PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्यपुस्तिकामा



पहिलोपोस्ट

नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्यपुस्तिकामा

काठमाडौं : नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य पुस्तिका सार्वजनिक भएको छ। बुधवार मण्डला थिएटरमा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरित पुस्तकको विमोचन गरिएको हो।

विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए। जहाँ सुवेदीले उपन्यासलाई नाटकका रुपमा पुनर्लेखनको अनुभव सुनाए।

उनले भने, ‘मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आफ्नो कल्पनाशीलतालाई प्रयोग गरेको छु। कतिपय पात्रको भूमिकालाई रिभर्स समेत गरेको छु। झण्डै दुईदशक अघिको कथालाई वर्तमान परिवेशमा ल्याउँदा अर्थात एउटा उपन्यासलाई नाटकमा रुपान्तरण गर्दा यो पुस्तक उपन्यास जस्तै भने छैन।’

उपन्यासलाई नाट्य रुपान्तरण गर्दा मूल लेखक नारायण वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको समेत सुवेदीले बताएका छन्। गत वर्ष लेखक सुरज सुवेदीले यस पुस्तकलाई नाटकका रुपमा रुपान्तरण गरेका थिए। सुरजले गरेको रुपान्तरणमा आधारित दुई घन्टाभन्दा लामो नाटकलाई विमल सुवेदीले निर्देशन गरेका थिए। थिएटर भिलेजको आयोजनामा यो नाटकलाई मण्डला थिएटरमा मञ्चन गरिएको थियो।

उपन्यासले द्वन्द्वकालीन समयलाई प्रतिनिधित्व गरेको भएता पनि नाट्य रुपान्तरणमा युद्धका कथा मात्र नभई त्यसका असरहरूलाई पनि समेट्ने प्रयत्न गरिएको सुरज बताउँछन्।

उनले भने, ‘उपन्यासले भन्न खोजेको कुरालाई अहिलेसम्म पनि खोजिरहने काम यो नाटकले गरेको छ। त्यसैले यो पल्पसाले १५ वर्षमा तय गरेको यात्रामा आधारित नाटक हो।’

लेखकका अनुसार उपन्यासमा त्यसका नायक दृश्य र नायिका पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ। यो पुस्तकको आवरण तयार पार्दा ‘पल्पसा क्याफे’ उपन्यासको पहिलो संस्करणकै झलक दिन खोजिएको छ भने नाटकमा पल्पसा भएर अभिनय गर्ने अभिनेत्री सृष्टि श्रेष्ठलाई नै मोडलका रुपमा प्रयोग गरिएको छ।

सुवेदीले गरेको उपन्यासको रुपान्तरणलाई उपन्यासकार नारायण वाग्लेले गजब लागेको प्रतिक्रिया दिएका छन्। नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ले २०६१ सालमा मदन पुरस्कार पाएको थियो। त्यसको अंग्रेजी अनुवादलाई पब्लिकेशन नेपालय र भारतबाट पनि ‘र्‍याण्डम हाउस’ ले १२ वर्षअघि प्रकाशन गरेको थियो। उक्त उपन्यासको कोरियन, फ्रेन्च र सिंहली भाषाका अनुवाद पुस्तकहरू पनि प्रकाशित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell