PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कहिले सकिन्छ समानुपातिकको मत गणना? संसद्मा कुन दल कति बलियो?



प्रकाश भण्डारी

कहिले सकिन्छ समानुपातिकको मत गणना? संसद्मा कुन दल कति बलियो?

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। दोलखा र बाजुरा बाहेकका ठाउँको समानुपातिक तर्फको मत गणना सम्पन्न भएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दोलखा र बाजुरामा पनि चाडै समानुपातिक तर्फको मत गणना सम्पन्न हुने जानकारी दिए।

दोलखा र बाजुराको मत गणना २ दिन भित्र

धाँधली भएको भन्दै आयोगमा उजुरी परेपछि दोलखामा पुनः मतदान भएको थियो भने स्याङजा र बाजुरामा रोकिएको मत गणना केही दिनअघि सुरु भएको थियो।

मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनको अधिकांश ठाउँको मतगणना निर्वाचन सम्पन्न भएको हप्तादिन भित्रै आइसकेको भएपनि विवाद भएको ठाउँमा भने रोकिएको थियो।

विवादित ठाउँमा आयोगले अध्ययन टोली नै बनाएर निचोडमा पुगेको हो। प्रवक्ता पौडेलले २० गतेभित्र सबै ठाउँमा समानुपातिक तर्फको मत गणना सम्पन्न हुने बताए।

‘बाजुरा र दोलखा बाहेकका ठाउँमा सकिसकेको छ। अब बढीमा २ दिन, त्यो भनेको २० गतेभित्र सबै ठाउँको आइसक्छ,’ उनले भने।

एकीकृत समाजवादीले पार गरेन ‘थ्रेस होल्ड’

आइतवार बिहानसम्मको मत गणना अनुसार १ करोड ४ लाख २० हजार १२५ सदर मतमा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले ३ प्रतिशतको थ्रेस होल्ड पूरा गरेको छैन्। समानुपातिकमा ३ प्रतिशतको थ्रेस होल्ड पार गर्न ३ लाख १५ हजार भन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ। सबैभन्दा पछिल्लो पटक गणना भएकोमध्ये स्याङजा २ मा एकीकृत समाजवादीले न्यून मत ल्याएको छ।

समानुपातिकमा स्याङजा २ मा कांग्रेसले सबैभन्दा धेरै २७ हजार ९९९ मत ल्याउँदा एकीकृत समाजवादीले ४१० मत मात्र ल्याएको छ। एकीकृत समाजवादीले समानुपातिकमा २ लाख ९४ हजार ३६२ मत पाएको छ। थ्रेस होल्ड पार गर्ने अझै २० हजार भन्दा बढी मत एकीकृत समाजवादीलाई आवश्यक छ।

७ दल बने राष्ट्रिय पार्टी

हालसम्म थ्रेस होल्ड पार गर्ने ददलको संख्या ७ रहेको छ। प्रत्यक्षतर्फ दोस्रो भएको नेकपा (एमाले)ले समानुपातिकमा भने सबै दलको भन्दा बढी मत पाएको छ छ।

२७ लाख ८८ हजार ३५६ मत एमालले पाएको हो। नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ११ लाख २४ हजार ५४३ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले ४ लाख २० हजार ९४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत पाएका छन्।

समानुपातिकमा कसको सिट कति?

१ करोड ७९ लाख ८८ हजार ५७० जम्मा मतदाता रहेकोमा ६१ प्रतिशत अर्थात १ करोड ९ लाख ७३ हजार २७ मतदान भएको निर्वाचन आयोगले जनाएको थियो। समानुपतिकमा आयोगले सदर मतलाई मात्रै गणनामा राखेको छ।

हालसम्मको आँकडा अनुसार एमालेले प्रतिनिनिधिसभाको समानुपातिकतर्क ३३ सिट पाउने छ। नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपा ७, जसपा ६, जनमत पार्टीले ५ सिट पाउने देखिन्छ।

संसद्मा कुन दलको कस्तो स्थिति?

समानुपातिक र प्रत्यक्ष गरेर संसद्मा सबैभन्दा ठूलो दल कांग्रेस बनेको छ। उसको प्रतिनिधिसभामा ९० सिट हुने छ। एमालेको ७६ सिट, माओवादी केन्द्रको ३१ सिट हुने छ। रास्वपाको २३, एकीकृत समाजवादी १०, राप्रपा १४, जसपा १३, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १ र स्वतन्त्र ५ जना रहने छन्।

निर्वाचनको मत गणना अन्तिममा पुगेसँगै राजनीतिक दलहरुले सरकार गठनका लागि गृहकार्य थालेका छन्। सत्ता गठबन्धन दलहरुले पार्टीभित्र र बाहिर पनि सरकार गठन बारे छलफल गरिरहेका हुन्। संसद्मा ६ सिट कायम हुने जनमत पार्टी र ३ सिट भएको नागरिक उन्मुक्ति पार्टीलाई पनि सत्ता गठबन्धनमा सहभागी गराउन सत्तारुढ दलका नेताहरुले गृहकार्य सुरु गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell