PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शुक्रवारदेखि ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य सुरु हुने, १४ महिनामा सकाउने लक्ष्य



पहिलोपोस्ट

शुक्रवारदेखि ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य सुरु हुने, १४ महिनामा सकाउने लक्ष्य

काठमाडौं : ललितपुरको ग्वार्को चोकमा फ्लाईओभर निर्माण शुक्रबारदेखि सुरु हुने भएको छ। सडक विभागले ग्वार्को चोकमा फ्लाईओभर निर्माण कार्य सुरु हुने जानकारी दिएको हो। विभागका अनुसार १४ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

विभागले इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा सो आयोजना बनाउने गरि गत साउनमा टेन्डर आह्वान गरेको थियो। माघमा आरसी, समानान्तर र रेलिग्रे जेभी छनोट भएका थिए।

त्यस लगत्तै १७ करोड ६८ लाख लगानीमा निर्माण गर्ने गरि ठेक्का सम्झौता गरेर निर्माण कम्पनीहरूले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेका थिए। आयोजनाको डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृति भएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले निर्माण कार्य सम्पन्न नभएसम्म ट्राफिक व्यवस्थापन मिलाउन सूचना जारी समेत गरेको छ।

प्रहरी कार्यालयले कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा जाने व्यवस्था मिलाएको छ। यस्तै साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फाष्ट ट्रयाकबाट चलाइने छ।

यसैगरि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै जान दिइने प्रहरी कार्यालयले जनाएको छ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फाष्ट ट्रयाकबाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell