
विश्वकप फुटबल अन्तर्गत गएराति भएको अन्तिम १६ को खेलमा सेनेगललाई पराजित गर्दै इङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग भेट पक्का गर्यो। अल बेयत स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोलले पराजित गरेको हो।
३८औँ मिनेटमा जुड बेलिङहामको क्रसमा गोल गर्दै जोर्डन हेन्डरसनले इङ्ग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा बेलिङहाम र फिल फोडेनको सहयोगमा गोल गर्दै कप्तान ह्यारी केनले इङ्ग्ल्याण्डको अग्रता दोब्बर बनाए। जारी प्रतियोगितामा यो उनको पहिलो गोल हो।
केन अब वाइने रुनीले इङ्ग्ल्याण्डका लागि गरेको ५३ गोलको कीर्तिमानभन्दा एक गोल मात्र पछाडि छन्। उनीसँग कतारमा इतिहासको पुस्तकमा नयाँ पाना लेख्नको लागि अझै प्रसस्त मौका छ।
बुकायो साकाले ५७औँ मिनेटमा गोल गर्दै ३-० को जित सिल गरे। सो गोलमा पनि फोडेनले राम्रो क्रस दिएका थिए।
यता, गएराति नै भएको खेलमा फ्रान्सले पोल्याण्डलाई ३-१ ले हरायो। पोल्याण्डलाई पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको डिफेन्डिङ च्याम्पियन फ्रान्सका ओलिभर जिरुड देशका लागि सबैभन्दा धेरै गोल गर्ने पुरुष खेलाडी बने।
खेलको ४४औँ मिनेटमा जिरुडले फ्रान्सका लागि आफ्नो ५२औँ गोल गरे। उनले थियरी हेनरीको कीर्तिमानलाई उछिनेका हुन्।
दोस्रो हाफमा एम्बाप्पेले दुई शानदार गोल गरे। ७४औँ र इन्जुरी टाइममा उनले गोल गरेका थिए। खेलको लास्ट किकको रुपमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गरेका थिए।
क्वाटरफाइनलमा अब इङ्ग्ल्याण्ड र फ्रान्स आमनेसामने हुनेछन्।