PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्री चलाउन सक्ने आँट छ, अनुभव छ : प्रकाशमान सिंह



पहिलोपोस्ट

प्रधानमन्त्री चलाउन सक्ने आँट छ, अनुभव छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूमा प्रधानमन्त्री चलाउन सक्ने आँट भएको बताएका छन्। शनिवार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री बन्न आफूसँग अनुभवसमेत भएको बताए।

'प्रधानमन्त्री हुनुपर्‍यो भन्नुहुन्छ। प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्‍यो। तपाईहरुले मलाई मत त्यही भएर दिनुभएको हो। जनप्रतिनिधि बन्न पदमै जानुपर्छ भन्ने छैन त। पदमा पुगे झनै राम्रो। तर मैले गर्नुपर्न जिम्मेवारी म पुरा गर्छु। प्रधानमन्त्री भइदिएको भए हुन्थ्यो भन्नु राम्रो हो,' नेता सिंहले भने, 'तर परिस्थिति कस्तो हुन्छ हेरौं। म कर्ममा विश्वास गर्ने मान्छे। फल भनेको कुरा यस्तै हो। तर म मा कन्फिडेन्स छ। आँट छ। अनुभव छ।'

प्रधानमन्त्री बन्नका लागि धेरै कुरा मिलाउनुपर्ने हुँदा यो पदमा पुग्न सजिलो भने नहुने उनको भनाई थियो। 'भोट खेर पठायो, प्रधानमन्त्री बनेको खै त? भन्नलाई त सजिलो होला। हुनलाई त धेरै कुरा मिलाउनुपर्ने हुन्छ नि त। त्यो कुरा तपाईहरुले बुझ्दिनुपर्‍यो,' सिंहले भने।

अघिल्लो पटक कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवासँग संसदीय दलमा सिंह भिडेका थिए।

त्यसैगरी नेता सिंहले राजधानीको खानेपानी समस्या र सुकुम्बासी समस्या चाँडै समाधान हुने वचन दिए। उनले राजधानीवासीको खानेपानी समस्या चाँडो समाधान होस भनेर आफूहरु लागि परेको जनाए। मेलम्ची खानेपानि परियोजना निरन्तरता हुन नसक्नुको कारण बुझ्न आफूहरु मेलम्ची खानेपानी मुहानमै पुगेर जानकारी लिएर आएकाले केही ब्यवहारिक र प्राविधिक समस्या तत्कालै समाधान गराउ प्रधानमन्त्रीसँग छिट्टै भेटेर समाधानको पहल गर्नेसमेत वचन दिए। सिंह बिहीवार मेलम्चीको मुहान तेम्बाथान पुगेका थिए।

उनले सुकुम्वासीहरूको समस्या चाँडै समाधान गरिने उल्लेख गरे। ‘यहाँ सुकुम्वासीहरूको पनि समस्या देखिएको छ। अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ। आयोगको दिएको सुझावअनुसार हामीले तीव्रताका साथ सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ नेता सिंहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell