PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

विद्यार्थीहरुको बालकथा सङ्ग्रह 'मित्रता'



पहिलोपोस्ट

विद्यार्थीहरुको बालकथा सङ्ग्रह 'मित्रता'

ललितपुर : विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले लेखेको बालकथा सङ्ग्रह ‘मित्रता’ सार्वजनिक भएको छ। ललितपुरस्थित धापाखेलमा रहेको जुगल स्कुलका विद्यार्थीहरुले लेखेको उक्त कथा सङ्ग्रहलाई ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले सार्वजनिक गरेका हुन्।

स्कुलकै प्राङ्गणमा शनिवार आयोजित अभिभावक दिवसको अवसर पारी कथाको किताब विमोचन गरिएको हो। किताबमा १७ विद्यार्थीले लेखेका कथा छन्। स्कुलले नै प्रकाशन गरेको कथाहरु दिवंगत बाल साहित्य सर्जक विनय कसजुले सम्पादन गरेका हुन्। यसअघि नै तयार रहेको किताब कोरोनाका कारण ढिला प्रकाशन भएको स्कुलका सहायक प्रिन्सिपल सुमन केसीले बताए।

विद्यार्थीले नै लेखेको किताब सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी लागेको प्रतिष्ठानका कुलपति कर्माचार्यले बताए। यता अध्यक्ष प्रधानले भने बालबालिकामा प्रतिभा हुने र ती प्रस्फुटन गराउने अवसर अभिभावक र शिक्षकले प्रदान गर्न सकिने धारणा राखे। प्रधानले किताब पढ्ने बानी बसाल्न अभिभावक आफैले मोबाइल तथा कम्युटरको प्रयोगमा कमी ल्याउनुपर्ने बताए। सोही अवसरमा बालबालिकाले नाचगान तथा नाटक प्रस्तुत गरेका थिए। बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल ईश्वर केसीले बताए।

बाल कथा सङ्ग्रह किताबमा सन्जित राउतको चित्र रहेको छ। ५२ पृष्ठको किताबको मुल्य ३०० रुपैयाँ तोकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell