काठमाडौं: प्रत्यक्षतर्फ ३३० सदस्यका लागि भएको निर्वाचनमा २०७४ मा नेकपा (एमाले) ले १६८ ठाउँमा जित्यो। एमालेको जितले नेपाली कांग्रेस धेरै ठाउँमा संकटमा त पर्यो नै, नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि ७ प्रदेशमध्ये ६ वटामा एमाले-माओवादीको शक्तिशाली प्रदेश सरकार बने।
तर पाँच वर्ष एमाले नेतृत्वका सरकार टिक्न भने सकेनन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता विवाद र दल विभाजनसँगै एमालेका प्रदेश सरकार ढले।
यो पटक प्रदेश सभाको निर्वाचनमा कांग्रेसले धेरै ठाउँमा शक्ति आर्जन गर्दा एमाले र माओवादीलाई आफ्नो साख जोगाउनै सकस परेको छ।
२०७४ को निर्वाचनमा कांग्रेस ४१, माओवादी केन्द्र ७३, संघीय समाजवादी फोरोम २४, जनता पार्टी नेपाल १६, स्वतन्त्र ३, राष्ट्रिय जनमोर्चा २, नयाँ शक्ति पार्टी नेपाल २ ठाउँमा निर्वाचित भएको दृश्यमा यसपटक भने ब्यापक फेरबदल भएको छ।
शक्ति गुमाएर पनि एमाले पहिलो
एमालेले २०७४ मा प्रदेश १ मा पहिलो पार्टी बनेको छवि यसपटक पनि जोगायो, ३६ जना उम्मेदवार मध्ये २५ जनालाई जिताएर। तर एमालेको शक्तिमाथि कांग्रेसले यसपाला धावा बल्यो। अघिल्लो पटक ५४ जना उम्मेदवार उठाएर ८ जनामा खुम्चिएको कांग्रेसले यसपटक भने आफ्नो शक्तिलाई बढाएको छ -१७ जना सांसदलाई जिताएर।
३६ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले २ ठाउँमा जितेका छन्। प्रदेश १ मा प्रत्यक्षतर्फ मात्र होइन समानुपातिकमा पनि एमाले पहिलो पार्टी हो।
१८ लाख १३ हजार २६५ समानुपातिक मत गणना हुँदा एमालेले ६ लाख ३२ हजार ७ सय ४ मत पाएको छ। एमालेले केही शक्ति गुमाउँदा र कांग्रेसले आर्जन गर्यो।
२०७४ को निर्वाचनमा एमालेले ३९ जना उम्मेदवार उठाएकोमा ३६ जनाले जितेका थिए। माओवादी केन्द्रले १६ जना उम्मेदवार उठाएकोमा १० जना जिते। कांग्रेसले ५४ जना मध्ये ८ जना मात्रै निर्वाचित भए। संघीय समाजवादी फोरमका १ र स्वतन्त्र १ जना सांसद थिए।
संघमा मन्त्री भइसकेका शेरधन राई अघिल्लो पटक एमालेबाट मुख्यमन्त्री बनेका सो प्रदेशमा। उनको सरकारपछि एमालेकै भीम आचार्य उक्त प्रदेशमा मुख्यमन्त्री बन्न पुगे। तर पनि एमालेको सरकार नजोगिएपछि एकीकृत समाजवादीका राजेन्द्र राई नेतृत्वको सरकार छ अहिले प्रदेश १ मा।
जनमत उदाएपछि उपेन्द्रको हिसाब बिग्रियो
यस पटकको निर्वाचनको परिणाम अनुसार मधेशको राजनीतिमा फेरबदल आएको छ। मधेशमा स्थापित राजनीतिक दल संकटमा पर्दा डाक्टर सिके राउतको जनमत पार्टी उदाएको छ। अघिल्लो पटक ६४ सदस्यीय प्रदेश सभामा २० ठाउँमा चुनाव जितेर तत्कालीन संघीय समाजवादी पार्टी पहिलो दल बनेको थियो। एकता-विभाजन हुँदै जनता समाजवादी पार्टी, नेपालका रुपमा अस्तित्वमा रहेको उपेन्द्र यादव नेतृत्वको पार्टीको प्रदेश सरकार हालसम्म पनि मधेश प्रदेशमा छ।
तर यसपटक जसपाले पुरानो साख जोगाउन सकेन, ९ ठाउँमा मात्रै चुनाव जित्यो। यस पटक प्रदेशतर्फ एमालेको सिट संख्यामा अघिल्लो पटक भन्दा खासै फरक आएको छैन।
१४ जना सांसद २०७४ मा निर्वाचित भएकोमा यसपटक एमालेका १५ जना सांसद छन्। कांग्रेसले १३ सिट जितेर आफ्नो शक्ति मधेशमा बढाएको छ। अघिल्लो पटक ८ सांसद मात्रै थिए कांग्रेसका तर्फबाट मधेश प्रदेशमा। यस पटक लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ७, जनमत पार्टी ६, माओवादी केन्द्र ४, एकीकृत समाजवादी ४ र स्वतन्त्रले ६ ठाउँमा जित निकालेका छन्।
अघिल्लो पटकको निर्वाचनमा माओवादी केन्द्रका ६ जनाले चुनाव जितेका थिए भने, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का १५ ले चुनाव जितेका थिए। यस पटक मधेश प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनको मुख्य भूमिका हुने छ। किनभने मधेशमा ६ सांसद जितेको जनमत पार्टी पनि सत्ता गठबन्धनसँग सकार्यका लागि अनौपचारिक छलफल गरिरहेको छ। एमालेले गरेको समाजवादीसँगको गठबन्धन भन्दा मधेशमा सत्ता गठबन्धनको पल्ला भारी देखिन्छ मधेशमा।
एमाले संकटमा परेको वाग्मती
राजधानी काठमाडौं पनि रहेको वाग्मती प्रदेशमा ६६ प्रदेश सभा सदस्यमध्ये प्रत्यक्षतर्फ ६४ ठाउँ को नतिजा आइसकेको छ। जसमा २४ ठाउँमा जितेर कांग्रेस पहिलो पार्टी बनेको छ। अघिल्लो पटक ७ ठाउँमा मात्रै जितेको कांग्रेसले वाग्मतीमा यस पटक एमालेको शक्ति खोसेको हो।
यसपटक १४ ठाउँमा जितेर माओवादी केन्द्र दोस्रो पार्टी बनेको छ भने एमाले १२ ठाउँमा मात्रै जितेर तेस्रो शक्ति भएको छ। माओवादीले २०७४ मा १२ ठाउँमा जितेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, एकीकृत समाजवादी ५, नेपाल मजदुर किसान पार्टी १ र हाम्रो नेपाली पार्टी १ ठाउँमा निर्वाचित भएका छन्।
एमालेका डोरमणि पौडेलको सरकार बनेको थियो २०७४ को निर्वाचनपछि वाग्मतीमा। नेकपा बनेपछि माओवादीको साथले पौडेलको सरकार शक्तिशाली बन्यो। तर एमाले माओवादी विभाजनपछि भने पौडेलको सरकार संकटमा पर्यो। पौडेलपछि एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको सरकार बने पनि त्यो टिक्न सकेन। सत्ता गठबन्धले एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मतीमा सरकार गठन गरेको थियो। अहिलेसम्म पनि पाण्डे मुख्यमन्त्री छन्। वाग्मतीमा एमाले नेतृत्वको सकार बन्ने सम्भावना अहिलेको परिणामले कम हुँदा कांग्रेस नेतृत्वको सरकार गठनका लागि सहज देखिन्छ।
जहाँ कांग्रेसले छलाङ मार्यो
प्रत्यक्षमा ३६ सदस्य रहेको गण्डकी प्रदेश सभा सदस्य निर्वाचनको ३५ ठाउँको नतिजा आएको छ। कांग्रेस १६ ठाउँमा जितेर पहिलो शक्ति बन्दा एमाले १२ ठाउँमा जितेर दोस्रो बन्न पुग्यो। माओवादी केन्द्र ४, नेपाल समाजवादी पार्टी १ र स्वतन्त्रले १ ठाउँमा जितेका छन् यसपटक।
५ वर्षअघि गण्डकीको प्रदेश सभामा एमाले पहिलो शक्ति बनेर उदाएको थियो। उक्त शक्तिमार्फत एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बने। त्यतिबेला एमालेका १७, माओवादी केन्द्रका ९, कांग्रेसका ६, जनमोर्चा २ र १ जना स्वतन्त्रले चुनाव जितेका थिए। तेस्रो स्थानबाट कांग्रेसले गण्डकी प्रदेशमा पहिलो स्थानमा छलाङ मारेको हो। माओवादी केन्द्र पनि यसपटक गण्डकीमा खुम्चिएको छ। माओवादी ९ बाट ४ मा झरेको छ। गण्डकीमा पनि सत्ता गठबन्धनले सरकार बनाउनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ।
एमालेले साख जोगाएको प्रदेश
एमालेका ह्वाविभेट नेता शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए २०७४ को निर्वाचनबाट लुम्बिनीमा। अहिले मुख्यमन्त्री रहेका पोखरेल प्रतिनिधि सभाको निर्वाचनमा दाङबाट पराजित भएका छन्। पोखरेल मात्रै यसपटक पराजित भएनन् उनको प्रदेश लुम्बिनिमै एमाले कमजोर देखिएको छ २०७४ को निर्वाचनमा भन्दा।
यद्यपि एमाले अहिले पनि प्रदेश सभाको प्रत्यक्ष तर्फको सिटमा पहिलो दल नै छ। प्रत्यक्षको ५२ स्थानमा १८ ठाउँमा जितेर एमाले पहिलो दल बन्दा कांग्रेसले १७ ठाउँमा जितेको छ। माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टी, नेपालले २, नागरिक उन्मुक्ति पार्टी २, लोसपाले २, राप्रपा २, जनमत पार्टी १ र स्वतन्त्रका ३ जना प्रदेश सभा सदस्य छन्।
२०७४ मा एमालेका २८, माओवादी केन्द्रका १४, कांग्रेसका ७, तत्कालीन संघीय समाजवादी फोरम नेपालका ३ जना सांसद निर्वाचित भएका थिए।
कर्णालीमा जब्बर कांग्रेस
एमाले माओवादीको एकतापछि कर्णाली प्रदेशको मुख्यमन्त्रीको भाग माओवादी केन्द्रलाई परेको थियो। महेन्द्रबहादुर शाही तत्कालीन नेकपाबाट मुख्यमन्त्री बने। केन्द्रमा सत्ता गठबन्धन बने पनि कर्णालीमा शाहीको सरकार टिकेन। हाल कांग्रेसका जीवनबहादुर शाही कर्णालीका मुख्यमन्त्री छन्।
अघिल्लो पटक १४ जना उम्मेदवार उठाएर १४ ठाउँमै जित निकालेको एमाले यसपटक कर्णाली प्रदेश सभामा ५ ठाउँमा खुम्चिएको छ। कांग्रेस र माओवादीको अवस्था भने कर्णालीमा उस्तै छ। प्रत्यक्षको २४ मध्ये ९/९ ठाउँमा जितेका छन् माओवादी केन्द्र र कांग्रेसले। कतिसम्म भने अघिल्लो पटक कर्णालीमा प्रत्यक्षतर्फ कांग्रेसले १ सिट मात्रै जितेको थियो कर्णालीमा। माओवादी र कांग्रेस मात्रै मिल्दा पनि कर्णालीमा सरकार बन्ने देखिन्छ यो पटक।
एमाले संकटमा परेको सुदूरपश्चिम
प्रत्यक्षमा ३२ सदस्य सुदूरपश्चिम प्रदेश सभामा ३० ठाउँको चुनावी नतिजा आएको छ। नेपाली कांग्रेसले ११ ठाउँमा जितेर पहिलो बन्दा माओवादी केन्द्रले ८, नागरिक उन्मुक्ति ५, एमाले ३, एकीकृत समाजवादी २ र स्वतन्त्र १ जनाले सुदूरपश्चिममा चुनाव जितेका हुन्।
कर्णालीमा जस्तै सुदूरमा पनि एमालेका लागि यसटकको निर्वाचन फलदायी रहने। १७ सिट जितेको एमाले यसपटक ३ सिटमा खुम्चिएको छ। उक्त प्रदेशमा नागरिक उन्मुक्ति पार्टी उदाएको छ। प्रदेशमा नागरिक उन्मुक्ति तेस्रो बन्दा एमाले चौथो बनेको छ प्रत्यक्षतर्फको नतिजा अनुसार।
सबै ठाउँका सरकार परिवर्तन हुँदा ५ वर्ष नै सरकार चलेको प्रदेश हो सुदूरपश्चिम। माओवादी केन्द्रका त्रिलोचन भट्टले एमाले माओवादी विभाजनका बाबजुद पनि आफू नेतृत्वको सरकार जोगाएका हुन्। एमाले संकटमा परेको सुदूरपश्चिममा यस पटक पनि सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बलियो छ।