PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने करिब ‘निश्चित’: गणना अन्तिम चरणमा, अपुग मत अझै करिब १८ हजार



पहिलोपोस्ट

एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने करिब ‘निश्चित’: गणना अन्तिम चरणमा, अपुग मत अझै करिब १८ हजार

काठमाडौंः प्रतिनिधि सभाको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले अब एक लाख हाराहारीमा मत गन्न बाँकी रहेको जनाएको छ। शुक्रबार राति १० बजेसम्म गणनाको एक करोड तीन लाख ९२ हजार ९३४ मत सदर भइसकेको छ। 

प्राप्त मत अनुसार सात वटा राजनीतिक दलले थ्रेसहोल्ड पार गरेका छन्। थ्रेसहोल्डका लागि संघर्ष गरिरहेको नेकपा (एकीकृत समाजवादी) भने डेन्जर जोनमै छ। अहिलेकै अवस्था अनुसार एकीकृत समाजवादीले तीन प्रतिशत मतको सीमा पार नगर्ने करिब निश्चितजस्तै भइसकेको छ। 

समाजवालीले दुई लाख ९४ हजार ८३ मत पाएको छ। तीन प्रतिशतको सीमा पार गर्न सदर मतअनुसार यतिबेला कम्तीमा तीन लाख ११ हजार ७८९ मत आवश्यक थियो। तीन प्रतिशतको सीमा पूरा गर्न समाजवादीलाई अझै १७ हजार ७०६ मत कम छ। 

अहिलेसम्मको मतगणनाको ट्रेन्ड अनुसार समाजवादीले तीन प्रतिशत मत पूरा गर्ने सम्भावना देखिन्न। 

जारी गणनामा नेकपा (एमाले) को अग्रता कायमै छ। एमालेले २७ लाख ७९ हजार ७६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत पाएको छ। ११ लाख ६१ हजार ४०८ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ। 

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख २१ हजार १५५ मत रहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार २७ मतसहित पाँचौँ स्थानमा छ। छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टी नेपालको ४ लाख २० हजार ९३८ मत छ। राष्ट्रिय दल बन्ने अन्तिम सूचीमा रहेको जनमत पार्टीको तीन लाख ९४ हजार ३६८ मत रहेको छ। 

प्रत्यक्षतर्फ अहिले दोलखा, बाजुरामा गणना भइरहेको छ। यस्तै, स्याङ्जाको एक निर्वाचन क्षेत्रमा पनि गणना जारी छ। समानुपातिकको पनि तीनै क्षेत्रमा गणना निरन्तर रहेको निर्वाचन आयोगले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell