PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विदेशीदाताको सहयोगमा घर बनाइदिने प्रलोभन देखाउँदै लाखौँ रकम लिएर फरार



रासस

विदेशीदाताको सहयोगमा घर बनाइदिने प्रलोभन देखाउँदै लाखौँ रकम लिएर फरार
फाइल फोटो।

भैरहवा : रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन्। विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौँ असूल गरी अहिले ती युवा फरार छन्।

रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निकाय धाइरहेका छन्। सम्मरीमाई गाउँपालिका-७ बस्ने मकसुद मुसलमानले कोटहीमाई, सम्मरीमाई तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाका एक सयभन्दा बढी स्थानीयलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको छ।

मर्चबारको भैँसागाहन बस्ने उनी आफ्नो छेउछाउका गाउँमा घर बनाइदिने भन्दै विपन्न परिवारलाई आश्वासन दिने र फारम भर्नुपर्ने भन्दै रकम माग गर्दथे। उनले फारम भर्न र अन्य प्रक्रियाका लागि भन्दै प्रतिव्यक्ति एक लाख ५५ हजार रुपैयाँसम्म रकम लिने गरेको पीडितहरुले बताएका छन्।

कोटहीमाई गाउँपालिका-१ सिपवा बस्ने जमिरुन निशाको नौ जनाको परिवार एउटै कोठामा गुजारा गरिरहेको थियो। दैनिकजसो टोलमा आउने मकसुदको प्रलोभनमा उनी परे र उनले घर बन्ने आशमा कृषि विकास बैंकबाट एक लाख आठ हजार रुपैयाँ कर्जा लिएर मकसुदलाई बुझाए। रकम बुझाएदेखि मकसुद सम्पर्कमा नआएको जमिरुनले बताए। दैनिक ज्यालादारी गरी खाने उनको परिवारलाई अहिले बैंकको ब्याजले पिरोलेको छ।

रकम लिएको कुनै रसिद वा कागजसमेत नपाएको जमिरुनको भनाइ छ। कोटहीमाई-१ कै परस्पुर बस्ने ८० वर्षीय मंहगु हरिजन र उनकी श्रीमती सिगारीले ज्येष्ठ नागरिक भत्ताबाट पाएको रकम घर बनाइदिने आश्वासपछि प्रलोभनमा परेर ५४ हजार रुपैयाँ मकसुदलाई बुझाएको जानकारी दिए।

मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो सङ्कलन गर्न तथा जग्गा नापजाँच गर्न कर्मचारीसमेत राखेको पीडितले बताएका छन्। ठगीमा परेका पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा गत कात्तिक २१ गते नै यसबारे उजूरी दिएका छन्। सोही दिन जिल्ला प्रशासन कार्यालयले सक्कलै निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो।

जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय मर्चवारलाई निज मकसुदलाई पक्राउ गर्न पत्राचार गरेको थियो। प्रक्रियामा गए पनि न्याय नपाएको पीडितको आरोप छ। पत्र आए पनि प्रहरीले मकसुदलाई पक्राउ गर्न तदारुकता नदेखाएको निवेदक प्रेमलाल कोहारको आरोप छ।

लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलवारका प्रेमलाल कोहार, माया कुर्मी, गुडिया लोध र गीता हरिजनलगायतले संयुक्त निवेदन दिएका छन्। पक्की घरको आशमा ऋण लिएर मकसुदलाई जनही एक लाख ५५ हजार रुपैयाँ दिएको निवेदकहरुको भनाइ छ। यस विषयमा इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख, प्रहरी निरीक्षक तेजबहादुर खत्रीले पटक-पटक प्रहरी मकसुदको घर पठाउँदा पनि फेला पर्न नसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell