PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रवि लामिछानेको नागरिकता र राहदानी विवादको पत्र प्रहरीमा, अनुसन्धान गर्दै काठमाडौं प्रहरी



पहिलोपोस्ट

रवि लामिछानेको नागरिकता र राहदानी विवादको पत्र प्रहरीमा, अनुसन्धान गर्दै काठमाडौं प्रहरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रहरीले छानबिन थालेको छ।

निर्वाचन आयोगबाट गृह मन्त्रालय हुँदै लामिछानेको नागरिकता विवाद जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता र राहदानीको विषयको अनुसन्धान गर्ने जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र पठाएको थियो। त्यसपछि काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको हो।

'जिल्ला प्रशासन कार्यालयबाट छानबिन गर्नु भनेर पत्र आएको छ। त्यसबारे हामी हेर्दै छौँ,' जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले भने।

लामिछानेले अमेरिकाको राहदानी र नेपालको राहदानी दुवै लिएर कानुनको दुरुपयोग गरेकोसमेत आरोप लागेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा रविको नागरिकतालाई लिएर निर्वाचन अगाडि नै उजुरी परेको थियो। निर्वाचन आयोगले आफ्नो निकायभन्दा बाहिर गएर अनुसन्धान गर्नुपर्ने विषयमा ७ दिनभन्दा बढी समय लिएर अनुसन्धान गर्न सकिने बताएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्ता घटनामा निर्वाचित भइसकेपछि पनि अदालतमा मुद्दा लग्न सकिने बताएका थिए।

चितवन २ बाट उम्मेदवार बनेका लामिछाने सबै भन्दा धेरै मतान्तरमा विजयी भइसकेका छन्। उनी ३४ हजार २६४ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। लामिछानेले ४९ हजार दुई सय ६१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए। सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरेका थिए।

लामिछाने जति चर्चामा छन् त्यसमा उनका विवाद पनि उतिकै रहेका छन्। शालिग्राम पुडासैनीको आत्यहत्या प्रकरणदेखि अमेरिकी नागरिक भएर नेपालमा श्रम अनुमति नलिई काम गरेको विषयमा उनी विवादमा तानिएका थिए। अहिले फेरि लामिछानेको नेपाली नागरिकता विषय पेचिलो बनेको छ। श्रमजीवि वर्गका 'मसिहा' बन्ने रविको विपक्षमा बोल्नु सामाजिक सञ्जालमा रविमाथि आलोचना गर्नु 'भगवानको अपहेलना' गर्नु सरह भइसकेको छ। यस्तो अवस्थामा प्रहरी प्रशासनले कसरी अनुसन्धान गर्छ र सम्बन्धी निकायले कस्तो निर्णय गर्न भन्ने विषय चुनौतीपूर्ण नै देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell