PahiloPost

Oct 30, 2024 | १४ कात्तिक २०८१

दिग्भ्रमित माओवादी एकता केन्द्र



पहिलोपोस्ट

दिग्भ्रमित माओवादी एकता केन्द्र

  • सुभाषचन्द्र देवकोटा-

कुनै बेला एमालेलाई हिंग बाँधेको टालो भनेर प्रचण्डहरु खल्तीको रुपाल निकालेर खुला मञ्चमा टकटक्याउँथे। तत्कालिन माओवादी नेताहरु आफ्ना हरेक भाषणहरुमा एमालेलाई लिङ्ग नछुटेको नपुसंक भनेर नै थाक्दैनथे। तर, विडम्बना, आज इतिहास दोहोरिएको छ। अब माओवादी केन्द्रलाई नै मान्छेहरु हिंग बाँधेको टालो र लिंग न छुटेको नपुसंक भनेर विल्ला हानिरहेका छन्। गिज्याई रहेका छन्।

विचार राजनीतिको मेरुदण्ड हो, जसले कुनै पनि राजनैतिक दललाई गन्तव्यसम्म पुग्नको लागि दिशा निर्देशन गरिरहेको हुन्छ। तर आफूलाई नेपाली राजनीतिको चतुर खेलाडी ठान्ने माओवादी केन्द्र आज त्यै मेरुदण्डविहिन राजनैतिक यात्राको एक्लो नायक भएको छ। बेलाबखतमा एक्काइसौँ सताब्दीको नयाँ जनवाद नै आफ्नो राजनैतिक कार्यक्रम भएको बताए पनि त्यसलाई पुष्टि गर्ने गरी माओवादीसँग न त कुनै राजनैतिक र आर्थिक खाका छ न त व्यवहारमा देखिने गरी सत्तामा पुग्दा गरिएका कुनै कामहरु नै छन्। विचारविहीन राजनीतिक यात्रा आखिर अन्धकारको जंघार हो भन्ने कुरा माओवादी केन्द्रका नेता गणहरुले किन बुझेका छैनन्?

हिजोको अजंगको मओवादी राजनीति आज आएर स्वयं प्रचण्ड कै शब्दमा भन्नु पर्दा कलाविहीन नाटकमा रुपान्तरित हुनपुगेको छ। प्रचण्डहरुमा पलाएको चरम महत्वाकांक्षा र अराजनैतिक साँठगाँठ र उठबसका कारण हजारौं माओवादी कार्यकर्ताहरुको भविष्य भताभुंग मात्र बनेको छैन नेपाली जनताका सपनाहरु मथि समेत तुसारापात भएको छ। विचार, सिद्धान्तले निर्दिष्ट गरेको बाटो छोडेर सत्ता प्राप्तिको सजिलो उपायको खोजीले गर्दा नेपाली माओवादी आन्दोलन छरपष्ट भएको छ। पार्टीमा हुर्कदै गरेको वैचारिक, साँस्कृतिक विचलन र नेतृत्वको मौकापरस्त व्यवहारले गर्दा मओवादी केन्द्र बिना पीँधको लोटा जस्तै न यताको न उताको बन्न पुगेको छ।

हिजो सर्वाहाराको पार्टी भनेर फुर्ती लगाउने माओवादी केन्द्र हेर्दा हेर्दै केही वर्षमै नव कुलिनहरुको सामन्ती पार्टीमा परिणत भएको छ। हिजो हरिया चप्पल पड्काएर शहर छिरेका सर्वाहाराका नेताहरु ठूला-ठूला हाउजिङ कम्पनीका मालिक भएका छन्। नोकरचाकर राख्ने राजा महाराजा जस्ता भएका छन्। देश परिवर्तन गर्ने, जनताको हैसियत परिवर्तन गर्ने कसम खाएकाहरु नै आफै परिवर्तन भएपछि जनताले कस्को भरोसा गर्ने? नेपालको राजनीति परिवर्तनमा माओवादी आन्दोलनको योगदान समकालिन अन्य राजनैतिक दलहरुको भन्दा कम पक्कै थिएन। तर, देशको राजनीति तथा सामाजिक रुपान्तरणका लागि त्यत्रो योगदान गरेको पार्टी आफ्नै कारण आज आएर रापताप सकिएर अस्तित्वको लागि संघर्ष गर्नु पर्ने अवस्थामा आइपुगेको छ।

एकै दिनमा तीन तिर फर्केर तीन थरी कुरा गर्ने कपटी, स्वार्थी  नेताहरुको कमी छैन माओवादी पार्टीमा। तर, उनीहरुको लागि कम्युनिष्ट आन्दोलनले स्थापित गरेका मूल्य मान्यताहरुप्रति न कुनै सरोकार छ न त हिजो जनयुद्धको बेला गरेका बाँचाहरु तथा राजनीति प्रतिबद्धताहरुबारे कुनै चिन्ता छ। नेतृत्व र तीनका वरीपरी गणेश भक्तिमा लागेकाहरु राजसी जीवन बिताउँदा, सामान्य कार्यकर्ताहरु भने चरम निरासा र अभावको जीन्दगी जीउन बाध्य बनेका छन्। माओवादी पार्टीभित्र देखिएको यस्तो चरम अवसवादी प्रबृत्ति र विचलको कारण स्वंय माओवादी पार्टी निर्वल र निरिह बनेको छ। दूरभाग्य, हिजो अमूक राजनैतिक दललाई नपुसंक र हिंग बाँधेको टालो भनेर खुला मञ्चमा खिसि गर्ने माओवादी केन्द्रलाई आज आफ्नै अस्तित्व रक्षा गर्न पनि हम्मे हम्मे परेको छ।

हिजो जनयुद्धको नेतृत्व गर्ने नेताहरु नै पूँजीवादी सत्ताको अगेनामा बसेर शहीदहरुको सपनाको रोटी सेकेर खान थाले पछि बबुरा कार्यकर्ताहरुले कसको मुख हेरेर चित्त बुझाउने। हिजो सर्बहाराको बर्गको अगुवा भनिएका नेताहरु नैआज आएर धन युद्धमा निरलिप्त भएपछि जनताले कसको मुख हेर्ने?

गरिबी र सबै खाले विभेदहरुबाट मुक्ति माओवादीहरुले दश वर्षे जनयुद्ध गर्दा जनतालाई बाँडेको एउटा सपना मीठो  थियो। तर, १५,१६ वर्षको अवधिमा पटक-पटक सत्तामा पुग्दा पनि जनतालाई बाँडेका यी सपनाहरु पूरा गर्न माओवादी केन्द्रले कुनै तत्परता देखाएन। जनताको आर्थिक सामाजिक हैसियत सुधार्न कुनै विशेष कार्यक्रमहरु सार्वजनिक गर्न सकेन। जनताहरु दुब्लाउँदै जादा सर्वाहारा भनिने नेताहरु भने मोटाउँदै गए। जनताका हैसियत उचाल्ने कुराहरु उनीहरुको प्राथमिकतामा कहिल्यै परेनन्।

नेपालको सन्दर्भमा राष्ट्रिय स्वाधीनताको विषय कम्युनिष्ट आन्दोलनको मेरुदण्ड हो। भारतीय विस्तारवाद र त्यसको हस्तक्षेपको विरुद्ध प्रतिरोध युद्धको नाममा रुकुम, रोल्पाका जंगलहरुबाट सुरुङ युद्ध गर्न तम्सिएका माओवादीहरु आज आएर सत्ताको लागि तीनै विस्तारवादी एवं प्रभुत्ववादी शक्तिहरुसँगको साँठगाँठमा लिप्त र लालयित देखिएको छ। यथार्थमा, राष्ट्रिय स्वाधीनताका सवालहरुमा समेत माओवादी केन्द्र ईमान्दार बन्न र राष्ट्रियताको सवालमा नेपाली कम्युनिष्ट आन्दोलनको स्प्रीटलाई पक्डन सकेको छैन। यसरी सत्ताको लागि नैतिक अनैतिक गठनबन्धनमा सामेल हुने तथा विदेशीसँग लम्पसार पर्ने प्रबृत्तिले माओवादी केन्द्रको प्रगतिशिल राष्ट्रवादको गाँठी कुरालाई छरपष्ट र उदाङ्गो पारिदिएको छ।

राष्ट्रियता र जनजीविका सवालहरु हात्तीको देखाउने दाँत भएपनि नेपालको सन्दर्भमा माओवादी आन्दोलन कम्युनिष्ट नेताहरुको लागि राजनीती शक्ति आर्जन गरेर सत्ताको अभिष्ट पूरा गर्ने हतियार भनै राम्रै भएको छ। यो उपक्रममा माओवादी केन्द्र पछिल्लो उदाहरण बन्न आइपुगेको छ।

हिजो स्पष्ट विचार र गन्तव्य बोक्दा नेपाली राजनीतिमा माओवादी एकता केन्द्र अजंगको पहाड भएर उभिएको थियो। तर, आज त्यै माओवादी एकता केन्द विचार र गन्तव्यबाट स्खलित हुँदा मरिचझै चाउरिँदै गएको छ। अस्तित्व रक्षाको लागि नेपाली कांग्रेसको पाखुरा समातेर उभिने प्रयत्नमा लागेको छ। तर, सुन्तलाको बोटमा अम्बाको कलमी गरेर अम्बा फल्दैन भन्ने कुरा २०७९ को निर्वाचन परिणामले नै स्पष्ट पारिदिएको छ।

राजनीति नेतृत्वको असफल कर्यदिशाको कारण माओवादी केन्द्रको राजनीति भीरमा झुण्डिएको फर्सी जस्तै भएको छ। तसर्थ, अब पार्टीलाई जीवन्तता प्रदान गर्नको लागि बेलैमा वैचारिक र सांगठानीक पुनर्गठन गर्नु जरुरी छ। इतिहासको ब्याज खाएर मात्र राजनीति चल्दैन भन्ने कुरा समग्र नेतृत्वले बुझ्नु पर्दछ। अब पारदर्शी तथा उदयमान पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्दछ।

महाभारतको कथामा कर्णहरुले बनाएको चक्रव्यूहमा अभिमन्यू फसेका थिए। तर, विडम्बना, आज माओवादी केन्द्र आफ्नै नेतृत्वको कुण्ठा, अक्रमण्यता र सत्ता मोहको चक्रव्यूहमा फस्न पुगेको छ। सजिलो त पक्कै पनि छैन, तर कम्युनिष्ट आन्दोलन र पार्टीको निष्ठा र शाख बचाउँने हो भने स्वयं कार्यकर्ताहरु अग्रसर भएर नेतृत्वको त्यस्तो अहंकार, कुण्ठा र सत्ता मोहको चक्रव्यूहलाई तोड्नै पर्दछ। यो नै पार्टी र आन्दोलको रक्षा गर्ने अन्तिम विकल्प हुन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell