- डा सुरेश तामाङ-
यसवर्षको तिहार राम्ररी नसकिँदै वैदेशिक यात्राको जोग मिल्यो। कोरोना महामारीपछिको पहिलो विदेश यात्रा थियो यो।
यसपालीको यात्रामा हामी दक्षिण अमेरिकाको कोलोम्बिया गयौँ। राजधानी बोगोटामा हुने सातौं स्वास्थ्य प्रणाली अनुसन्धानसम्बन्धी विश्व सम्मेलनमा भाग लिन नेपालका केही सहभागीमध्ये हामी पनि थियौं। जसमा एनएसआईका तर्फबाट तीनवटा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।
काठमाडौंबाट बिहान करिब ८ बजे टर्किस एयरलाइन्सको विमानले २० मिनेट ढिला गरेर इस्तान्बुलका लागि उडान भर्यो। आठ घण्टाको उडानपछि हामी करिब स्थानीय समय १ बजे इस्तान्बुल अवतरण भयौँ।
उडान अवधिमा बिहानको नास्ता र खाना उपलब्ध थियो। टर्किस एयरलाइन्सको सेवा राम्रो र भरपर्दो लाग्यो। विगतमा यसैको एक विमान नेपालमा दूर्घटना भएको सम्झना पनि भयो - त्यसैले यो उडान निकै सहज र सुरक्षित लागेको।
टर्कीले इस्तान्बुलमा संसारको केन्द्रका रुपमा यस नयाँ विमानस्थलको निर्माण र सञ्चालन गरेको रहेछ। विमानस्थल टर्मिनल अति आधुनिक। मृत सागर (ब्ल्याकसी)सँगै रहेको यस विमानस्थल निकै विस्तारित र व्यवस्थित पनि। जसमा सबै प्रकारका आधुनिक सुविधाहरु उपलब्ध छन्।
तर, यहाँ निःशुल्क इन्टरनेट सेवा भने केवल एकघण्टा मात्र उपलब्ध रहेछ। जहाँ भीआइपीहरुका लागि स्तरीय लाउन्जसमेत छन् तर आमयात्रीहरुले भने नियमित विश्राम क्षेत्रमा नै चित्त बुझाउनुपर्ने अवस्था छ।
यहाँ खानपिन, लत्ताकपडा, उपहारका सरसामान बिक्री गरिन्छ तर मदिरा र सुर्तिजन्य पदार्थ बिक्री गरेको मलाई मन पर्दैन। तिनको मूल्य पनि अस्वाभाविक रुपमा उच्च छ। जस्तै, एउटा सानो आधा लिटर पानीको करिब अमेरिकी २ डलर पर्छ। एक स्लाइस पिज्जा र चिसो पेयको ८ डलर पर्छ भने स्थानीय टर्किस कफिको मोल करिब ३ डलर थियो। यो नेपाली मुद्रासँगको दाँजोमा महँगो लाग्छ तर विकसित मुलुकका लागि यो सामान्य नै मान्न सकिन्छ।
हामीले इस्तान्बुल टेकेकै दिन टर्कीले आफ्नै प्रविधिमा नयाँ टोग नामको बिजुली कार उत्पादन सुरु गरेछ। अर्को साल मार्चबाट बजारमा आउने यसको एक लाख नयाँ कार बिक्री गर्ने योजना रहेको छ। यस कम्पनीले आगामी सन् २०३० सम्ममा सेडान, ह्याचब्याक, एसयुभी गरी पाँच प्रकारका सवारीहरु उत्पादन गर्नेछ। विगत ६० वर्षको मेहनतपछि उत्पादित यूरोपेली मापदण्ड प्राप्त यस कारलाई टर्किसहरुले आफ्नो रैथाने प्रविधि भएको दाबी गरेका छन्।
एक रातको लामो तर नियमित पर्खाइपछि हामी बोगोटाका लागि तयार विमान प्रवेश गर्न गेटतर्फ लाग्यौँ। तर, पनामा सिटी र बोगाटाका लागि खोलिएको गेटमा नियमित लाइन थिएन। अव्यवस्थित भिडमा कर्मचारी पनि सुस्त काम गर्दै थिए।
अन्ततः धेरै दक्षिण अमेरिकी र अन्य विदेशीहरुसहित हामी विमान प्रवेश गर्न सफल भयौँ। सायद केही यात्री त हामी जस्तै सोही सम्मेलनमा भाग लिन जाँदै थिए। म सँगै कंगोका स्वास्थ्य सेवा विभागका निर्देशक र पाकिस्तानी अनुसन्धानकर्मी पनि थिए।
उडानमा खाना र नास्ता राम्रो थियो। १३ घण्टा भन्दा बढीको निरन्तर उडान भयो। तर, विमानको फ्लाइट डाटाले काम गरेको थिएन। उडानभर हामी कहाँ छौँ, कुन मार्ग भएर जाँदछौं थाहा भएन। बिचबिचमा विमान धेरै हल्लिन्थ्यो मनमा झस्का पर्ने गरी।
यात्राकै क्रममा यसरी नै हाम्रो एक दिन गायब भयो। किनकि बिहान ९ बजे टर्कीबाट उडेको हाम्रो जहाज सोही दिन करिब ३ बजे दक्षिण अमेरिका पुग्यो। कोलाम्बियाको राजधानी बोगोटास्थित एल डोराडो विमानस्थलमा हामी उत्रियौं। जहाँ मास्क, कोभिड परीक्षण वा पूर्ण खोपको कागजी प्रमाण अनिवार्य थियो।
भिसा र सम्बन्धित कागजात देखाएर प्रवेश अनुमति पाएपछि हामी अगाडी बढ्यौँ। अनि स्थानीय पैसा साट्ने पालो आयो। १०० अमेरिकी डलरको ४ लाख ४६ हजार कोलोम्बियन पेसो भयो। तर ५, १०, २० र ५० हजार पेसोको नोटहरु थिए। जापान, फिलिपिन्स, जस्तै १००, २००, ५०० र १००० का त सिक्कामात्र नै हुने रहेछन्।
सामान लिएपछि हामीले एउटा नियमित ट्याक्सी लिएर होटलतर्फ लाग्यौँ। करिब १० किमीको यात्रा १० मिनेटमा नै सकियो। भाडा ३० हजार पेसो तिरेर हामी होटलतर्फ पस्यौँ।
बाटोमा सवारी चालकसँग धेरै कुरा भएन। उसको अंग्रेजी र हाम्रो स्पेनिस उस्तै। होटलको प्रवेशद्वारका कर्मचारीले पनि एक शब्द अंग्रेजी बोलेनन्। बरु उसको कुरा मोबाइलमा उल्था गरेर देखाए। तर, होटलका अन्य कर्मचारी खासगरी स्वागतमा त अंग्रेजी आवश्यक नै भयो।
हाम्रो लागि व्यवस्था गरिएको होटल राम्रो नै थियो। होटलकै आसपासमा अमेरिकी राजदुतावास, अस्पताल, संग्रहालय, विश्वविद्यालय, सर्वोच्च अदालत, स्वास्थ्य तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी प्रधान कार्यालय, मूख्य व्यापारिक केन्द्र र अन्य सरकारी निकायहरु पनि रहेछन्।
साँझको खानाका लागि वरिपरि चाहार्यौँ। एक सामान्य ठाउँमा खाना अर्डर गरेको चामल, आलुका २, ३ परिकार एभोकाडो, बीन, चिकेन आदि। ३ जनाको सामान्य खानालाई स्थानीय ८२ हजार पेसो तिरियो। सँगैका जापानी रेस्टुरेण्टमा भने अझै स्तरीय र महँगो खानपिनको पनि ब्यवस्था थियो।
हरेक दिन फरक स्थानीय परिकार चाख्ने क्रम चल्यो तर अत्याधिक चीजको प्रयोग, हाम्रो जस्तो घरेलु मसलाको अभाव, अझ बिफ मिसावटको शंका हुन्थ्यो। उसैगरी सामान्य होटलमा बस्दा पनि प्रतिरात ३, ४ लाख माथि रकम तिर्दा मन झसक्क भयो।
बोगोटाको भौगोलिक स्वरुप काठमाडौंजस्तै रहेछ। वरिपरि पहाडले घेरेको उपत्यका र हरियाली पनि। तर, सार्वजनिक यातायात र भौतिक पूर्वाधारका हिसाबले हामीभन्दा अलि विकासित र व्यवस्थित शहर भनौँ।
झट्ट हेर्दा भाषाबाहेक उत्तर अमेरिका झैं लाग्ने तर यहाँ पनि अमेरिकी दूतावासमा भिसाको लागि निवेदन दिनेको लस्कर हाम्रैजस्तो थियो। फराकिला सडक, हरियाचौर र सार्वजनिक स्थल प्रशस्तै थिए। दुई सडक बिचमा बगैंचा, साइकल र पैदलयात्रीका लागि निर्मित सडक एकदमै राम्रो थियो। यो सौन्दर्य, सडक सूरक्षा, वातावरण र जनस्वास्थ्यका हिसाबले अति राम्रो काम हो।
विश्वभरका स्वास्थ्य अनुसन्धानकर्ता, नीति निर्माता र स्वास्थ्यकर्मीहरुको सातौँ कुम्भमेला कोलोम्बियाको बोगोटामा सम्पन्न भयो। यो हेल्थ सिस्टम ग्लोबल र पोन्टीफिसिया युनिभर्सिडाड जेभेरियानाको आयोजनामा सन्चालन भएको थियो। यो अगोरा बोगाटा सम्मेलन केन्द्रमा ५ दिनसम्म चल्यो।
यस सम्मेलनमा संसारभरका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य प्रशांसक, अभियन्ता, प्रोफेसर तथा अनुसन्धानकर्ताहरुले भाग लिए। यस अघिको सिम्पोजियम यूएइको दुबाईमा गर्ने योजना थियो तर कोभिडका कारण अनलाइन नै सम्पन्न भयो। त्यसअघि बेलायतको लिभरपुलमा सम्पन्न भएको थियो। हरेक दुई वर्षमा हुने यो भेला भने आगामी सन् २०२४ मा जापानको नागाशाकी शहरमा हुने भएको छ।
यसमा संसारभरका १७०० माथि सहभागीहरु भएका थिए। जसमध्ये करिब १२५० भौतिक रुपमा बोगोटामा उपस्थित थिए भने करिब ४५० प्रविधिमार्फत अनलाइनमा जोडिएका थिए। उत्तर अमेरिकाबाट ३७०, अफ्रिकाबाट ३६०, युरोपबाट २७०, ल्याटिन अमेरिका र क्यारेबियनबाट २४० सहभागी भए भने दक्षिण पूर्वी एसियाबाट पनि १४०, पश्चिम प्रशान्त क्षेत्रबाट १२० र मध्यपूर्व एसियाबाट पनि ४० सहभागीहरु रहेका थिए।
यस सातौं सम्मेलनको नारा ‘स्वास्थ्य प्रणालीको प्रभावकारिता राजनैतिक सवाल : हाल र भावी विश्व चुनौतीका लागि सिकाइहरु’ भन्ने रहेको थियो। यस सम्मेलनमा स्वास्थ्यका अनेक आयामहरुमा भए गरेका अध्ययन अनुसन्धान तथा विभिन्न विषयगत ज्ञान तथा नतिजाहरु प्रस्तुति र छलफल गरियो।
यसको मूल मर्म स्वास्थ्यलाई केवल शरीर विज्ञान र चिकित्सकीय रुपमा मात्र नभई समाज, अर्थतन्त्र, मानवअधिकार, सामाजिक न्याय र समानताका आधारमा पनि बुझ्नपर्छ। संसाभरका धेरै विश्वविधालय, दातृसंस्था तथा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न निकायहरुको यसमा सहयोग र सहकार्य रहेको थियो। यसमा नेपालका केही स्वास्थ्य सुदृढीकरणमा काम गर्ने संस्थाका प्रतिनिधिहरु सरिक थिए।
यस सम्मेलनमा संसारका विभिन्न अनुसन्धानबाट प्राप्त नतिजा र नयाँ ज्ञान बाँड्ने काम भयो। मौखिक प्रस्तुति, पोस्टर र प्यानल छलफलहरु चलिरहे। प्रदर्शनीमा राखिएका पोष्टर तथा अन्य सामाग्रीहरुको पनि राम्रो बजार थियो। नयाँ क्षेत्र, विषय र सन्दर्भमा बहसहरु भए।
स्वास्थ्यको कुरा गर्दा औषधि उपचार मात्र नभई यसका सामाजिक, साँस्कृतिक र आर्थिक निर्धारकहरुमा समेत गहन चर्चा भयो। अनुसन्धानकर्ता र अभियन्ताहरुले राजनैतिक रुपमा पनि काम गर्नु पर्ने हुँदा हाम्रो भूमिका डिप्लोमेटिक हुनु पर्ने सिकाइ थियो।
हरेक दिनको सेसनहरु नियमित चले पनि सबैका आफ्नो क्षेत्रीय वा विषय लक्षित थिए। सबै परियोजनाका प्रतिवेदन र क्षेत्रिय प्राविधिक टोलीको काम र सवालहरुमा केन्द्रित थिए। दक्षिण एशिया, प्राथमिक स्वास्थ्य सुधार, मातृशिशु लगायतका विषयहरुमा हाम्रो बढी ध्यान केन्द्रित भयो। साथै विभिन्न देशका सहभागीहरुसँग अन्तर्क्रिया, रुचिका विषय र बहसमा सहभागी भइयो।
अन्तमा शहरको मूख्य आकर्षण बोलिभार स्क्वायर र पूरानो शहर ला क्याण्डलेरियाको अवलोकन तथा मोन्सारेटा पहाडको पनि भ्रमण गरियो। स्थानीय बजारमा सामान्य किनमेल गरियो। कफी, छाला र काठबाट बनेका हस्तकलाका सामानहरु, कपडा आदि। बजार भाउको हिसाबले यो देश सस्तो नै पाइयो।
हाम्रो विमानले बोगोटाबाट फर्कने क्रममा पनामा सिटीमा छोटो उडान भर्यो। त्यहाँबाट उडेपछि भने रातभरका एटलान्टिक महासागरमाथिको यात्रा निकै कष्टकर भयो। विमान धेरै हल्लिरहन्थ्यो। सायद बर्मुडा त्रिकोणमाथि भएर पनि होला कि भन्ने हाम्रो मनमा चिन्ता थियो। सामान्यत यात्रा मन पराउने मलाई यसपालीको यात्रा अलि कठिन भएपनि केही कुरा नौलो र उत्साहजनक नै भयो।