PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सीएमआर जर्नालिज्म एकेडेमीको सुरुवात



पहिलोपोस्ट

सीएमआर जर्नालिज्म एकेडेमीको सुरुवात

काठमाडौं : पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सेन्टर फर मिडिया रिसर्च नेपालले 'सीएमआर जर्नालिज्म एकेडेमी' संचालनमा ल्याएको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा नेपालमा जर्नालिज्म एकेडेमी संचालनमा ल्याइएको हो।

शुक्रवार एकेडेमीको शुभारम्भ कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक उज्जवल आचार्यले नेपाली पत्रकारको क्षमता अभिवृद्धिका विविध आयमबारे जानकारी दिएका थिए। पत्रकारको क्षमता अभिवृद्धिका लागि मोबाइल जर्नालिज्म, पोडकास्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिट्रेसी, डेटा ड्रिभन जर्नालिज्म, डिजिटल मिडिया प्रडक्सन लगायतका विषयमा तालिम सञ्चालन गरिने जानकारी उनले दिए।

पत्रकारको क्षमता अभिवृद्धिको अभियानमा नेपाल पत्रकार महासंघले सहकार्य गर्न तयार रहेको महासंघका सचिव पवन आचार्यले बताए। उनले महासंघले एकेडेमी संचालन भएकोमा पठाएको शुभकामना पढेर सुनाएका थिए।

जर्नालिज्म एकेडेमीको उद्घाटन गर्दै नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्सले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अनिवार्य रहेको बताए। जर्मनको पत्रकारितादेखि नेपालसम्मका विभिन्न सन्दर्भलाई जोड्दै राजदूत प्रिन्सले डिजिटल युगमा मिथ्या सूचनाको महामारी चिर्न आवश्यक रहेको  पनि बताए। उनले सीएमआर एकेडेमीले त्यस क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएका थिए।

इन्टरलिङ्क एकेडेमीका प्रबन्ध निर्देशक भेर्नर एगर्टले सीएमआरसँगको सहकार्यबारे जानकारी गराएका थिए। इन्टरलिङ्कले सीएमआरसँगको सहकार्यमा यसअघि मोबाइल डेटा ड्रिभन जर्नालिज्म लगायतका तालिममा सहभागिता जनाइसकेको छ। एगर्टले नेपालको पत्रकारितालाई सहयोग पुर्‍याउन एकेडेमीले काम गर्नुपर्ने बताए।

सीएमआर नेपालका अध्यक्ष तृष्णा आचार्यले यसअघि इन्टरलिङ्कले पुर्‍याएको सहयोगका लागि धन्यवाद प्रकट गरेकी थिइन्। साथै उनले एकेडेमी सुरुवातलाई प्रारम्भिक कदम भन्दै नेपाली पत्रकारिताको विकासका लागि धेरै लामो यात्रा तय गर्नुपर्ने आवश्यकता औल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell