PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव



पहिलोपोस्ट

सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौंः नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सम्पन्न भएको छ। ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि  सुरु भएको फेस्टिभल शनिबार सकिएको हो।

समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो।

मन्त्री शर्माले समाजमा भएका घटना र कथाहरुलाई प्रस्तुत गर्ने नाटक आफैँमा महत्त्वपूर्ण क्षेत्र रहेको बताए।

‘नेपाली नाट्य इतिहासको छोटो अवधिमा पनि विकास हुँदै आएको छ। र, यस महोत्सवसम्म आइपुग्दा गर्नुभएका महत्तवपूर्ण अभिनय लेखन र प्रस्तुतिबाट फेरि मानिसहरुको ध्यान आकर्षण भएको छ।’ शर्माले भने, ‘सरकारको एक प्रतिनिधित्वको हैसियतले भन्नुपर्दा यति ठूलो क्षेत्रमा सरकारको आँखा पुगिरहेको छैन। यहाँहरुले आवश्यक सहयोग प्राप्त गर्नुभएको छैन जुन मैले महसुस गरेको छु। भावी दिनहरुमा आवश्यक सहयोग गर्नेछु। कलेजको रुपमा सञ्चालन गर्न सकियोस् भन्ने यहाँहरुको शुभेच्छा छ। त्यसलाई नीति र योजनामा सहयोग गर्नेछु।’ 

मण्डला थिएटरका निर्देशक सिर्जना सुब्बाले पनि महोत्सव भव्य रुपमा सम्पन्न भएको खुसी व्यक्त गरिन्। कोभिड १९ को लामो अन्योलपछि चलायनमान हुन लागेको रङ्गमञ्चलाई नयाँ उर्जा दिन सकेको उनको भनाई छ।

समापनका दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो। आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन भएको थियो। महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास पनि गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell