
हेटौंडा : राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाही गर्न माग गर्दै केन्द्रीय कार्यालयमा पत्रचार गरिएको छ। न्यौपानेले समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारेर निर्वाचनको अन्तिम समयमा अन्य पार्टीको उम्मेदवारसँग भेट गराएर सेटिङ गरेको भन्दै उनलाई कारबाही गर्न माग गरिएको हो।
न्यौपानेको गतिविधिले आफ्ना उम्मेदवारलाई ठूलो क्षति पुगेको भन्दै वाग्मती प्रदेश कोषाध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार टाकाराज थापा, क्षेत्र नम्बर २ का उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला, सचिव रामप्रसाद अर्याल, समानुपातिक उम्मेदवारहरु नुरमान प्रजा, सुनिता राईसहित ४७ जनाले हस्ताक्षर गरि केन्द्रीय समितिमा निवेदन दिएका हुन्।
पत्रमा न्यौपानेलाई कारबाही नगरिए आफूहरुले पार्टी छाड्ने चेतावनी समेत दिइएको छ। न्यौपानेले मकवानपुर २ ‘ख’का उम्मेदवार एवं नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँसँग सेटिङ गरेको आफूहरुसँग प्रमाण समेत रहेको भन्दै यस्तो प्रवृत्तिले राष्ट्रिय स्वतन्त्र पार्टीको मूल्य-मान्यतामा असर परेको थापाको दाबी छ।
तर, सभापति राजकुमार न्यौपानेले भने निर्वाचनमा हार व्यहोरेपछि गुट बनाउने समूहले आफूलाई विभिन्न किसिमका आरोप लगाएको बताए।
‘निर्वाचनमा हार भएपछि गुट बनाउन सुरु भयो। हामीले जो मान्छेलाई उम्मेदवार बनायौँ त्यो बनाउनु नै गलत भयो’, उनले भने, ‘उहाँहरुले आफ्नै पार्टीका महिला साथीहरुको चरित्र हत्या गर्ने काम पनि भएको प्रमाणहरु आउन थालेपछि बैठक बसेर कारबाहीको प्रकृया सुरु गरेपछि मलाई घेराबन्दीमा पारियो।’
न्यौपानेले उपस्थित नै नभएको मान्छेको समेत आफैले हस्ताक्षर संकल गरेर पत्र पठाएको भन्दै यो कुरा केन्द्रसम्म पुगेको हुनाले केन्द्रले नै निर्णय गर्ने जानकारी दिए।