल सुशासनको कुरा उठाउनु भएको छ। तर, त्यो सुशासनको प्रत्याभूति कसरी हुन्छ भन्ने प्रस्ट छैन।’

उनले कांग्रेस सेन्टर टु लेफ्ट पार्टी भएको स्पष्ट पारे। कोइरालाले चुनावी परिणामका बारेमा आफूले निर्वाचनअगाडि नै कांग्रेसको प्रत्यक्षमा ५५ देखि ६० सिट र समानुपातिकमा ३० देखि ३५ सिट आउँछ भनेको अनि परिणाम पनि त्यस्तै आएको चर्चा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell