
नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको ११ औं संस्करणको मिति तय भएको छ। आयोजक संस्था नेफ्टाले वि सं २०८०, जेठ १३ गते (२७ मे, २०२३) मा अमेरिकाको टेक्ससमा अवार्ड कार्यक्रम आयोजना हुने जानकारी दिएको हो।
यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड कार्यक्रम गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशमा कार्यक्रम गर्न लागेको हो। नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड कार्यक्रम गर्न लागिएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए।
अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्म्स र युएस खबर लगायतका संस्थासँग सहकार्य गर्दैछ। नेपाल र अमेरिकाबिचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबिचको पुलको रुपमा स्थापना गर्ने, प्रवासी नेपालीहरुमा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।
अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने जानकारी अध्यक्ष लामाले दिए। चीन र भारतजस्ता विश्वका दुई ठूला फिल्म बजारको बीचमा रहेको नेपालले लाभ लिन नसकेको चर्चा गर्दै अध्यक्ष लामाले विश्वलाई नेपाली फिल्मसँग जोड्ने पुलको रुपमा नेफ्टा अवार्डले भूमिका खेल्ने चर्चा गरे।
कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । तर, महामारी सकिएपछि फिल्म क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो। यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन्। ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ।