काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ५९ हजार ५५० मत गणना गरिएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरेको छ।
नेपाली कांग्रेसले २६ लाख ३५ हजार ८५२, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६० हजार ८९८ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १४ हजार ६३९ मत प्राप्त गरेको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार २५७, जनता समाजवादी पार्टीले चार लाख २० हजार ९२४ र जनमत पार्टीले ३ लाख ९४ हजार २७६ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।
थ्रेस होल्ड कटाउनका लागि नेकपा (एकीकृत समाजवादी)ले संघर्ष गरिरहेको छ। आयोगको विवरणअनुसार एकीकृत समाजवादीले दुई लाख ९३ हजार ९५७ मत प्राप्त गरेको छ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६४६, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २७७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४०, हाम्रो नेपाली पार्टीले ५५ हजार ५७३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४८ हजार १७१, राष्ट्रिय जनमोर्चाले ४६ हजार ३१३, नेपाल सङ्घीय समाजवादी पार्टीले ४१ हजार ८०५ र नेकपा(माले)ले ३० हजार ४०७ मत प्राप्त गरेका छन्।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले दुई हजार १५ मत प्राप्त गरेको छ।